१८ असोज, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले फ्लाई दुबईका क्याप्टेन स्मित मच्छारलाई आगामी इजरायली स्वतन्त्रता दिवसको अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन निम्तो दिएका छन् ।
प्रधानमन्त्री नेतन्याहुले क्याप्टेन स्मितसँग टेलिफोन कुराकानी गर्दै स्वतन्त्रता दिवसमा उत्सवको ज्योति बाल्न निम्तो दिएका हुन् ।
नेतन्याहुले यस्तो सम्मान सामान्यत: इजरायली नागरिकलाई मात्र प्रदान गरिने उल्लेख गर्दै मच्छरको साहस र विमानमा रहेका यात्रुको ज्यान जोगाउन खेलेको भूमिकाको सम्मानमा उनलाई विशेष रूपमा निम्त्याउन चाहेको बताए ।
‘म तपाईं र मेरा प्रिय मित्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई हाम्रो आगामी स्वतन्त्रता दिवसमा उत्सवको ज्योति बाल्न निम्तो दिन चाहन्छु । तपाईं भारत र इजरायलका वीर जनताको सच्चा नायक हुनुहुन्छ । तपाईं सम्पूर्ण विश्वकै नायक हुनुहुन्छ,’ नेतन्याहुले भनेका छन् ।
उनले क्याप्टेन स्मितलाई श्रीमती र छोराछोरीसहित इजरायल आउन भनेका छन् ।
यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानका भारतीय पाइलट स्मित मच्छारलाई को–पाइलट ओमानका हमाम अल हमामीले ‘क्र्यास एक्स’ भनिने आपत्कालीन औजारले आक्रमण गरेका थिए । यो ‘हिंसात्मक घटना’ पछि पनि घाइते पाइलटले विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरेर सकुशल अवतरण गराएका थिए ।
उडान नम्बर एफजेड–१०७३ को बोइङ ७३७ म्याक्स ८ विमानमा सवार सबै १७४ जनाको ज्यान जोगाएपछि क्याप्टेन स्मितको विश्वभर प्रशंसा भइरहेको छ ।
उनीसँगको टेलिफोन कुराकानीका क्रममा नेतन्याहुले पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।
मच्छारले उडानका क्रममा सहपाइलटले आफूलाई पछाडिबाट आक्रमण गरेको र त्यसपछि आफूले ककपिटको ढोका खोलेर विमानको नियन्त्रण सम्हाल्न अन्य चालक दलका सदस्यलाई अवसर दिएको घटनाबारे नेतन्याहुलाई सुनाएका छन् ।
यो कुराकानी इजरायली प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा अपलोड गरिएको छ । यस्तो छ कुराकानीको सम्पादित अंश–
स्मित : तपाईंलाई कस्तो छ ?
नेतन्याहु : म ठीकै छु । तर तपाईंलाई कस्तो महसुस भइरहेको छ ?
स्मित : बिस्तारै ठीक हुँदैछु । सुधार भइरहेको छ ।
नेतन्याहु : क्याप्टेन, म तपाईं र मेरा प्रिय मित्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई हाम्रो आगामी स्वतन्त्रता दिवसमा उत्सवको ज्योति बाल्न निम्तो दिन चाहन्छु । तपाईं भारत र इजरायलका वीर जनताको सच्चा नायक हुनुहुन्छ । तपाईं सम्पूर्ण विश्वकै नायक हुनुहुन्छ । तपाईं शीघ्र र पूर्ण रूपमा निको हुनुहोस् भन्ने मेरो शुभकामना छ ।
तपाईं मलाई बताउन सक्नुहुन्छ, घटना कसरी सुरु भएको थियो ?
