News Summary
Generated by OK AI. Editorially reviewed.- सोनाल तामाङ अभिनीत ‘माया बस्छ कि के हो’ कोभिडपछि पाँच वर्ष ढिलाइ भएर २ असोजमा देशव्यापी प्रदर्शन हुँदैछ।
- फिल्म जेनजी पुस्ताको प्रेमकथामा आधारित छ र यसमा विदेश जाने युवाको संघर्ष, पारिवारिक दबाब र संवेदना समेटिएको छ।
- सोनालले फिल्मलाई आफ्नो अभिनय करिअरको सुरुवाती बिन्दु भन्दै नेपालपछि विदेशमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको बताए।
काठमाडौं । फिल्म बनेर तयार भयो । रिलिज नहुँदै कोभिड महामारीले देश ठप्प बन्यो । त्यतिञ्जेलसम्म टिम छिन्नभिन्न भैसकेको थियो । धेरै लामो ग्यापमा रिलिज गर्दा पनि बदलिएको मेकिङ स्टाइलसँग कसरी अभ्यस्त हुने भन्ने चुनौति ।
तर, सोनाल तामाङ यी चुनौतीबाट पछि हटेनन् । उनका लागि यो ‘माया बस्छ कि के हो’ केवल फिल्म मात्र थिएन, योसँग उनको करिअरको ढुकढुकी अड्किएको थियो । उनले अठोट लिए- कोभिडले सिर्जना गरेको अवरोधलाई छिचोल्दै अब जसरी भएपनि फिल्म दर्शकमाझ लैजाने ।
अन्ततः उनको अठोटको जित भयो । अब यो फिल्म २ असोजमा देशब्यापी प्रदर्शनमा आउँदैछ । फिल्ममा शीर्ष भूमिका निर्वाह गरेका सोनालका लागि यसको प्रदर्शन सामान्य रिलिजभन्दा बढी अर्थ राख्छ ।
‘भाग्य भनौं, यहाँसम्म आइपुगियो,’ उनी भन्छन्, ‘अहिलेको लागि मेरो सपना पूरा भएको हो । यो मेरो लागि ठूलो जीत हो ।’ यो ‘जीत’को अर्थ बुझ्न सोनालको फिल्मप्रतिको आकर्षण सुरु भएको समयसम्म पुग्नुपर्छ ।
चितवनमा जन्मिएका सोनालले सानैदेखि दार्जिलिङको कर्साङमा होस्टेल बसेर पढे । बेलाबेला नेपाल आउँथे । त्यही क्रममा एकपटक काठमाडौंमा जताततै एउटा नेपाली फिल्मको पोस्टर देखे, ‘होस्टेल’ ।
अनमोल केसी अभिनीत उक्त फिल्मको पोस्टरले उनको ध्यान खिच्यो । नेपाली फिल्ममा नयाँ पुस्ताका कलाकार आइरहेको अनुभव उनलाई भयो । त्यसपछि उनी पहिलोपटक नेपाली फिल्म हेर्न हल पुगे ।
फिल्म सकिँदासम्म उनको मनमा अर्को विचार आइसकेको थियो ।
‘नेपाल आएपछि मैले “होस्टेल” मूभीको पोस्टर जतासुकै देखेको थिएँ,’ सोनाल सम्झन्छन्, ‘नेपाली फिल्ममा गुड लुकिङ एक्टर आउँदै हुनुहुँदो रहेछ भन्ने लागेर पहिलोपटक नेपाली फिल्म “होस्टेल” हलमा गएर हेरेको थिएँ । त्यसको इन्डिङ टाइममा मैले पनि ट्राइ गर्छु भन्ने लाग्यो ।’
त्यो सोच तत्कालै फिल्ममा बदलिएको थिएन । समय लाग्यो । पछि निर्देशक राजु अधिकारीसँग भेट भयो । फिल्म गर्नेबारे कुराकानी अघि बढ्यो र अन्ततः ‘माया बस्छ कि के हो’सम्म यात्रा आइपुग्यो । फिल्मको पटकथा मौनता श्रेष्ठले लेखेका हुन् ।

