१ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको अमृत क्याम्पस (अस्कल) को स्वतन्त्र विद्यार्थी युनियनले बाढीपहिरोबाट अति प्रभावित विद्यार्थीहरूलाई प्लस टुसम्म निःशुल्क पढाउने घोषणा गरेको छ।
क्याम्पसको ७०औँ वार्षिकोत्सव तथा राष्ट्रिय विज्ञान दिवस, २०८३ को अवसर पारेर स्ववियुले विपद् प्रभावित क्षेत्रका विद्यार्थीका लागि राहतस्वरूप निःशुल्क छात्रवृत्तिको घोषणा गरेको हो।
स्ववियु अध्यक्ष रुद्रहरि पोखरेलका अनुसार, हालैको बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो।
छात्रवृत्ति प्राप्त गर्न चाहने वास्तविक विपन्न तथा इच्छुक विद्यार्थीहरूलाई यथाशीघ्र क्याम्पसस्थित स्ववियु कार्यालयमा सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन आह्वान गरिएको छ।
सात दशकदेखि विज्ञान–प्रविधिको प्रवर्द्धन र दक्ष जनशक्ति निर्माणमा अमृत क्याम्पसले पुर्याएको ऐतिहासिक योगदानको स्मरण गर्दै स्ववियुले सम्पूर्ण विद्यार्थी तथा क्याम्पस परिवारमा शुभकामनासमेत व्यक्त गरेको छ।
आज अमृत साइन्स क्याम्पसको ७०औँ स्थापना दिवस एवं राष्ट्रिय विज्ञान दिवस हो ।
प्रतिक्रिया 4