News Summary
Generated by OK AI. Editorially reviewed.- दीपाश्री निरौलाले फिल्म ‘पाँच पाण्डव’मा भीमकी श्रीमती ‘सितर्नी’को जुझारु र फाइटर टाइप भूमिकामा अभिनय गरेकी छिन्।
- उनले ‘पाँच पाण्डव’ नामले महाभारत र रामायण सम्झाएपछि फिल्ममा काम गर्ने निर्णय गरेको बताइन्।
- दीपाश्रीले आफ्नो पात्रले अन्यायको प्रतिकार गर्ने र श्रीमान्लाई सुरक्षा दिने भएकाले दर्शकलाई नयाँ अनुभव दिने उल्लेख गरिन्।
दीपाश्री निरौला को हुन् ? अहिले चिनाइरहनुपर्दैन । उनलाई चिनाउन एउटा विशेषण मात्र पनि काफी छैन । रेडियो, टेलिभिजन हुँदै सिल्भर स्क्रिनमा छाएकी उनी कलाकार मात्र होइनन्, निर्माता र निर्देशक पनि हुन् । ब्लकबस्टर फिल्मकी निर्देशक दीपा पछिल्लो समय भने कलाकारका रूपमा फिल्म ‘पाँच पाण्डव’मा भित्रिएकी छिन् ।
उनी भीमकी श्रीमतीको भूमिकामा छिन् । उनी एक लडाकु र जुझारु नारीका रूपमा यो सिनेमामा देखिनेछिन् । आफ्नो चरित्र श्रीमानको पनि रक्षा गर्ने खालको भएकाले दर्शकले आफूलाई मन पराउनेमा उनी ढुक्क छिन् । उनै दीपाश्रीसँग गरिएको छोटो कुराकानी ।
तपाईंको आफ्नै ब्यानर छ, जहाँबाट धमाधम फिल्म निर्माण गर्नुहुन्छ । फेरि किन ‘पाँच पाण्डव’मा खेल्ने जाँगर चल्यो ?
हामी महाभारत र रामायण हेरेर हुर्किएका मान्छे हौँ । फिल्मको नाम सुन्नासाथ बाल्यकालका ती दिनहरू पनि याद आए । त्यसैले ‘पाँच पाण्डव’ नामले नै मलाई आकर्षित गर्यो । त्यसैले मैले यो फिल्ममा काम गर्ने निर्णय गरेँ ।
ट्रेलर हेर्दा तपाईं जितु नेपालको श्रीमतीको भूमिकामा देखिनुभएको छ । कस्तो रह्यो त्यो स्क्रिनको अनुभव ?
मैले भीमकी श्रीमतीको भूमिका निर्वाह गरेकी छु । भीमको भूमिकामा जितु नेपाल हुनुहुन्छ । यसपटक मेरो चरित्र अलिक फरक छ । यो अलिकति फाइटर टाइपको भूमिका हो ।
हामी सबै मजदुर हुन्छौँ । मजदुरमाथि कसैले अन्याय गर्यो भने सबैभन्दा पहिले मेरा हातखुट्टा चल्छन् । यो चरित्र मलाई निकै रमाइलो लाग्यो ।
जितुलाई भीमका रूपमा प्रस्तुत गरिएको छ । तर, भीममा हुनुपर्ने शक्ति र पराक्रम सबै उनको श्रीमतीको चरित्रमा सरेको छ भन्ने खालको छ ।
‘पाँच पाण्डव’ भन्नेबित्तिकै महाभारतको प्रसंग जोडिएर आउँछ । धार्मिक पात्रसँग जोडिएर काम गर्दा कस्ता चुनौती महसुस गर्नुभयो ?
‘पाँच पाण्डव’को कुरा गर्दा पाण्डव र कौरवको प्रसंग आइहाल्छ । तर, मलाई धार्मिक पात्रकै रूपमा प्रस्तुत गरिएको छैन । म भीमकी श्रीमतीको भूमिकामा छु, जो निकै अब्बल र अन्याय सहन नसक्ने स्वभावकी छिन् । इँटाभट्टामा काम गर्दा कसैले आएर हस्तक्षेप गर्यो भने उनी तत्काल प्रतिकारमा उत्रिन्छिन् ।
म धार्मिक सिरियलहरू हेरेर हुर्किएकी हुँ । त्यसैले धार्मिक नामसँग जोडिएर काम गर्न पाउँदा खुसी लागेको छ ।
चुनौतीको कुरा गर्दा फिल्मको समग्र प्रस्तुतिलाई हेर्नुपर्छ जस्तो लाग्छ । कुनै एक पात्रका कारण मात्रै फिल्म राम्रो वा नराम्रो हुने होइन । फिल्मको समग्र पटकथा, संवाद, छायांकन, निर्देशनलगायत सबै पक्षले महत्त्व राख्छन् ।
आफ्नो चरित्रका हिसाबले भने यो भूमिका मेरा लागि चुनौतीपूर्ण छ । किनभने म विभिन्न प्रकारका चरित्र निर्वाह गर्दै आएकी छु । यसमा भने अलिकति फरक, जुझारु र फाइटर टाइपको भूमिका छ ।
तपाईंको उपस्थितिले दर्शकलाई कत्तिको आकर्षित गर्छ ?
मैले डबिङका क्रममा आफ्नो चरित्र हेरिसकेकी छु । मलाई लाग्छ, मेरो प्रवेश हुनेबित्तिकै दर्शकबाट सिठी, ताली र हुटिङ आउँछ । डबिङ गर्दा नै मलाई त्यस्तो महसुस भएको थियो । मेरो प्रवेश हुने दृश्यहरू निकै धमाकेदार छन् । ती दृश्यमा एकदमै जुझारु नारीको उपस्थिति महसुस हुन्छ ।
महिला पात्र यस्तो पनि हुन सक्छन्, यस्तो हुनुपर्छ भन्ने सोचसँग दर्शक जोडिनुहुन्छ भन्ने मलाई लाग्छ ।
यो फिल्म हेर्ने दर्शकले तपाईंबाट नयाँ कुरा के पाउँछन् ?
यस फिल्ममा म फाइटरको भूमिकामा छु भनेर मैले भनिसकेँ । कसैमाथि अन्याय वा अत्याचार भयो भने त्यसको प्रतिकार गर्न जुझारु भएर अघि सर्ने चरित्र हो मेरो । श्रीमान्लाई पनि सुरक्षा दिने र उनको पक्षमा उभिने भूमिका छ । मेरा लागि यो चरित्र नयाँ हो । अहिलेसम्म निर्वाह गरेका भूमिकाभन्दा अलिक फरक भएकाले पनि यसलाई नयाँ अनुभवका रूपमा लिएकी छु ।
मेरो चरित्रको नाम ‘सितर्नी’ हो । फिल्ममा अरूलाई गाली गर्दा पनि म ‘सितर्नी’ भनेर गाली गर्छु । मलाई लाग्छ, यो शब्द दर्शकको मुखमा झुण्डिनेछ ।
प्रतिक्रिया 4