News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली छोटो फिल्म ‘चुम्पा : अ डल अन्डर द बास्केट’ बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ‘एसियन सर्ट कम्पिटिसन’ अन्तर्गत ‘वाइड एङ्गल सेक्सन’ मा विश्व प्रिमियर हुने भएको छ ।
- राजेशप्रसाद खत्री निर्देशित फिल्मले दुर्गम नेपालमा बालविवाह, किशोरीको शिक्षा र स्वतन्त्रतामाथि पर्ने प्रभावलाई कथाको केन्द्रमा राखेको छ ।
- १४ वर्षीया मुना पात्रले विवाहको दिन शिक्षिकासँग सहयोग मागे पनि गाउँलेले उनलाई फर्काएर विवाह प्रक्रियामा लगेको कथा फिल्ममा देखाइएको छ ।
काठमाडौं । नेपाली छोटो फिल्म ‘चुम्पा : अ डल अन्डर द बास्केट’ बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा विश्व प्रिमियर हुने भएको छ । फेस्टिभलको ‘एसियन सर्ट कम्पिटिसन’ अन्तर्गतको ‘वाइड एङ्गल सेक्सन’ मा फिल्म छनोट भएको छ ।
राजेशप्रसाद खत्रीको लेखन, निर्देशन रहेको फिल्मले नेपालको दुर्गममा अझै कायम रहेको बालविवाह र त्यसले किशोरीको शिक्षा तथा स्वतन्त्रतामाथि पार्ने प्रभावलाई कथाको केन्द्रमा राखेको छ ।
फिल्मकी मुख्य पात्र १४ वर्षिया मुना हुन् जो ८ कक्षामा पढ्छिन् । उनी पढाइ पूरा गरेर स्वतन्त्र जीवन जिउने सपना देख्छिन् । तर परिवार र समुदायको परम्परागत सोचका कारण उनलाई जबर्जस्ती विवाहका लागि तयार पारिन्छ ।
विवाहकै दिन उनी आफ्नो शिक्षा जोगाउन शिक्षिकाको घरमा पुगेर सहयोग माग्छिन् । तर गाउँलेले उनलाई त्यहाँबाट निकालेर पुनः विवाहको प्रक्रियामा फर्काउँछन् ।
फिल्मले बालविवाहसँगै ग्रामीण नेपाली समाजमा महिलामाथि हुने सामाजिक दबाब, शिक्षाको पहुँच र परम्पराका नाममा हुने लैङ्गिक विभेदलाई संवेदनशील तथा प्रतीकात्मक शैलीमा प्रस्तुत गरेको छ ।
शीर्ष पात्र मुनाको भूमिकामा कविता बुढाले अभिनय गरेकी छन् । विनिता थापामगर र मीरा खड्का शिक्षिकाको भूमिकामा छन् । दिपेश मल्लले बेहुलाको भूमिका निर्वाह गरेका छन् ।
२० मिनेट लम्बाइको यो फिल्म खस भाषामा बनेको छ ।
लेखक तथा निर्देशक खत्रीको पहिलो छोटो फिल्म ‘अ क्युरियस गर्ल ’ले सन् २०१८ मा ‘बर्लिनाले इन्टरनेसनल फिल्म फेस्टिभल’ को ‘जेनेरेसन के-प्लस’ विधामा ‘बेस्ट फिल्म’ अवार्ड जितेको थियो ।
उनको दोस्रो फिल्म ‘अ स्कोर क्रो’ पनि बुसानमा प्रिमियर भएको थियो । यो फिल्म पिक्चर फ्रेम र फ्लिकर आट्र्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । निर्माता केदार भुसाल, क्रिएटिभ प्रोड्युसर दिनेश राउत तथा कार्यकारी निर्माता एवं प्रोडक्सन डिजाइनर रामलाल खड्का हुन् ।
प्रतिक्रिया 4