लस एन्जलस (बीबीसी) । विश्वकै चर्चित के-पप समूहमध्ये एक ‘स्ट्रे किड्स’ ले पनि सन् २०२७ को ग्रामी अवार्ड बहिष्कार गर्ने निर्णय गरेको छ । यसअघि के-पप ब्यान्ड बीटीएसले पनि बहिष्कारको निर्णय गरेको थियो ।
एसियाली पप संगीतका लागि छुट्टै नयाँ विधा थप्ने निर्णयपछि ग्रामीलाई लिएर विवाद बढेको छ । आलोचकले यस्तो विधाले के-पप र जे-पपजस्ता संगीतलाई मूलधारका विधाबाट अलग पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
बीटीएसले गत जुलाईमै कुनै पनि विधामा प्रतिस्पर्धाका लागि आफ्ना गीत पेस नगर्ने घोषणा गरेको थियो । समूहले आफ्नो संगीतलाई ‘क्षेत्र वा भाषाका आधारमा विभाजन नगरी, जे हो त्यही रूपमा सुनियोस् र माया गरियोस्’ भन्ने चाहना व्यक्त गरेको थियो ।
हालै अमेरिकामा आफ्नो नवौं एल्बमलाई शीर्ष स्थानमा पुर्याएको स्ट्रे किड्सले पनि बीटीएसकै बाटो पछ्याएको छ । समूहको रेकर्ड कम्पनी जेवाईपीले छोटो वक्तव्यमा भन्यो, ‘स्ट्रे किड्सले ग्रामीका लागि आफ्नो संगीत पेस गरेको छैन ।’
यसअघि स्ट्रे किड्सले ग्रामी अवार्डबारे सोधिएका प्रश्नको सीधा जवाफ दिनबाट जोगिँदै आएको थियो ।
गत अगस्टमा आफ्नो पछिल्लो एल्बम ‘दिस एन्ड द्याट’ को पत्रकार सम्मेलनमा गायक ह्वाङ ह्युन–जिनले भनेका थिए, ‘हामीले कहिल्यै पनि अवार्डको नतिजा वा कीर्तिमानलाई आफ्नो लक्ष्य बनाएका छैनौं ।’
उनले थपेका थिए, ‘हाम्रो पहिलो प्राथमिकता हाम्रा प्रशंसक खुसी र सन्तुष्ट हुनु हो ।’
स्ट्रे किड्सको निर्णय ग्रामी आयोजना गर्ने रेकर्डिङ एकेडेमीका लागि धक्का बन्ने देखिएको छ ।
स्ट्रे किड्स अमेरिकामा अत्यन्त लोकप्रिय छ । समूहले हालै न्यूयोर्कमा आयोजित गभर्नर्स बल महोत्सवमा मुख्य प्रस्तुति दिएको थियो । उक्त महोत्सवमा लर्ड र एसेप रकी पनि सहभागी थिए ।
एल्बम चार्टमा स्ट्रे किड्सभन्दा बढी नम्बर एक एल्बम हासिल गर्ने ब्यान्ड एउटा मात्रै छ, द बिटल्स ।
यसै वर्ष स्ट्रे किड्सका आठै सदस्यलाई ग्रामी अवार्डमा मतदान गर्ने अधिकार दिइएको थियो । त्यसैले प्रतियोगिताबाट अलग हुने उनीहरूको निर्णयलाई थप महत्वपूर्ण मानिएको छ । बीटीएसका सदस्यहरू पनि रेकर्डिङ एकेडेमीका मतदान सदस्य हुन् ।
स्ट्रे किड्सको घोषणा ग्रामीका प्रमुख हार्भी मेसन जुनियरले सन् २०२७ को समारोहमा नयाँ एसियन पप विधालाई निरन्तरता दिने पुष्टि गरेको केही घण्टापछि आएको हो ।
मेसनले वक्तव्यमा भने, ‘पछिल्ला केही सातामा एकेडेमीले संगीत सुन्ने सत्रहरू सञ्चालन गर्नुका साथै एसियाली संगीत समुदायका अगुवाहरूसँग संवाद गरेको छ ।’
उनका अनुसार समुदायका केही व्यक्तिले उक्त विधालाई निरन्तरता दिन नहुने स्पष्ट प्रतिक्रिया दिएका थिए । केही व्यक्तिसँग विधाबारे सही जानकारी नभएको र उनीहरूका गलत बुझाइ हटाउने अवसर विशेष रूपमा उपयोगी भएको पनि उनले बताए ।
‘तर हामीले सबैभन्दा बढी प्रतिक्रिया यस विधाका उत्साही समर्थकहरूबाट पायौं । संगीत सिर्जनाकर्ताले यसलाई कायम राख्न प्रोत्साहन दिएका छन्’ उनले भने ।
मेसनले यो निर्णयले ‘सबैलाई सन्तुष्ट नबनाउने’ स्वीकार गर्दै एकेडेमीले अवार्डको विकासबारे छलफल जारी राख्ने बताएका छन् ।
