१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले सांसदहरूको भूमिका केवल आफ्नो निर्वाचन क्षेत्रका लागि बजेट माग्नेमा मात्र सीमित हुन नहुने बताएका छन् ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सांसदहरूले राष्ट्रिय ढुकुटी भर्ने नीति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन् ।
सांसद लामिछानेले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि बजेट माग्नु स्वभाविक भएपनि राष्ट्रिय अर्थतन्त्रको अवस्थाबारे गम्भीर हुन आवश्यक रहेको औल्याए ।
भकारी रित्तो राखेर निरन्तर अन्न मागिरहे एक दिन भकारी नै रितिर्ने भन्दै नीति निर्माण तहमा बस्नेहरूको जिम्मेवारी ढुकुटी जोगाउने र भर्ने हुनुपर्ने उनको भनाइ छ ।
‘हामी केवल राज्यको ढुकुटीबाट माग्ने प्रतिनिधि मात्र होइनौं, त्यो ढुकुटी भर्ने नीति बनाउने जिम्मेवार प्रतिनिधि पनि हौं,’ उनले भने ।
आगामी हिउँदे अधिवेशनलाई केवल विधेयक पारित गर्ने प्रक्रियामा मात्र सिमित नराख्न उनले आग्रह गरे । उनका अनुसार आगामी संसद अधिवेशन उत्पादन वृद्धि, रोजगारी सिर्जना, लगानी आकर्षण र निर्यात प्रवर्द्धन गर्ने ठोस नीति तर्जुमा गर्ने केन्द्र बन्नुपर्छ ।
एउटा योजना माग्दा निर्वाचन क्षेत्रका केही मानिस खुशी भएपनि अर्थतन्त्र बलियो बनाउने नीतिले सिङ्गो देश र भावी पुस्ता लाभान्वित हुने उनको तर्क छ ।
प्रतिक्रिया 4