स्मित : यो सामान्य उडान थियो । सहपाइलटले प्रार्थना गर्न चाहन्छु भनेर भने । धेरै स्थानीय मानिसहरू प्रार्थना गर्छन्, त्यसैले यो असामान्य कुरा थिएन । उनी प्रार्थना गरिरहेका बेला सम्मानका कारण म अगाडितिर हेरिरहेको थिएँ, पछाडितिर हेरिरहेको थिइनँ ।
अचानक, करिब चार–पाँच मिनेटपछि मेरो टाउकोको पछाडिपट्टि ठूलो प्रहार भयो । मेरो पहिलो सोच विमानमा कुनै ठूलो र भयावह क्षति भयो भन्ने थियो । केही गम्भीर समस्या भएको जस्तो लाग्यो । तर त्यसपछि एकपछि अर्को गर्दै प्रहार भइरहे ।
त्यसपछि मात्र मैले बुझेँ— यो विमानमा भएको समस्या होइन रहेछ, मसँगै ककपिटमा रहेका अर्का व्यक्ति रहेछन् ।
मैले उनलाई रोक्ने प्रयास गरेँ । तर सुरुमै भएका प्रहारका कारण मेरो दृष्टि लगभग हराइसकेको थियो । सबै कुरा धमिलो देखिरहेको थियो । त्यसैबेला मैले विमान तीव्र रूपमा तलतिर गइरहेको महसुस गरेँ ।
मेरो सम्झना अहिले पनि टुक्राटुक्रा रूपमा मात्रै छ । तर त्यतिबेलाको मलाई यति याद छ— मैले एकपटक ककपिटको ढोका खोल्ने प्रयास गरेँ, तर मलाई लाग्छ, उनले फेरि ढोका बन्द गरिदिए । त्यसपछि म ककपिटको भुइँमा लडिरहेको याद छ ।
मैले विमानको आवाज, हावाको तीव्र आवाज र मानिसहरू चिच्याइरहेको सुनेँ ।
त्यतिबेला मसँग अझै एउटा अन्तिम प्रयास गर्ने शक्ति बाँकी थियो । त्यो व्यक्तिगत कारणले होस् वा विमानमा रहेका मानिसहरूका लागि होस्, मैले सोचेँ– यदि मैले अब केही गरिनँ भने म मर्छु ।
त्यसपछि मैले आफूसँग भएको सम्पूर्ण शक्ति लगाएँ । सबै शक्ति लगाएर ढोकातिर गएँ र ढोका खोलेँ ।
भाग्यवश, बाहिर रहेका मानिसहरू विमानको नियन्त्रण सम्हाल्न भित्र पस्न तयार भएर बसेका रहेछन् । त्यसपछि के भयो, तपाईंलाई थाहै छ, सर ।
नेतन्याहु : असम्भवजस्तो परिस्थितिमा पनि तपाईंले देखाउनुभएको साहस र निर्णय गर्ने क्रममा कायम राख्नुभएको धैर्य देखेर म साँच्चिकै अचम्मित छु ।
तर मलाई एउटा कुरा बताउनुहोस्– पाइलटको ढोका अर्थात् ककपिटको ढोका खोल्ने त्यो पिन कसरी तान्नुभयो ?
