+
+
Shares

केहेर एण्ड लुङ्गा : कन्सर्टले भ्याइनभ्याइ

काठमाडौंमा घर बनाएपछि मात्र विवाह गर्ने

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
२०८३ कात्तिक १ गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केहेर एण्ड लुङ्गा ब्याण्डले बिहीबार विर्तामोड, दमक, इलाम र चुलाचुलीमा कन्सर्ट गर्ने तालिका बनाएको छ ।
  • ब्याण्डका मुख्य केहेर सिंह लिम्बुले देशका विभिन्न ठाउँमा माया पाएको भन्दै चारवटा नयाँ गीतको तयारी गरिरहेको बताएका छन् ।
  • केहेरले २०८० सालमा टिकटकमा राखेको ‘तिमिलाई सम्झेर’ चर्चित भएपछि उनको गायन यात्रा अघि बढेको हो ।

युवाहरू सम्मिलित केहेर एण्ड लुङ्गा ब्याण्ड पछिल्लो समय कन्सर्टमा रोजाइमा परेका छन् । एकपछि अर्को गीत चर्चित भएसँगै युवा कलाकारहरूले देशका विभिन्न ठाउँमा स्टेज तताइरहेका छन् ।

बिहीबारदेखि दशैंको बेलामा पूर्वमा उनीहरूको व्यस्त सेड्युल छ । बिहीबार (भोलि) विर्तामोड, त्यसपछि दमक, इलाम र चुलाचुलीमा उनीहरूका कन्सर्ट रहेका छन् । केही दिनअघि मात्र पाँचथर पुगेका उनीहरू भोलि झापामा प्रस्तुत हुनेछन् । ब्याण्डका व्यवस्थापक सुमन तामाङका अनुसार हिउँदको सिजनमा लगातार कार्यक्रम रहेका छन् । सन् २०२७ मा विभिन्न देशमा कन्सर्टको बुकिङ भइसकेको छ ।

‘डोको बुन्ने’, ‘बैगुनी’, ‘सरसर’, ‘तिमिलाई सम्झेर’, ‘झ्यालैमा’, ‘खेरै जाने माया’ जस्ता गीत चर्चित छन् । ब्याण्डका मुख्य हुन् केहेर सिंह लिम्बु । २० वर्षे तन्नेरी केहेर सिंहले ब्याण्डको नेतृत्व गरिरहेका छन् । यति मात्र होइन, एकपछि अर्को गरी चर्चित गीत दिइरहेका छन् ।

कन्सर्टमा युवाहरूले घेरिएका हुन्छन् । सहजै फ्यानसँग कुरा गर्ने, फोटो खिच्न केहेर सिंह तयार देखिन्छन् ।

उनका एकपछि अर्का गीत हिट बन्दै गएका छन् । टिकटक र फेसबुक रिल्समा उनका गीतले महत्वपूर्ण हिस्सा ओगटेका छन् ।

कन्सर्टमा व्यस्तता निकै छ। ‘देशका विभिन्न ठाउँमा अत्यधिक माया पाएको छु । विभिन्न ठाउँमा दोहोर्याएर पनि बोलाउनुहुन्छ । चारवटा नयाँ गीतको तयारी गरिरहेको छु,’ केहेर सिंहले भने, ‘मेरो संगीत यात्रा कथा जस्तो छ । निरन्तर राम्रो गर्ने प्रयासमा  छु।’

उनी गायक हुन्, संगीतकार हुन्, रचनाकार पनि हुन् । सानै उमेरमा सांगीतिक फड्को मारेका उनका हरेक गीत हिट बनेका छन् । गीतमा उनले लोक, आधुनिक र रकलाई फ्युजन गराएका छन् ।

