+
+
Shares

बसको डिकीमै निसासिएर मर्छन् कयौं खसीबोका, पशु सेवा विभागलाई छैन चासो 

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १ गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैं नजिकिँदै गर्दा खसीबोका ढुवानी बढे पनि बसको डिकीमा कोचेर लैजाँदा बर्सेनि पशु मर्ने घटना दोहोरिएको छ।
  • असार ३ गते गोरखाबाट काठमाडौं ल्याइएका १२ खसीमध्ये धार्के पुग्दा ९ वटा मरेका थिए भने असोज ३१ गते फूलपातीमा ४ खसी ल्याउँदा २ मरेका र २ घाइते भएका थिए।
  • पशु सेवा विभाग, स्थानीय तह, प्रहरी र सम्बन्धित निकायले पशु ढुवानीमा नियमित अनुगमन, जिम्मेवारी निर्धारण र कानुनअनुसार कारबाही गर्नुपर्ने लेखमा जोड दिइएको छ।

दशैं नजिकिएसँगै गाउँबाट सहरमा खसीबोका ल्याउने क्रम बढेको छ । तर, पर्याप्त हावा नछिर्ने बसका डिकीमा कोचेर गरिने ओसारपसारका कारण बर्सेनि कयौं पशुले ज्यान गुमाइरहेका छन् । पशु ढुवानीलाई व्यवस्थित र सुरक्षित बनाउने जिम्मेवारी पाएको सरकारी निकायको प्रभावकारी अनुगमन र कडा कारबाही खोइ ?

दशैंमा खसीबोकाको माग बढेसँगै गाउँबाट काठमाडौंलगायत सहरमा खसीबोका ल्याउने क्रम तीव्र हुन्छ । तर, चाडपर्वको यही चहलपहलभित्र एउटा गम्भीर र प्रायः बेवास्ता गरिने समस्या लुकेको छ-असुरक्षित ढुवानीका कारण पशुले भोग्नुपर्ने पीडा र अकाल मृत्यु ।

यसै वर्ष असार ३ गतेको घटना हो । काठमाडौंका एक मासु पसलेले गोरखाको मसेल, ताकुकोटबाट १२ वटा खसी काठमाडौं ल्याउनुपर्ने भयो । उनले बस चालकलाई खसीहरू काठमाडौं पुर्‍याइदिन आग्रह गरे । चालकले पनि खसी बोक्न मिल्ने व्यवस्था छ कि छैन, पर्याप्त हावा आवतजावत हुन्छ कि हुँदैन वा लामो यात्रामा तिनलाई कसरी सुरक्षित राख्ने भन्ने कुनै विचार नगरी सबै खसी बसको डिकीमा कोचे ।

प्रचण्ड गर्मीको दिन थियो । बस नियमित यात्रु सेवा सञ्चालन गरेझैं काठमाडौंका लागि अघि बढ्यो । यात्रुहरूलाई खाजा खुवाउन बाटोमा बस रोकियो । तर, डिकीभित्र कोचिएका खसीहरूको अवस्था कस्तो छ भनेर हेर्ने चासो कसैले देखाएन । न चालकले डिकी खोलेर तिनको अवस्था जाँचे, न त खसीका मालिकले नै ।

बस अगाडि बढिरह्यो। जब धार्के पुगेर खसीहरूलाई हेर्ने प्रयास गरियो, त्यतिबेलासम्म नौवटा खसी मरिसकेका थिए । बाँकी तीनवटा पनि जीवन र मृत्युको दोसाँधमा थिए ।

मृत खसीहरूलाई खाल्डो खनेर त्यहीं पुरियो । यस घटनामा मालिकलाई परेको आर्थिक क्षति आफ्नै ठाउँमा छ । तर, ती नौवटा खसीले अन्तिम सास फेर्नुअघि कति पीडा भोगे होलान् ? पर्याप्त हावा नपाएर, घण्टौंसम्म कोचिएर र निसासिएर मर्नुपर्दाको छटपटी कस्तो थियो होला? यसको हिसाब कसले राख्ने ?

फूलपातीको दिन फेरि उस्तै घटना

यस्तै अर्को पीडादायी घटना यस वर्ष असोज ३१ गते फूलपातीका दिन भयो ।

धादिङका झम्क थापाले आफू र आफ्ना आफन्तका लागि चारवटा खसी काठमाडौं ल्याउन खोजे । उनले बस चालकलाई खसी ल्याइदिन आग्रह गरे । चालकले चारवटै खसी बसको डिकीमा कोचे जहाँ यसअघि नै अरू खसीहरू पनि राखिएका थिए ।

बस नियमित रूपमा काठमाडौंका लागि अघि बढ्यो । तर, काठमाडौं आइपुगेपछि खसी निकाल्न खोज्दा उनका दुईवटा खसी डिकीभित्रै मरिसकेका थिए । बाँकी दुईवटाको खुट्टा भाँचिएको थियो र तिनीहरू उठ्नसमेत नसक्ने अवस्थामा थिए ।

आफ्ना खसीको त्यस्तो अवस्था देखेपछि झम्क थापा निकै मर्माहत भए। तर, उनको पीडा आर्थिक नोक्सानीमा मात्र सीमित थिएन ।

‘मलाई भएको घाटाभन्दा पनि ती खसीहरूले कति पीडा भोग्नुपर्‍यो होला भन्ने कुराले बढी दुःखी बनायो,’ उनको भनाइको आशय थियो ।

पशुपन्छीको ओसारपसारसम्बन्धी सरकारले कडा नियम बनाएर प्रभावकारी रूपमा लागू गरेको भए यस्ता अबोध पशुले यस्तो दुःख भोग्नुपर्ने थिएन कि ?