सोनालका अनुसार फिल्म जेनजी पुस्ताको प्रेमकथामा आधारित छ । तर प्रेम यसको एउटा पाटो मात्रै हो । अध्ययनका लागि घर छाडेर विदेश जाने मध्यमवर्गीय परिवारका युवाले त्यहाँ सामना गर्ने संघर्ष, प्रेममा पर्दा आउने कठिनाइ, पारिवारिक दबाब र संवेदनालाई कथाले समेट्ने प्रयास गरेको उनी बताउँछन् ।
‘यसलाई जेनजी लभस्टोरी पनि भन्न सकिन्छ,’ उनी भन्छन्, ‘यसमा जेनजीको कथा मात्र छैन । परिवार, संवेदना सबै चीज समेटिएको छ ।’
सुरुमा फिल्म नेपालमै छायांकन गर्ने तयारी थियो । पछि दृश्यमा बढी मेहनत गर्ने सोचसहित टोली युरोप पुग्यो । बेल्जियम, स्विटजरल्यान्ड र नेदरल्यान्ड्सलगायत मुलुकमा फिल्म खिचियो । नेपालका दृश्य पनि फिल्ममा समेटिएको सोनाल बताउँछन् ।
फिल्म तयार हुँदै गर्दा संसार नै कोभिड महामारीको चपेटामा पर्यो । त्यसको प्रत्यक्ष असर ‘माया बस्छ कि के हो’मा पनि पर्यो । प्रदर्शन रोकियो । महामारी सकिएपछि फिल्मलाई निरन्तरता दिन खोज्दा पुरानो टिम पहिलेकै अवस्थामा थिएन ।
‘कोभिड सकिएपछि पनि फिल्मलाई निरन्तरता दिने सोच्दा टिम नै छिन्नभिन्न भइसकेको थियो,’ उनी भन्छन्, ‘यसकारण ढिलाइ भयो ।’
ढिलाइको अर्को चुनौती पनि थियो । जुन समयका लागि फिल्म बनाइएको थियो, त्यसयता नेपाली फिल्मको शैली फेरिइसकेको थियो । दर्शकको हेर्ने तरिका र प्रस्तुतिको गति बदलिएको थियो । सोनाल स्वयंलाई पनि पुरानो समयमा खिचिएको फिल्म अहिले प्रदर्शन गर्दा ‘टाइमिङ’ नमिल्ने हो कि भन्ने लाग्थ्यो ।
उनी त्यो कुरालाई लुकाउँदैनन् ।
‘अहिलेको समयमा फिल्म रिलिज गर्दा टाइमिङ मिल्दैन कि भन्ने महसुस मैले गरिरहेको हुन्थेँ,’ उनी भन्छन्, ‘अहिलेको टाइमसँग खिचाइ म्याच नहुन सक्छ, तर हेर्नै नसक्ने टाइपको चाहिँ होइन ।’
त्यसैले फिल्मलाई अहिलेको दर्शकसँग सकेसम्म जोड्न ‘पोलिस’ गर्ने प्रयास गरिएको उनको भनाइ छ । आधुनिक प्रस्तुतिसँग कसरी मिलाउन सकिन्छ र सन् २०२६ को पुस्ताले कसरी हेर्न सक्छ भन्ने कुरामा ध्यान दिएको उनी बताउँछन् ।
तर सोनालको ध्यान फिल्मलाई बदल्नुभन्दा पहिले त्यसलाई दर्शकमाझ पुर्याउनमै बढी केन्द्रित रह्यो । कारण, उनका लागि ‘माया बस्छ कि के हो’ एउटा फिल्म मात्रै होइन, अभिनय करिअरको सुरुवाती बिन्दु हो ।
