+
+
Shares

‘रोड टु एभरेस्ट’ को ट्रेलर : सुमन्द्री सतहदेखि सर्वोच्च शिखरसम्मको झलक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सगरमाथाको साहस र जलवायु परिवर्तनको प्रभाव समेटिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को औपचारिक ट्रेलर सार्वजनिक गरिएको छ ।
  • नितान्त नेपाली प्राविधिकद्वारा निर्माण गरिएको यस वृत्तचित्रमा कुनै पनि कृत्रिम दृश्य प्रयोग नगरिएको निर्माण पक्षले जनाएको छ ।
  • यस वृत्तचित्रको नेपाल प्रिमियर भदौ ६ गते काठमाडौंमा र अन्तर्राष्ट्रिय प्रिमियर २८ भदौमा हङकङमा हुने भएको छ ।

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरले समुद्री सतहदेखि सर्वोच्च शिखरसम्मको असाधारण यात्रासँगै मानवीय साहस, संघर्ष र दृढ संकल्पको शक्तिशाली झलक प्रस्तुत गरेको छ ।

नितान्त नेपाली प्राविधिकको संलग्नतामा निर्माण गरिएको यस वृत्तचित्रमा कुनै पनि कृत्रिम वा कम्प्युटर सिर्जित दृश्य प्रयोग नगरिएको निर्माण पक्षले जनाएको छ । समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको वास्तविक यात्रालाई समेटिएको यो फिल्म वास्तविक दृश्यमा आधारित पहिलो वृत्तचित्र भएको निर्माण पक्षको दाबी छ ।

दुई वर्षको अनुसन्धान, छायांकन तथा निर्माण प्रक्रियापछि तयार भएको यस वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन् । भूषण दाहालको न्यारेसन रहेको वृत्तचित्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको छ ।

वृत्तचित्रमा ५० वर्ष नाघेका राज गुरुङको प्रेरणादायी यात्रा प्रस्तुत गरिएको छ, जसले उमेर, समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याउँछन् । उनको यात्रा केवल एउटा आरोहणको कथा नभई सपना, संघर्ष, आत्मविश्वास र असम्भवलाई सम्भव बनाउने मानवीय इच्छाशक्तिको कथा बन्न पुगेको निर्माण पक्षको भनाइ छ ।

निर्मलको निर्देशनमा तयार भएको वृत्तचित्रले सगरमाथाको भव्यता मात्र प्रस्तुत गर्दैन, आरोहणका जोखिम, शेर्पा समुदायको अथक योगदान, मानवीय साहस तथा जलवायु परिवर्तनका कारण तीव्र रूपमा बदलिँदै गएको हिमाली वातावरणलाई समेत गहिराइका साथ प्रस्तुत गरेको छ ।

वृत्तचित्रले सगरमाथालाई केवल एउटा हिमालका रूपमा नभई साहस, संघर्ष, अठोट र मानवीय क्षमताको प्रतीकका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ ।

‘रोड टु एभरेस्ट’मा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पा आरोहीका रूपमा देखिनेछन् । फुर्वाले हालसम्म सगरमाथाको १८ पटक सफल आरोहण गरेका छन् भने निमाले १० पटक सगरमाथा सफलतापूर्वक आरोहण गर्नुका साथै विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमालको सफल आरोहण गरिसकेका छन् ।

यात्रामा विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठ पनि सहयात्री पात्रका रूपमा देखिनेछन् ।

निर्माण पक्षका अनुसार यो डकुमेन्ट्रीको नेपाल प्रिमियर भदौ ६ मा काठमाडौं र अन्तर्राष्ट्रिय प्रिमियर २८ भदौ मा हङकङमा हुनेछ । त्यसपछि वृत्तचित्रलाई नेपालका विभिन्न स्थानसँगै अन्तर्राष्ट्रिय मञ्च, फिल्म फेस्टिभल तथा सिनेमा हलमा प्रदर्शन गर्ने तयारी भइरहेको छ ।

सामाजिक संस्था वि विल राइज फाउण्डेसनद्वारा निर्मित यस वृत्तचित्रको उद्देश्य दर्शकलाई प्रेरित गर्नुका साथै नेपालको पर्यटनलाई विश्वस्तरमा प्रवद्र्धन गर्नु र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे विश्वव्यापी ध्यानाकर्षण गराउनु पनि रहेको निर्माण पक्षले जनाएको छ । वृत्तचित्रको अवधि ५० मिनेटको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?