पशु ढुवानीमा नियमको प्रभावकारी कार्यान्वयन खोइ ?

दशैं तथा अन्य चाडपर्वका बेला गाउँबाट सहरमा खसीबोका ओसारपसार गर्ने क्रम तीव्र हुन्छ । तर, पशुलाई सुरक्षित ढंगले ओसारपसार गर्नेभन्दा पनि जसरी हुन्छ गन्तव्यमा पुर्‍याउने प्रवृत्ति देखिन्छ ।

पर्याप्त हावा नछिर्ने सवारीसाधनको डिकीमा खसीबोका कोच्ने, क्षमताभन्दा बढी पशु राख्ने, लामो यात्रामा तिनको अवस्था नजाँच्ने र घाइते वा बिरामी पशुलाई समेत बेवास्ता गर्ने व्यवहारले पशु कल्याणमाथि गम्भीर प्रश्न उठाएको छ ।

नेपालमा पशु कल्याण र ढुवानीसम्बन्धी व्यवस्था हुँदै नभएको होइन । तर, नियम हुनु र त्यसको प्रभावकारी कार्यान्वयन हुनु फरक कुरा हुन् । पशु सेवा विभाग, पशु क्वारेन्टाइन तथा अन्य सम्बन्धित निकायले ढुवानीका क्रममा पशुको सुरक्षा सुनिश्चित गर्न नियमित अनुगमन, जनचेतना र कानुनअनुसारको कारबाहीलाई प्राथमिकता दिन आवश्यक छ ।

पशुहरू बोल्न सक्दैनन् भन्दैमा तिनले पीडा महसुस गर्दैनन् भन्ने होइन । तिनको जीवन र कल्याणप्रति संवेदनशील हुनु मानवीय दायित्व हो ।

समाधान के  त?

चाडपर्वका बेला खसीबोकाको ओसारपसार अत्यधिक हुने गर्दछ। हरेक गाउँ र प्रत्येक मार्गमा दैनिक रूपमा छुट्टै पशुवाहक सवारीसाधन सञ्चालन गर्नु पनि व्यावहारिक नहुन सक्छ । तर, यसको अर्थ पशुलाई जथाभावी ओसारपसार गर्न छुट दिनुपर्छ भन्ने होइन ।

यस समस्याको समाधानका लागि केही व्यावहारिक उपाय अपनाउन सकिन्छ-

१. निश्चित दिनमा पशुवाहक सवारी सञ्चालन

दशैंजस्ता चाडपर्वका बेला खसीबोकाको चाप बढी हुने मार्ग पहिचान गरी निश्चित दिनमा पशुवाहक सवारीसाधन सञ्चालन गर्ने व्यवस्था गर्न सकिन्छ। सम्बन्धित गाउँका किसान तथा व्यापारीले त्यही दिन पशु ढुवानी गर्दा ओसारपसार व्यवस्थित बनाउन सहज हुन्छ ।

२. सुरक्षित ढुवानीका लागि छुट्टै व्यवस्था

बसको डिकी वा यात्रु बोक्ने अन्य असुरक्षित स्थानमा खसीबोका राखेर ढुवानी गर्न निरुत्साहित गर्नुपर्छ। पशु बोक्न उपयुक्त सवारीसाधन, पर्याप्त हावा आवतजावत हुने संरचना, उचित ठाउँ र सुरक्षित रूपमा पशु राख्ने व्यवस्था सुनिश्चित गरिनुपर्छ ।

३. चालक र व्यवसायीमाथि कडा कारबाही

पशु ढुवानीसम्बन्धी मापदण्ड उल्लंघन गर्ने चालक, सवारीधनी तथा जिम्मेवार व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही हुनुपर्छ । लापरबाहीका कारण पशु मरेको वा गम्भीर घाइते भएको अवस्थामा घटनाको छानबिन गरी जिम्मेवारी निर्धारण गर्नुपर्छ । कानुनी आधार र प्रमाणका आधारमा क्षतिपूर्तिको व्यवस्था पनि प्रभावकारी बनाउनुपर्छ ।

४. नियमित अनुगमन र जिम्मेवारी निर्धारण

पशु सेवा विभाग, स्थानीय तह, प्रहरी तथा सम्बन्धित निकायबीच समन्वय गरी चाडपर्वको समयमा मुख्य ढुवानी मार्गमा अनुगमन बढाउनुपर्छ । पशु ढुवानीसम्बन्धी मापदण्डबारे चालक, व्यापारी र किसानलाई जानकारी दिनु पनि उत्तिकै आवश्यक छ ।

५. पशु कल्याणलाई प्राथमिकतामा राख्ने

पशुलाई केवल किनबेच गरिने वस्तुका रूपमा मात्र हेर्नु हुँदैन। तिनलाई पीडा, चोटपटक र अनावश्यक तनावबाट जोगाउनु पनि ढुवानी व्यवस्थाको अनिवार्य हिस्सा हुनुपर्छ ।

एउटा पशु मर्दा मालिकलाई आर्थिक क्षति हुन्छ । तर, त्यो पशुले भोगेको पीडाको मूल्य पैसाले मात्र तिर्न सकिँदैन। पशु ढुवानीमा हुने लापरबाहीलाई सामान्य घटना मानेर छाड्ने हो भने यस्ता दुःखद घटना दोहोरिरहनेछन् ।

त्यसैले सम्बन्धित सरकारी निकायले पशु ढुवानीसम्बन्धी नियमको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन र दोषीमाथि कानुनअनुसारको कारबाही सुनिश्चित गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?