बीचका पाँच वर्षमा उनले म्युजिक भिडियो गरे । अभिनेत्री मलिका महतसँग पनि स्क्रिन सेयर गरे । ‘घाम छायाँ’को फिमेल भर्सनको म्युजिक भिडियोमा उनीहरू सँगै देखिए, जसलाई त्रिशला गुरुङले गाएकी थिइन् । मलिकासँगको कामले आफूलाई सहयोग पुगेको सोनाल बताउँछन् ।

तर म्युजिक भिडियोमा काम गर्नुलाई उनले फिल्म उद्योगमा आफ्नो औपचारिक प्रवेश मानेनन् ।
‘आजको दिनमा रिलिज भएको दिन इन्डष्ट्रिमा कदम राखेँ भन्नका लागि पनि मेरो चलचित्र मैले अगाडि ल्याउनुपर्छ,’ उनी भन्छन्, ‘अघि बढ्न मेरो “स्टेपिङ स्टोन” यही नै हो भनेर कस्सिएको हुँ ।’
त्यसैले ढिलाइले उनलाई फिल्मबाट अलग गरेन । बरु फिल्म प्रदर्शनसम्म ल्याउनुपर्ने अडान बलियो बनायो ।
‘मैले यो चलचित्रलाई फोकस गरेर यहाँसम्म ल्याएको हुँ,’ उनी भन्छन्, ‘अहिलेको टाइममा रिलिज हुनु नै ठूलो भन्छु म चाहिँ ।’
यसमा उनको नेपाली फिल्मप्रतिको लगाव पनि जोडिएको छ । आफूलाई उद्योगबाट टाढा रहन मन नलागेको उनी बताउँछन् । ‘मैले नै माया नगर्ने भए, यो फिल्म यहाँसम्म आउने थिएन,’ उनी भन्छन् ।
अहिले चितवनमा बस्ने सोनाल फिल्मको प्रवद्र्धनका लागि काठमाडौं आएका छन् । पहिलो फिल्म प्रदर्शनको संघारमा रहँदा उनी आफ्नो आगामी बाटोबारे पनि स्पष्ट हुन खोजिरहेका छन् ।
तत्कालका लागि उनको रुचि प्रेमकथामै छ । एक्सनमा एकैपटक प्रवेश गर्नुभन्दा त्यसका लागि सिक्नुपर्ने उनको बुझाइ छ ।
‘अब मलाई लभस्टोरी फिल्ममै केन्द्रित हुन मन छ,’ उनी भन्छन्, ‘एक्सनमा एकैपटक जम्प गर्दा सिक्नुपर्ने हुन्छ । इन्डष्ट्रिमा आउँदैछु ।’
तर त्यो बाटो कस्तो हुनेछ भन्ने निष्कर्ष उनले अहिले नै निकालिसकेका छैनन् । पहिलो फिल्मको नतिजा र त्यसपछि आउने प्रतिक्रियालाई उनी सुन्न चाहन्छन् । प्रशंसा मात्र होइन, आलोचनालाई पनि आगामी यात्राको एउटा आधार बनाउने उनको भनाइ छ ।
‘सुरुमा म यसको नतिजा हेर्छु,’ सोनाल भन्छन्, ‘लभ र हेटको कमेन्ट आउँछ, त्यसलाई मनमा राखेर अघि बढ्छु ।’
‘यहाँसम्म आइपुग्दा म ब्याक हुने सिचुएसन आउँदैन,’ उनी भन्छन् ।
‘माया बस्छ कि के हो’लाई नेपालपछि विदेशमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको सोनाल बताउँछन् । तर अहिले उनको अगाडिको पहिलो खुड्किलो असोज २ नै हो ।
किनकि पाँच वर्षदेखि म्युजिक भिडियोमा देखिइरहेका सोनालले आफ्नो अभिनय यात्राको गणना त्यहाँबाट गरेका छैनन् । उनका लागि त्यो गणना फिल्म हलमा लागेपछि मात्रै सुरु हुनेछ ।
‘यो फिल्मबाट एक्टिङ करिअर अघि बढाउँदैछु,’ उनी भन्छन्, ‘माया गरिदिनुहोला ।’
प्रतिक्रिया 4