एउटा गधा साँघुरो पहाडी बाटोमा बिस्तारै अघि बढिरहेको छ । ढुंगामाथि आफ्नो तौल राख्नुअघि उसले हरेक पाइला जाँचिरहेको छ । एउटा आमा हात्ती आफ्नो बच्चा र खतराबीच आफूलाई उभ्याउँछे । आफूलाई कुनै बेला धम्क्याउने मानिसको अनुहार एउटा कागले सम्झन्छ र आफ्नो समूहलाई सावधान गराउँछ । जनावरसँग बसेका वा काम गरेका जोकोहीले यस्ता दृश्य देखेका छन् र मनमनै सोचेका छन्– उनीहरूभित्र आखिर के चलिरहेको होला ?
बीसौँ शताब्दीको धेरै समयसम्म विज्ञानले यस्तो प्रश्न नगर्न भन्यो । जनावरलाई उत्तेजना र प्रतिक्रियाबाट चल्ने यन्त्रजस्तै ठानिन्थ्यो । उनीहरूमा भावना हुन्छ भन्नुलाई अनावश्यक तर्कका रूपमा लिइन्थ्यो । तर त्यो दृष्टिकोण बदलिएको छ।
स्नायु विज्ञान, पशु व्यवहार र पशु कल्याण विज्ञानमा भएका प्रगतिले अनुसन्धानकर्ताहरूलाई अब जनावरले अनुभव गर्छन् कि गर्दैनन् भन्ने प्रश्नमा मात्र सीमित राखेको छैन । उनीहरूले विभिन्न प्रजातिले ती अनुभवलाई कसरी फरक ढंगले महसुस गर्छन् र हामीले उनीहरूसँग गर्ने व्यवहारमा के त्यसले अर्थ राख्छ भन्ने पनि खोजिरहेका छन् ।
सेन्टिएन्स अर्थात् अनुभूति गर्ने क्षमता
सेन्टिएन्स भनेको भावना महसुस गर्न सक्ने क्षमता हो । यसमा पीडा, डर र निराशाजस्ता नकारात्मक अनुभूति मात्र होइन, आराम, जिज्ञासा र आनन्दजस्ता सकारात्मक अनुभूति पनि पर्छन् ।
यो प्रतिक्रियाजस्तै होइन । तातो भाँडो छोएपछि तपाईंको हातले दुखाइ महसुस गर्नुअघि नै झट्का खान सक्छ । त्यो स्वचालित प्रतिक्रिया हो। त्यसपछि महसुस हुने दुखाइ भने अनुभूति हो । सेन्टिएन्स त्यही महसुससँग सम्बन्धित छ । पीडालाई नैतिक रूपमा महत्त्वपूर्ण बनाउने कुरा पनि त्यही अनुभूति हो– किनकि त्यसले दुखाउँछ ।
दार्शनिक थोमस नागेलले सन् १९७४ मा एउटा महत्त्वपूर्ण प्रश्न उठाएका थिए– ‘चमेरो हुनु कस्तो हुन्छ ?’ प्रश्न अब चमेरोमा चेतना छ कि छैन भन्ने होइन । प्रश्न यो हो– गाई हुनु, कुखुरा हुनु, माछा हुनु वा अक्टोपस हुनु कस्तो हुन्छ ?
