News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।
- भदौमा ९१ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन गत आवको भदौको ७३ अर्ब ६१ करोडभन्दा बढी हो ।
- भदौसम्म कुल लक्ष्यको ८५.९३ प्रतिशत राजस्व संकलन भएको छ, तर २ खर्ब १४ अर्ब ८१ करोडको लक्ष्यभन्दा भने कम छ ।
१ असोज, काठमाडौं । १० असोजको विनासकारी बाढी र त्यसले उत्तरी नाकामा पुर्याएको अवरोधका बावजुद गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ ।
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन–भदौ)मा कुल १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । जुन अघिल्लो आव २०८२/८३ को तुलनामा बढी हो । सो आवको भदौसम्म १ खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ राजस्व उठेको थियो । यस वर्ष भदौमा गत आवको भदाैभन्दा धेरै राजस्व संकलन भएको छ ।
भदौमा ९१ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको भदौमा ७३ अर्ब ६१ करोड राजस्व उठेको थियो । गत वर्ष भदौ अन्तिम साता जेनजी आन्दोलनका कारण राजस्व संकलन केही प्रभावित बनेको थियो । यस वर्ष भदौसम्म लक्ष्यको ८५.९३ प्रतिशत राजस्व संकलन भएको छ ।
अर्थ मन्त्रालयको तथ्यांक अनुसार भदौसम्मको कुल लक्ष्य २ खर्ब १४ अर्ब ८१ करोड हो । लक्ष्यभन्दा भने कम राजस्व संकलन भएको तथ्यांक छ । भदौ महिनामा मात्र ९६ अर्ब ८८ करोडको लक्ष्य रहेकोमा संकलन ९१ अर्ब ३८ करोड अर्थात् ९४.३३ प्रतिशत बराबर भएको छ ।
भदौ ३१ गते मत्र ५ अर्ब ५८ करोड राजस्व उठेको छ । गत आवको भदौसम्म २ खर्ब १८ अर्बको लक्ष्य राखिएकोमा १ खर्ब ५८ अर्ब रुपैयाँ मात्र उठेको थियो । यस वर्ष सरकारले कुल १५ खर्ब ८० अर्ब ३२ करोड राजस्व संकलनको लक्ष्य राखेको छ । सरकारको लक्ष्यलाई रसुवा–भोटेकोशी बाढीले असर भने गर्नेछ ।
प्रतिक्रिया 4