News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय रियालिटी शो ‘एमटीभी रोडिज रिबर्थ’को अडिसनमा नेपाली ट्रान्सजेन्डर महिला सरोसी न्यौपाने र प्रस्तिक थापा सहभागी भएका छन् ।
- सरोसीले आफू ट्रान्सजेन्डर महिला, दुई छोरीकी धर्मसन्तान आमा र विभिन्न पेशामा सक्रिय भएकी बताइन् ।
- प्रस्तिकले परिवारको दबाब, लैङ्गिक पहिचानका कारण भोगेको कठिनाइ र रोजगारीमा आएको समस्याबारे अडिसनमा सुनाइन् ।
काठमाडौं । ‘म गर्वका साथ ट्रान्सजेन्डर महिला हुँ । मेरा दुई छोरी छन् ।’
भारतको चर्चित रियालिटी शो ‘एमटीभी रोडिज रिबर्थ’को अडिसनमा २३ वर्षीया नेपाली सरोसी न्यौपानेले आफ्नो परिचय दिँदा निर्णायकहरू उनको जीवनबारे थप जान्न उत्सुक भए ।
‘तिमीसँग दुई छोरी छन् ?’ प्रस्तोता रणविजय सिंहाले सोधे ।
‘हजुर, धर्मसन्तानका रूपमा अपनाएका,’ सरोसीले जवाफ दिइन् ।
व्यावसायिक मोडल, कलाकार, कार्यक्रम प्रस्तोता र सामाजिक अभियन्ताका रूपमा आफ्नो परिचय दिएकी सरोसीले आफूलाई गर्वका साथ ट्रान्सजेन्डर महिलाका रूपमा चिनाइन् ।
उनले आफूले एउटा संस्था पनि सञ्चालन गरिरहेको र दुई छोरीलाई धर्मसन्तानका रूपमा अपनाएको बताइन् ।
सरोसीसँगै अर्का नेपाली सहभागी प्रस्तिक थापा पनि अडिसनमा पुगेका छन् । उनी पनि ट्रान्स महिला हुन । नेपालमा आफूलाई ‘प्रनिशा’ नामले चिन्ने गरेको उल्लेख गर्दै उनले ‘रोडिज’मा आउनुलाई आफ्नो जीवनको नयाँ सुरुवातका रूपमा प्रस्तुत गरिन ।
जुम्बा डान्स प्रशिक्षकसमेत रहेकी उनी क्वियर तथा एलजीबीटीआईक्यू समुदायका लागि काम गर्दै आएको बताए ।
आफ्नो क्षमता देखाउन आएको बताउने यी दुईको सम्बन्ध भने प्रतियोगितामा भेट भएको मात्र होइन ।
उनीहरू दस वर्षदेखि साथी हुन्। एउटै विद्यालयमा पढ्दादेखि सुरु भएको उनीहरूको मित्रता समयसँगै अझ गहिरिएको कुराकानीबाट सहजै अनुमान लगाउन सकिन्थ्यो ।
बाल्यकालदेखिको साथी भन्दै सुनाए अनुभव
अडिसनमा उनीहरूले आफ्नो मित्रताको सुरुवातबारे पनि सुनाए । सरोसीका अनुसार प्रस्तिक कक्षा ७ मा पढ्न उनीहरूको विद्यालयमा आएका थिए। दुवैको हाउभाउ र व्यवहारलाई लिएर अरूले जिस्क्याउने गर्थे। सरोसीले आफूजस्तै अनुभव भोगिरहेको साथीलाई भेटेपछि नजिकिएको बताइन् ।
प्रस्तिक राम्रो नाच्ने भएकाले सरोसीले उनीसँग नृत्य सिक्न चाहेकी थिइन्। त्यही चिनजानले उनीहरूलाई नजिक ल्यायो। समय बित्दै जाँदा उनीहरू साथी मात्र रहेनन्, एकअर्काको जीवनका कठिन क्षणमा साथ दिने व्यक्ति पनि बने।
कार्यक्रममा उनीहरूले विद्यालय र छात्रावासमा भोगेका अपमान तथा दुर्व्यवहारका अनुभव सुनाए। सरोसीले आफूहरूलाई लामो समयसम्म यौन दुर्व्यवहारसमेत सहनुपरेको बताइन्। ती अनुभव सम्झँदा उनीहरूको मित्रता सहज परिस्थितिमा मात्र बनेको सम्बन्ध नभएको स्पष्ट हुन्छ।