वैज्ञानिक धारणा बदलिएको छ
सन् २०१२ मा केही प्रमुख स्नायु वैज्ञानिकहरूले क्याम्ब्रिज डिक्लेरेसन अन कन्ससनेसमा हस्ताक्षर गरे । घोषणाले चेतना उत्पन्न गर्ने मस्तिष्क संरचना मानिसमा मात्र अद्वितीय नभएको बतायो र स्तनधारी जनावर, चराचुरुङ्गी तथा अक्टोपसलाई उदाहरणका रूपमा प्रस्तुत गर्यो ।
सन् २०२४ मा आएको न्युयोर्क डिक्लेरेसन अन एनिमल कन्ससनेसले यसलाई अझ अगाडि बढायो । यसले स्तनधारी जनावर र चराचुरुङ्गीमा सचेत अनुभव हुने कुराको बलियो वैज्ञानिक आधार रहेको बतायो । साथै माछासहित अन्य सबै मेरुदण्ड भएका जनावर र अक्टोपस, गँगटा तथा कीराहरूजस्ता धेरै मेरुदण्डविहीन जीवमा पनि यस्तो चेतन अनुभव हुन सक्ने ‘वास्तविक सम्भावना’ रहेको उल्लेख गर्यो ।
यस्तो सम्भावनालाई बेवास्ता गरेर उनीहरूलाई असर गर्ने निर्णय गर्नु गैरजिम्मेवार हुने घोषणामा हस्ताक्षर गर्ने वैज्ञानिकहरूले बताएका छन् ।
यस्ता दाबीलाई वैज्ञानिक रूपमा जाँच्न लन्डन स्कुल अफ इकोनोमिक्सका जोनाथन बर्चको नेतृत्वमा अनुसन्धानकर्ताहरूले आठवटा मापदण्ड तय गरेका छन् । तीमध्ये जनावरमा पीडा ग्रहण गर्ने स्नायु रिसेप्टरहरू मस्तिष्कका विभिन्न क्षेत्रसँग जोडिएका छन् कि छैनन् भन्ने प्रश्नदेखि घाइते जनावरले पीडा कम गर्ने उपाय खोज्न आफ्नो बाटो बदल्छ कि बदल्दैन भन्नेसम्मका कुरा छन् ।
अक्टोपसले आठमध्ये सातवटा मापदण्ड उच्च विश्वसनीयताका साथ पूरा गरेको देखियो । ट्रु क्र्याब अर्थात् केही प्रजातिका गँगटा पनि त्यसभन्दा धेरै पछाडि थिएनन् ।
प्रजातिअनुसार देखिएको प्रमाण
एउटा अध्ययनमा अक्टोपसले पीडादायी उत्तेजना अनुभव गरेका ठाउँबाट टाढा रहने, घाइते भएको ठाउँको हेरचाह गर्ने र पीडा कम गर्ने औषधि दिइएको ठाउँमा समय बिताउन रोज्ने गरेको पाइयो ।
हर्मिट क्र्याबलाई हल्का विद्युतीय झट्का दिँदा उसले कमजोर खोल छाड्ने गर्छ । तर राम्रो खोलका लागि भने उसले त्यही झट्का सहने गरेको पाइयो । यो केवल स्वचालित प्रतिक्रिया होइन, एउटा छनोट हो ।
घाइते रेनबो ट्राउटले प्रभावित भागलाई घिसार्ने र ढुंगा वा अन्य सतहमा रगड्ने गर्छ । उनीहरूलाई मोर्फिन दिइएपछि यस्तो व्यवहार कम हुन्छ । त्यस्तै, खुट्टामा समस्या भएका ब्रोइलर कुखुरालाई रोजाइ दिँदा उनीहरूले पीडा कम गर्ने औषधि मिसाइएको दाना खाने गरेको पाइयो ।
पीडा अनुहारमा पनि देखिन्छ
पशु चिकित्सकहरूले अहिले मुसा, खरायो, भेडा, सुँगुरका बच्चा, घोडा, बिरालो र गधालगायतका जनावरमा ग्रिमेस स्केल प्रयोग गर्छन् । आँखाको वरिपरिको कसिलोपन, कानको स्थिति र मुख वरिपरिको तनावजस्ता संकेतलाई यसमा हेरिन्छ ।
शरीरको मुद्रा र व्यवहारसँगै प्रयोग गर्दा मानिसलाई आफ्नो पीडा बताउन नसक्ने जनावरमा पनि पीडा पहिचान गर्ने एउटा व्यवस्थित उपाय यसले दिन्छ ।
कुरा पीडामा मात्र सीमित छैन
सेन्टिएन्स भन्नाले दुःख मात्र महसुस गर्नु होइन । सकारात्मक अनुभव गर्न सक्ने क्षमता पनि त्यसैको हिस्सा हो । भमराहरू कुनै प्रतिफल नपाउने अवस्थामा पनि साना बलहरू गुडाइरहेको देखिएका छन् । वैज्ञानिक मापदण्डअनुसार यो खेलसँग मिल्दोजुल्दो व्यवहार हो । काग हिउँ परेको छानामा चिप्लिएर तल झर्छन् । बाच्चा तथा पाठाहरू रमाउर दौडिन्छन् र उफ्रिन्छन् ।