स्मित : होइन सर, ढोका भित्रबाट घुमाएर खोल्ने प्रणाली हुन्छ । बाहिरबाट भने कोड प्रयोग गरेर मात्रै खोल्न सकिन्छ । बाहिर रहेका मेरा सहकर्मीहरूले कोड हालेर ढोका खोल्ने प्रयास गरिरहेका थिए । तर ती व्यक्ति कोड हाल्न दिइरहेका थिएनन् ।
त्यसैले ढोका खोल्ने एउटै उपाय थियो– ढोकाको नबसम्म पुग्ने र अरू सामान्य नब घुमाएजस्तै त्यसलाई घुमाउने । त्यसपछि ढोका आफैं खुल्छ । त्यहाँ कुनै पिन थिएन । ढोका खोल्न छोटो र छिटो तरिकाले नब घुमाउनुपथ्र्यो ।
मुख्य कुरा भनेको त्यो ठाउँसम्म पुग्नु थियो । जब मेरो हात नबसम्म पुग्यो, मलाई लाग्छ, मैले त्यसलाई घुमाएँ र ढोका खुल्यो ।
नेतन्याहु : तपाईंले भन्नुभएको कुरा सुन्दा यो भाग्यको पनि एउटा मोड रहेछ र विश्वासको पनि एउटा मोड । तपाईंले जे गर्नुभयो, त्यो असाधारण छ ।
त्यसपछि के भयो भन्ने कुरा मैले इजरायली यात्रुहरूबाट पनि सुनेँ । तपाईं महान् नायक हुनुहुन्छ । तपाईंको साथमा रहेका मानिसहरू पनि नायक हुन् । तपाईंहरूले त्यो दिन बचाउनुभयो । तपाईंले धेरै मानिसको ज्यान बचाउनुभयो ।
मलाई लाग्छ, तपाईंले त्योभन्दा पनि ठूलो कुरा बचाउनुभयो– विश्वास र साहसको भावना ।
यस घटनाले साहसी पाइलट र साहसी यात्रुहरूले जति नै खतरनाक र हिंस्रक भए पनि यस्तो दुष्ट शक्तिलाई पराजित गर्न सक्छन् भन्ने कुरा संसारलाई देखाएको छ ।
तपाईंलाई अहिले संसारभर उचित रूपमा नायकका रूपमा सम्मान गरिएको छ । तपाईं इजरायलका नायक हुनुहुन्छ, भारतका नायक हुनुहुन्छ र सम्पूर्ण विश्वका नायक हुनुहुन्छ । यहाँका मानिसहरूले तपाईंलाई खुला हृदयले स्वागत गर्नेछन् ।
तपाईंहरू मिलेर धेरै मानिसको ज्यान बचाउनुभयो । कृपया मेरी श्रीमती र मेरो तर्फबाट तपाईंकी श्रीमतीलाई पनि धेरै शुभकामना दिनुहोस् । मलाई थाहा छ, तपाईंको परिवार छ ।
स्मित : हुन्छ ।
नेतन्याहु : तपाईं अब हाम्रो राष्ट्रहरूको परिवारको हिस्सा हुनुहुन्छ । त्यस परिवारको एक वीर सदस्य हुनुहुन्छ । सकेसम्म चाँडो पूर्ण रूपमा स्वस्थ हुनुहोस् ।
स्मित : म निको हुन्छु, सर । अवश्य निको हुन्छु ।
नेतन्याहु : फेरि पनि म भन्न चाहन्छु क्याप्टेन स्मित र प्रधानमन्त्री मोदी महान् मित्र हुनुहुन्छ । म साँच्चिकै चाहन्छु कि उहाँहरूले हाम्रो स्वतन्त्रता दिवसमा उत्सवको ज्योति बाल्नुहोस् ।
यो हाम्रो स्वतन्त्रता दिवसमा दिइने सबैभन्दा ठूलो सम्मानमध्ये एक हो । सामान्यतया यो सम्मान इजरायली नागरिकका लागि मात्र आरक्षित हुन्छ ।
तर मलाई लाग्छ, तपाईंको हकमा इजरायलका सबै नागरिकले तपाईंलाई अँगाल्नेछन् । उनीहरूले अहिले पनि तपाईंलाई आफ्नो नायक मानेका छन् र त्यतिबेला पनि त्यही गर्नेछन् । त्यसैले हामी तपाईंलाई धेरै छिट्टै इजरायलमा देख्न चाहन्छौँ ।
स्मित : म पनि तपाईंलाई भेट्न आतुर छु, सर । यद्यपि परिस्थितिका कारण यो भ्रमण एउटा स्मरणीय र ऐतिहासिक भ्रमण हुनेछ जस्तो लाग्छ ।
नेतन्याहु : धन्यवाद, सर । तपाईंले गर्नुभएको सबै कामका लागि धन्यवाद ।
स्मित : धन्यवाद । धेरै–धेरै धन्यवाद, सर । तपाईंसँग कुराकानी गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो।
नेतन्याहु : धन्यवाद ।
प्रतिक्रिया 4