१८ असजो , कञ्चनपुर । लगातारको वर्षाले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुरका राजेन्द्रबहादुर बिष्टको केराखेतीमा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
नेपाली सेनाका सुबेदार पदबाट २०८१ सालमा अवकाश पाएपछि बिष्ट व्यावसायिक केराखेतीमा लागेका थिए । उनले १२ कट्ठा जमिनमा १ हजार ४० केराका बोट लगाएका थिए ।
असोज ९, १० र १९ गते परेको वर्षाले केराका अधिकांश बोट ढलेर नष्ट भएका छन् । दशैं–तिहारलाई लक्षित गरेर बिक्रीका लागि तयार हुँदै गरेको केरा नष्ट भएपछि ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बिष्टले बताए ।
बिष्टका अनुसार, केराखेती सुरु गर्दा उनले करिब ३ लाख रुपैयाँ लगानी गरेका थिए । पहिलो पटकको लगानीबाट लागत उठाएपछि उनले दोस्रो पटकको २ लाख लगानी गरेका थिए । ‘पहिलो पटकको लगानी त उठिसकेको थियो । त्यसपछि फेरि करिब २ लाख रुपैयाँ लगानी गरेर खेती गरेको थिएँ’, उनले थपे, ‘अबको १२–१५ दिनसम्म केही नभएको भए दशैंका लागि ठीक्क हुने केरा थियो । दशैंको लागि तयार हुनुअघि नै बोट ढलेपछि साह्रै चिन्ता लागेको छ, यसपटक करिब ५ लाख रुपैयाँ बराबरको केरा नष्ट भयो ।’
केरा बिक्री हुने मुख्य समयमै बोट ढलेपछि लगानीसँगै आम्दानीको अपेक्षासमेत गुमेको बिष्टले बताए ।
खेतीमा क्षति भएपछि बीमा गरेको भए केही राहत हुने भए पनि आफूलाई समयमै त्यसबारे जानकारी नभएको उनले बताए । बोट रोपिसकेपछि बीमा गर्न खोज्दा सम्भव नभएको उनको भनाइ छ । ‘इन्स्योरेन्स गर्नुपर्छ भन्ने जानकारी नै भएन । बोट रोप्नुभन्दा पहिले नै बीमा गर्नुपर्ने रहेछ,’ बिष्टले भने, ‘मैले बोट लगाइसकेपछि इन्स्योरेन्स गर्न खोज्दा भएन ।’
वर्षाबाट भएको क्षतिको स्थानीय तह तथा सम्बन्धित निकायले स्थलगत अनुगमन गरी मूल्यांकन गर्नुपर्ने बिष्टको माग छ । उनले किसानलाई राहत तथा आगामी खेतीका लागि आवश्यक सहयोग उपलब्ध गराउनसमेत आग्रह गरेका छन् ।
–केशव भट्टबाट
प्रतिक्रिया 4