दूध दिने गाईलाई कुनै काम पूरा गरेपछि स्यावासी दिइयो भने उनीहरूमा उत्साहको प्रतिक्रिया देखिन्छ । अनुसन्धानकर्ताहरूले यसलाई पुरस्कार हातमा थमाइदिँदा देखिने प्रतिक्रियाभन्दा फरक, ‘युरेका’ अर्थात् केही प्राप्त गरेको क्षणको उत्साहसँग तुलना गरेका छन् । उपलब्धिले गाईलाई पनि राम्रो महसुस गराउन सक्छ भन्ने संकेत यसले दिन्छ ।
सम्बन्ध, सहानुभूति र वियोग
कुकुर र उसको मालिकले एकअर्काको आँखामा हेर्दा दुवैमा सम्बन्ध र आत्मीयतासँग जोडिएको हर्मोन अक्सिटोसिनको मात्रा बढ्ने गरेको पाइन्छ ।
एसियाली हात्तीहरूले दुःखी भएका साथीलाई सुँडले छोएर र नरम आवाज निकालेर सान्त्वना दिने गर्छन् । भेडाले आफ्नो समूहका सदस्यको अनुहार चिन्न सक्छ । परिचित भेडाका तस्वीर मात्र देखाउँदा पनि एक्लोपनका कारण उत्पन्न तनाव कम हुने गरेको पाइन्छ ।
गाई र सुँगुरमा भावनात्मक संक्रमण पनि देखिन्छ । एउटा जनावरको डर वरपरका अन्य जनावरमा पनि फैलिन सक्छ ।
मृत्युप्रतिको उनीहरूको प्रतिक्रिया झन् उल्लेखनीय छ । केन्याको सम्बुरु क्षेत्रमा अनुसन्धानकर्ताहरूले एलिनोर नामकी मर्न लागेकी हात्तीप्रति विभिन्न परिवारका अन्य हात्तीले देखाएको व्यवहार नियाले । उनीहरू पालैपालो उनीकहाँ पुगे । एउटाले त उनलाई उठ्न सहयोग गर्ने प्रयाससमेत गर्यो।
चिम्पान्जी आमाहरूले मरेका बच्चालाई हप्तौँसम्म बोकेर हिँडेका छन् र उनीहरूको शरीर सफा गरिरन्छन् । डल्फिनले मरेका बच्चालाई पानीमाथि तैर्याइ रहेको देखियो ।
वैज्ञानिकहरू यसलाई सिधै ‘शोक’ भन्नमा सावधानी अपनाउँछन्, र त्यो स्वाभाविक पनि हो । अर्को प्रजातिले वास्तवमा के अनुभव गरिरहेको छ भन्ने कुरा हामी ठ्याक्कै जान्न सक्दैनौँ । तर लामो समयसम्म जनावरलाई नियाल्दा उनीहरूबीचको आत्मीयता, हेरचाह र वियोगप्रतिको प्रतिक्रियाका ढाँचालाई बेवास्ता गर्न कठिन हुन्छ ।
व्यक्तित्वसम्बन्धी अनुसन्धानले अर्को पक्ष पनि देखाएको छ । एउटै प्रजातिभित्र पनि केही जनावर लगातार साहसी हुन्छन् भने केही लजालु । केही बढी सामाजिक हुन्छन् भने केही एकान्तप्रिय । यस्तो कुरा सुँगुर, घोडा, कुकुर, चराचुरुङ्गी, माछा र अक्टोपससम्ममा देखिएको छ ।
जनावर पालेका वा उनीहरूसँग लामो समय बिताएका मानिसलाई यो कुरा नौलो लाग्दैन । हरेक जनावरको आफ्नै स्वभाव र चरित्र हुन्छ।
निश्चितता नै मापदण्ड होइन
कुनै एउटा अनुसन्धानले मात्र कुनै जनावर चेतनशील छ भन्ने प्रमाणित गर्दैन । तर विभिन्न अनुसन्धानबाट प्राप्त प्रमाणहरू एकै दिशातर्फ जम्मा हुँदै जानु महत्त्वपूर्ण हो ।
स्तनधारी जनावर, चरा, अक्टोपस, गँगटा र भमराको स्नायु प्रणाली एकअर्काभन्दा निकै फरक छन् । तर उनीहरू सबैले चोटपटकलाई आफूलाई महत्त्वपूर्ण भएको जस्तो व्यवहार गर्छन्, सम्बन्ध बनाउँछन् जसले उनीहरूको सुखदुःखमा असर पार्छ, नकारात्मक अनुभवबाट बच्न खोज्छन् र सकारात्मक अनुभवतर्फ आकर्षित हुन्छन् ।