रेकर्डिङ एकेडेमीले गत जुनमा नयाँ विधा घोषणा गरेको थियो । उक्त विधाले ‘एसियाली बजारमा उत्पत्ति भएको वा व्यापक रूपमा चिनिएको एसियाली पप संगीत प्रस्तुतिको कलात्मक उत्कृष्टता’लाई सम्मान गर्ने एकेडेमीको भनाइ थियो ।
यो विधाबारे वर्षौंदेखि छलफल हुँदै आएको थियो । फिल्म ‘के-पप डेमन हन्टर्स’ को गीत ‘गोल्डेन’ यस वर्ष फेब्रुअरीमा ग्रामी जित्ने इतिहासकै पहिलो के–पप गीत बनेपछि अन्ततः यो विधा सुरु गरिएको हो ।
आयोजकले त्यतिबेला भनेका थिए, ‘हाम्रो प्रक्रियामा एसियाली पपको प्रभाव निरन्तर बढ्दै गएपछि हाम्रा सदस्य र ट्रस्टीहरूले यसको आकार, कलात्मकता र विश्वव्यापी प्रभावलाई अझ सही रूपमा प्रतिबिम्बित गर्ने विधा सिर्जना गर्न यही उपयुक्त समय भएको महसुस गरे ।’
तर नयाँ विधाप्रति मिश्रित प्रतिक्रिया आएको छ । धेरैले यसले एसियाली कलाकारलाई ग्रामीका मुख्य विधामा मान्यता पाउनबाट रोक्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
मनोनयनमा पर्ने गीतमा कुनै एसियाली भाषाको ‘अर्थपूर्ण प्रयोग’ हुनुपर्ने प्रावधानप्रति पनि असन्तुष्टि देखिएको छ ।
यही प्रावधानका कारण अमेरिकामा सबैभन्दा परिचित दुई कोरियाली समूह बीटीएस र ब्ल्याकपिंकका पछिल्ला गीत तथा एल्बम योग्य हुँदैनन्, किनकि तिनमा मुख्य रूपमा अंग्रेजी भाषा प्रयोग गरिएको छ ।
एसियन पप अवार्डविरुद्ध उठेका तर्कहरू ग्रामीको ‘बेस्ट म्युजिका अर्बाना’ जस्ता विधाबारे ल्याटिन कलाकारहरूले उठाउँदै आएका तर्कसँग मिल्दोजुल्दो छन् ।
कुनै निश्चित भौगोलिक वा भाषिक मूलको संगीतलाई मान्यता दिने उद्देश्य भए पनि केही संगीतकर्मीले यसले उनीहरूको संगीतलाई ‘एल्बम अफ द इयर’ वा ‘सङ अफ द इयर’ जस्ता मूलधारका पुरस्कारबाट अलग पार्ने महसुस गरेका छन् ।
तर यस वर्ष ब्याड बनीको ‘डेबी तिरार मास फोटोस’ स्पेनी भाषामा बनेको ‘एल्बम अफ द इयर’ जित्ने पहिलो एल्बम बनेपछि त्यस्तो धारणामाथि चुनौती थपिएको छ । रोजालियाको ‘लक्स’ ले पनि आगामी वर्षको मनोनयनमा उल्लेखनीय स्थान पाउने अपेक्षा गरिएको छ ।
बीटीएस र स्ट्रे किड्स यी प्रमुख पुरस्कारका लागि प्रतिस्पर्धा गर्न योग्य थिए । तर दुवै समूहले आफ्नो संगीत पेस नगरेर रेकर्डिङ एकेडेमीलाई सन्देश दिने निर्णय गरेका छन् ।
अन्य ठूला कलाकारले पनि यस्तै निर्णय गरेको हुन सक्ने बताइएको छ। ।
यसै साता चर्चित ब्वाइब्यान्ड एटिजका नेता किम होङ-जुङले बीटीएसको अडानबाट आफू प्रभावित भएको बताएका थिए ।
भेराइटी म्यागजिनसँगको अन्तर्वार्तामा उनले भने, ‘म पनि त्यसबारे सोच्न चाहन्छु ।’
उनले थपे, ‘म निश्चित छैन, किनकि उनीहरूले त्यो विधा किन बनाउन खोजे भन्ने वास्तविक कारण कसैले जान्न सक्दैन। वास्तविक कारण कसैले पहिचान गर्न सक्दैन।’
‘तर मलाई लाग्छ, बीटीएसले जे गर्यो, त्यसमा म केही हदसम्म सहमत छु,’ उनले भने ।
कुन-कुन कलाकारले आफ्नो संगीत ग्रामी अवार्डका लागि पेस गरेका छन् भन्ने कुरा १० डिसेम्बरमा मनोनयन सार्वजनिक भएपछि थाहा हुनेछ ।
प्रतिक्रिया 4