सरोसीले प्रस्तिकलाई आफ्नो नजिकको साथीका रूपमा मात्रै प्रस्तुत गरिनन्, उनको जीवनमा परिवारजस्तै साथ दिँदै आएको पनि बताइन्। प्रस्तिककी आमाको निधन भइसकेको र सरोसीले उनलाई जीवनका विभिन्न पक्षमा साथ दिँदै आएको प्रसंग पनि उनले सुनाइन्।
दस वर्ष लामो मित्रताको अर्थ उनीहरूका लागि एउटै मञ्चमा उभिनु मात्र होइन। एकअर्काको संघर्ष देख्नु, कठिन समयमा साथ दिनु र सपना पूरा गर्ने यात्रामा हौसला बन्नु पनि हो ।
पहिचान, परिवार र अवसरको संघर्ष
अडिसनमा प्रस्तिकले आफ्नो जीवनको अर्को कठिन पक्ष पनि सुनाए। परिवारबाट आएको दबाबका कारण आफूले आफ्नो लैङ्गिक पहिचानसँग जोडिएका कठिन निर्णयहरू लिनुपरेको उनले बताए । आफूलाई परिवारले स्वीकार गर्न सर्त राखेको र त्यसले जीवनमा ठूलो प्रभाव पारेको उनको भनाइ थियो।
उनले आफूले चाहेको रूपमा बाँच्न खोज्दा परिवार र समाजबाट सहज साथ नपाएको, काम खोज्दा पनि कठिनाइ भोगेको अनुभव सुनाए। आफू जुम्बा प्रशिक्षक भए पनि लैङ्गिक पहिचानका कारण रोजगारी पाउन समस्या भएको उनले बताए।
यी अनुभव सुनाउँदा अडिसनका निर्णायकहरूले उनको जीवनबारे थप प्रश्न गरे । प्रस्तिकले आफ्नो विगतका कठिनाइका बाबजुद अगाडि बढ्ने प्रयास गरिरहेको बताए। उनका लागि ‘रोडिज’मा आउनु आफ्नो क्षमता देखाउने अवसर मात्र नभई आफ्नो जीवन र अनुभव अरूसामु राख्ने माध्यम पनि बनेको छ।
सरोसीले पनि आफ्नो व्यावसायिक पहिचान र सामाजिक सक्रियताबारे खुलेर बताइन् । मोडलिङ, प्रस्तुति, मनोरञ्जन र सामाजिक अभियानमा सक्रिय उनी आफ्ना दुई छोरीको जिम्मेवारीसमेत सम्हालिरहेकी छन्।
दुवैको जीवनयात्रा एउटै छैन। तर आफ्नो परिचय, परिवार, काम र भविष्यसँग जोडिएका चुनौतीबीच अघि बढ्ने प्रयास उनीहरूको अनुभवमा जोडिन्छ।
‘रोडिज रिबर्थ’मा नेपालीको उपस्थिति
‘एमटीभी रोडिज रिबर्थ’ भारतीय रियालिटी शो ‘रोडिज’को २१औँ सिजन हो । सन् २०२६ अक्टोबर १६ देखि सुरु भएको यस सिजनमा रणविजय सिंहा प्रस्तोताका रूपमा छन्। ओजी समूहमा निखिल चिनापा, नेहा धुपिया र प्रिन्स नरुला छन् भने न्यूजी समूहमा अभिषेक मल्हान, बनी जे र बसीर अली छन्।
‘रोडिज’मा नेपालीको उपस्थिति भने नयाँ होइन । विधान श्रेष्ठ सन् २०१८ मा ‘रोडिज रियल हिरोज’मा सहभागी भएका थिए।
नेपालकै ‘हिमालय रोडिज’का उपविजेता गणेश चन्द ठकुरी (आर्विन) पनि यस सिजनमा सहभागी छन्।
यसपटक सरोसी न्यौपाने र प्रस्तिक थापाको अडिसनले नेपाली सहभागीका फरक अनुभवलाई भारतीय टेलिभिजनको मञ्चमा ल्याएको छ ।
प्रतिक्रिया 4