+
+
Shares

सिरहाको चोहर्वा सर्पदंश उपचार केन्द्रमा आईसीयू र भेन्टिलेटर सेवा विस्तार गरिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते २०:०३

१७ असोज, सिरहा । सर्पदंशबाट हुने जनधनको क्षति न्यूनीकरण गर्दै गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै प्रभावकारी उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सिरहाका सामुदायिक सर्पदंश उपचार केन्द्रको स्तरोन्नति गर्ने पहल अघि बढाइएको छ ।

नेपाली सेनाको श्री नन्दबक्स गणको सहजीकरणमा चोहर्वा र बन्दीपुरस्थित सामुदायिक सर्पदंश उपचार केन्द्रको व्यवस्थापन, स्तरोन्नति तथा प्रभावकारी सञ्चालनका विषयमा स्थानीय तहका प्रमुख, निमित्त प्रमुख जिल्ला अधिकारी तथा पालिका प्रतिनिधिहरूबीच अन्तरक्रियात्मक कार्यक्रम गरिएको हो ।

अन्तरक्रियामा सर्पदंशका बिरामीलाई समयमै उपचार केन्द्रसम्म पुर्‍याउने व्यवस्था, आवश्यक जनशक्ति, औषधि तथा उपकरणको उपलब्धता, व्यवस्थापन समिति विस्तार तथा उपचार केन्द्रलाई नियमित र व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।

विशेषगरी गम्भीर अवस्थाका सर्पदंशका बिरामीलाई उपचारका लागि जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता अन्त्य गर्न चोहर्वा सर्पदंश उपचार केन्द्रमा आईसीयू र भेन्टिलेटरको सुविधा विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधिहरूले उपचार केन्द्रको स्तरोन्नतिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय तह, नेपाली सेना र उपचार केन्द्र व्यवस्थापन समितिबीच थप प्रभावकारी समन्वय र सहकार्य गर्दै केन्द्रको सेवा विस्तार गर्ने विषयमा समेत जोड दिइएको थियो ।

नेपाली सेनाका अनुसार स्थापना भएदेखि चोहर्वा र बन्दीपुरका दुवै सामुदायिक सर्पदंश उपचार केन्द्रबाट २४ घण्टा सेवा प्रदान हुँदै आएको छ ।

हालसम्म यी दुई केन्द्रबाट करिब १२ हजार सर्पदंश प्रभावितले उपचार सेवा लिइसकेका छन् । चोहर्वा सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष विजय महासेठका अनुसार केन्द्रमा आईसीयू तथा भेन्टिलेटरको सुविधा नहुँदा गम्भीर अवस्थाका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ ।

‘गम्भीर बिरामीलाई अन्यत्र लैजाँदा उपचारमा ढिलाइ हुने र बाटोमै ज्यान जाने जोखिम हुन्छ,’ महाशेठले भने, ‘त्यसमाथि आर्थिक रूपमा विपन्न परिवारले महँगो उपचार खर्चसमेत व्यहोर्नुपर्ने अवस्था छ ।’

सर्पदंशका बिरामीलाई जिल्लामै आवश्यक उपचार उपलब्ध गराउन सबै स्थानीय तहले समान रूपमा जिम्मेवारी लिएर उपचार केन्द्रको स्तरोन्नतिमा सहयोग गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?