१७ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजना बाँधको निरीक्षण गरेका छन् ।
पछिल्लो ८ गतेदेखि १२ असोजको भारी वर्षाले खतराको सतह पार गरेको बाँधको वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ शनिबार कुलेखानी ड्याम पुगेका हुन् ।
मन्त्री श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ गराए ।
मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित रहेको र अवस्था सामान्य रहेको बताए ।
भारी वर्षाको बेला बाँधमा उच्च निगरानी राखिएको र सबै रणनीति अपनाइएको बताए ।
सतह म्यानेज गर्ने, २४ सै घण्टा निगरानीमा राख्ने, तल्लो तटमा पनि सूचना प्रवाह गरेर अलर्ट राख्ने गरिएको थियो । तर, अहिले म्यानेज भएको छ । ड्याम स्टेबल छ ।
केही दिनअघिको अविरल वर्षाका कारण देशका विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा कुलेखानी बाँधमा पनि पानीको सतह सतर्कता तहमा पुगेको थियो र सम्भावित जोखिमको चिन्ता बढाएको थियो । साथै यसले विद्युत् आपूर्ति व्यवस्थापनमा समेत केही दबाब सिर्जना गरेको थियो। नेपालको विद्युत् प्रणालीको ‘ब्याकअप’का रूपमा रहेको कुलेखानी जलविद्युत् केन्द्रमा पनि यसको प्रभाव परेको थियो ।
कुलेखानी जलाशय तथा विद्युत् केन्द्रको स्थलगत अध्ययन गरेपछि उर्जामन्त्री श्रेष्ठले बाँधको वर्तमान अवस्था र जलाशयमा रहेको पानीको सतह हेर्दा आगामी सुख्खा मौसममा विद्युत् आपूर्ति व्यवस्थापनमा थप सहजता हुने विश्वास बढेको बताए । ऊर्जा सुरक्षालाई बलियो बनाउँदै भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकार निरन्तर सक्रिय रहेको पनि बताए ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायु श्रेष्ठले कुलेखानी विद्युत प्रणालीको मेरूदण्ड भएको बताए । उनका अनुसार सिस्टमलाई पिकिङको लागि पनि महत्त्वपूर्ण भूमिका खेल्छ । सिस्टम अपरेटको पोइन्ट अफ भ्युबाट ठूलो योगदान रहिआएको छ । एमडी श्रेष्ठले बाँधको अवस्था सामान्य रहेको जानकारी गराए ।
प्रतिक्रिया 4