अर्को जीवको भित्री संसारबारे हामी कहिल्यै पूर्ण रूपमा निश्चित हुन सक्दैनौँ । त्यसैले वैज्ञानिक र नीतिनिर्माताहरूले क्रमशः सावधानीको सिद्धान्त अपनाउन थालेका छन् । कुनै जनावरले पीडा भोग्न सक्ने वास्तविक सम्भावना छ भने त्यसलाई प्रमाणित गर्ने भार जनावरमाथि नै राखिनु हुँदैन ।
बेलायतले सन् १९९३ मै अक्टोपसलाई पशु अनुसन्धानसम्बन्धी कानुनको दायरामा ल्याएको थियो । सन् २०२२ मा अक्टोपस, गँगटा र लब्स्टरलाई कानुनी रूपमा सेन्टिएन्ट, अर्थात् अनुभूति गर्न सक्ने जीवका रूपमा औपचारिक मान्यता दिइयो ।
यसका व्यावहारिक परिणाम पनि छन्– वधअघि जनावरलाई बेहोस बनाउने, गँगटा तथा लब्स्टरलाई जिउँदै उमाल्ने अभ्यास अन्त्य गर्ने, जनावरको मानवीय ढंगले हेरचाह र ओसारपसार गर्ने, बाछाबाछीलाई आमाबाट छुट्याउने विषयमा ध्यान दिने । अहिले अर्बौँको संख्यामा पालिन थालेका कीराको पालनमा समेत पशु कल्याणका मापदण्ड लागू गर्ने ।
नेपालका लागि यसको अर्थ
नेपालमा हाम्रो दैनिक जीवन र जनावरीबीच गहिरो सम्बन्ध छ । गोरुले खेत जोत्छन् । गधा र खच्चरले पहाडी बाटोमा भारी बोक्छन् । प्रायः हरेक गाउँमा भैंसी, बाख्रा र कुखुरा पालिन्छन् । कुकुरहरू हाम्रा सडक र बस्तीमा हामीसँगै बस्छन् ।
विज्ञानले हामीलाई के भन्छ भने– यी प्रत्येक जनावरका आफ्नै अनुभव छन्, र ती अनुभव उनीहरूका लागि महत्त्वपूर्ण छन् । नेपालले जनावरलाई कानुनी रूपमा कसरी संरक्षण गर्ने भन्ने विषयमा सोचिरहँदा यो मान्यता छुट्टै पशु कल्याण ऐन, को केन्द्रमा हुनुपर्छ ।
यो विषय जनावरमा मात्र सीमित छैन । वन हेल्थ र वन वेलफेयरको अवधारणाले जनावर, मानिस र वातावरणको कल्याण एकअर्कासँग जोडिएको मान्छ । अनुसन्धानले जनावरमाथि हुने क्रूरताको सम्पर्कले मानिसमा, विशेषगरी बालबालिकामा, भावनात्मक तनावसँग सम्बन्ध हुन सक्ने पनि देखाएको छ ।
जनावरसँग दयालु व्यवहार गर्नु स्वस्थ समुदाय निर्माण गर्ने प्रक्रियाको एउटा हिस्सा हो ।
जीवित मनहरू
यी सबै कुरा भन्नका लागि जनावरलाई सानो मानिसजस्तो ठान्नुपर्दैन। काग, गाई र अक्टोपसले संसारलाई आ–आफ्नै ढंगले अनुभव गर्छन् । मुख्य कुरा उनीहरूलाई मानिसको नक्कलका रूपमा हेर्नु होइन, आफ्नै बुद्धि, सामाजिकता र अनुभूति भएका जनावरका रूपमा स्वीकार गर्नु हो ।
अवलोकन र विज्ञानबाट प्राप्त प्रमाणहरू एकै दिशामा जम्मा हुँदै जाँदा एउटा सरल निष्कर्षमा पुग्न सकिन्छ– पशु संसारमा केवल जीवित शरीरहरू मात्र छैनन्, जीवित मनहरू पनि छन् ।
यसलाई स्वीकार गर्दा मानिसको महत्त्व घट्दैन । बरु यसले जीवनप्रतिको हाम्रो बुझाइलाई फराकिलो बनाउँछ र हामीसँग यही ग्रह बाँडेर बाँचिरहेका जीवप्रति हाम्रो जिम्मेवारी पनि सम्झाउँछ ।
प्राणीशास्त्री मेरियन स्ट्याम्प डकिन्सले भनेझैँ– ‘जनावरका जीवन उनीहरूका लागि महत्त्वपूर्ण हुन्छन्, जो ती जीवन बाँचिरहेका छन् ।’
(सुलक्षणा राणा पशु कल्यालका लागि काम गर्ने संस्था एनिमल नेपालमा कार्यरत छिन् )
प्रतिक्रिया 4