+
+
Shares

कबड्डीबाट किन गायब भए खिर खुवाउने झाँक्री ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते ९:३२

कबड्डीबाट झाँक्री बा गायब छन् । उनले निःसन्तान छन्त्याल दम्पतीलाई एउटा गुण लगाएका थिए । अघिल्लो शृंखलामा हेर्नुभयो नि ?

यतिबेला छन्त्यालको घर हराभरा छ । उनको आँगनमा खेल्ने लालाबाला छन् । तर, खिर खुवाएर दाम्पत्य सुखको सूत्र बताउने झाँक्री कता गायब भए ? के उनलाई गाउँबाटै लखेटिएको थियो ?

यसपालि कबड्डीको टिजर हेरेपछि कतिपयलाई यस्तै लागेको होला । पाँचौँ शृंखलाको टिजरमा सबैजना देखिएका छन्- छन्त्याल, बीके, बीकेका बुबा, काजी। मैयासमेत फर्किएकी छिन् । अनि रहस्यमयी ढंगले अर्को पात्रसमेत प्रवेश गरेका छन् । ती को हुन् ? जवाफका लागि चाहिँ टिजर हेर्नुहोला । वा त फिल्म प्रदर्शनको मिति पर्खनुहोला ।

अब कुरा रह्यो, झाँक्री बाको । यसपालि उनी कहीँ कतै देखिएनन् । ती जटाधारी झाँक्री खासमा पूर्वेली लिम्बू लवजमा बोल्छन् । बस्न चाहिँ मनाङ–मुस्ताङ पृष्ठभूमिको लेकाली भेगमा । आखिर जे भए पनि, जबजब फिल्ममा उनी देखिन्छन्, दर्शकमा कौतुहलता र हाँसो एकसाथ जाग्छ । किनभने उनको चरित्र निर्माण नै त्यस्तै छ ।

खासमा  झाँक्रीका लागि अरू कलाकार नपाएपछि आफैँले सो भूमिका निर्वाह गरेका थिए, उपेन्द्र सुब्बाले। उनै सुब्बा बाको नामोनिसाना छैन यसपालिको टिजरमा ।

कुनैबेला उनी कबड्डीका अभिन्न हिस्सा थिए । कथा बुन्नेदेखि पटकथा तयार गर्नेसम्ममा उनी सम्मिलित थिए । चोटिला–चोटिला संवाद पनि उनै लेख्थे । तर, पछि उनी आफ्नै बाटो लागे । रामबाबु गुरुङहरू पनि आफ्नो बाटो लागे। झाँक्रीलाई छाडेर उनको टिममा पुरानै अनुहारहरू छन् । त्यसमा विपिन कार्कीलाई प्रवेश गराएर कथामा नयाँ मोड ल्याउन खोजिएजस्तो देखिन्छ । जे होस्, रामबाबु–दयाहाङको टिम यतिबेला फिल्म प्रदर्शनको पर्खाइमा जोडतोडले जुटेका छन्। झाँक्री बा पो के गर्दै होलान्  ?

आफ्नै चालढालमा फिस्स हाँस्दै कुनै फिल्मको स्क्रिप्ट तयार गर्दै होलान्  ?

अघिल्लो शृंखलालाई ‘फाइनल म्याच’ भनिएको थियो। त्यो खासमा कबड्डीको होइन, उपेन्द्रको चाहिँ फाइनल म्याच थियो सायद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?