दाइहरूसँग काम गर्दा भाइब्स नमिलेर आफ्नै उमेरकाहरूको टिम बनाएको उनले सुनाए । यो ब्याण्ड घोषणा भएको केवल दुई वर्ष हुँदै छ। केहेर सिंह भोकालिस्ट हुन् भने साउन्ड इन्जिनियर रिजन महर्जन, म्यानेजर लामा, गिटारिस्ट प्रवेश थापा, ड्रमर संयम अधिकारी रहेका छन् ।

काठमाडौंको टुँडिखेलमा चलचित्र ‘कुमारी’को घोषणा कार्यक्रम र कन्सर्टमा उनले ब्याण्डको नाम परिवर्तन गरेको घोषणा गरेका थिए । त्यसपछि उनको चर्चा यात्राको क्षितिज फराकिलो बन्दै गयो । सोभन्दा अगाडि केहेर एण्ड ज्वे थियो । ‘टिममा अग्रजहरू हुनुहुन्थ्यो । हाम्रो अलि भाइब्स मिलेन । हामीजस्तै युवा साथी जोडेर नयाँ ब्याण्ड बनाएर अघि बढेका थियौं,’ उनी भन्छन्, ‘अहिले टिममा सबै युवा साथीहरू छौं ।’

ब्याण्डको नेतृत्वकर्ता केहेरको स्कुल बढ्दादेखिकै उनको लगाव गीत-संगीतमा देखिन्छ । तेह्रथुमको जिरिखिम्तीमा जन्मेका हुन् उनी । बुवा भारतीय लाहुरे थिए । ‘आमाको स्वर सारै मिठो छ । उहाँले गीत गाएको सुन्दै गाउने सिक्थे । पूर्वेली भाका नै गाउँथे। १३ वर्षको उमेर हुँदादेखि विद्यालयमा, सरस्वती पूजामा, गाउँका कार्यक्रममा गाउन थालेको थिएँ,’ उनले भने, ‘यही क्रममा युट्युबमा मसँगको कुराकानी र गीत आयो अनि मेरो गायन यात्रा झन् अघि बढ्यो । मेरो संगीत यात्रामा धेरैको सहयोग रहेछ ।’

आमासँग पनि गीत रेकर्ड गर्ने उनको इच्छा छ । युट्युबमा गीत गाएर चर्चित भएपछि उनको बुवाले सात कक्षा पढाउन काठमाडौं लगे । पढ्दै गीत गाउँदै थिए । दुर्भाग्यवश नौं कक्षामा पढ्दा बुवाको निधन भयो । एसईई लेखेर गाउँ (तेह्रथुम) फर्किए। केही समय गाउँमा बसेका उनलाई विनोद तामाङले फेरि काठमाडौं लगे । कक्षा-८ मा पढ्दा आफैंले रचना गरेको ‘तिमिलाई सम्झेर’ भन्ने गीत २०८० सालमा टिकटकमा राखे । यो चर्चित भयो। गीत गाउने कामहरू आउन थाले । यही शृङ्खलामा सुमन (अहिलेका व्यवस्थापक) सँग भेट भयो । उनकै साथमा लागेर डेढ वर्ष संगीत सिके। सोभन्दा अगाडि संगीत नसिकेको उनले बताए ।

चितवनको क्याम्पा चौरको कन्सर्टपछि उनको मञ्च यात्राले उचाइ लियो । ‘दर्शकको संख्या ठूलो थियो। म नोटिसमा परें । अहिलेसम्म चितवनले धेरै माया गरेको छ,’ उनी भन्छन्, ‘६०-७० वटा कन्सर्ट देशभित्र र बाहिर गरेर गरेको छु ।’

फिदिममा समर्थकले घेरिएका देखिन्थे। सबैसँग सहज उपस्थिति दिन्छु, उनी भन्छन् ।

विवाह कहिले गर्ने? यो प्रश्नको उनको उत्तर थियो-

‘दाइ, काठमाडौंमा घर बनाएपछि मात्र विवाह गर्छु।’

लेखक
गिरिराज बाँस्कोटा

बाँस्कोटा अनलाइनखबरका पाँचथर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?