+
+
Shares

उपल्लो डोल्पामा फसेका ६ भारतीय पर्यटकको उद्धारमा ढिलाइ

उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भए पनि नेपाली सेनाको हेलिकोप्टरमा प्राविधिक समस्या आएपछि ढिलाइ भएको हो।

हेमन्त केसी हेमन्त केसी
२०८३ कात्तिक १५ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारी हिमपातका कारण उपल्लो डोल्पाको शे-फोक्सुन्डो गाउँपालिका-८ दानिगढ क्षेत्रमा ६ जना भारतीय पर्यटक फसेका छन्।
  • उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गर्ने तयारी भए पनि प्राविधिक समस्या आएपछि उद्धारमा ढिलाइ भएको छ।
  • जिल्ला प्रशासन कार्यालयले मौमिता हल्दार, पियाली कोले, जजल त्रिवेद कुमार, आदित्य सिंह, दिपलीना बिस्वास र राजेश देको उद्धारका लागि अन्य हेलिकोप्टर खोजिरहेको छ।

१५ कात्तिक, सुर्खेत। भारी हिमपातका कारण उपल्लो डोल्पामा फसेका ६ जना भारतीय पर्यटकको उद्धारमा ढिलाइ भएको छ। उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भए पनि नेपाली सेनाको हेलिकोप्टरमा प्राविधिक समस्या आएपछि ढिलाइ भएको हो।

डोल्पामा रहेका २४४ जना पर्यटकमध्ये ६ जना भारतीय पर्यटक भारी हिमपातका कारण शे-फोक्सुन्डो गाउँपालिका-८ स्थित दानिगढ क्षेत्रमा फसेका छन्। दुई महिला र चार पुरुषसहित छ जना पर्यटकको उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले पहल गरिरहेको छ।

सुर्खेतस्थित नेपाली सेनाको हवाई बेसमा रहेको हेलिकोप्टरमा समस्या आएपछि तत्काल उद्धार गर्न कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बताइन्। अहिले अन्य हेलिकोप्टरको खोजी भइरहेको उनले जानकारी दिइन्।

उद्धारको पर्खाइमा रहेका भारतीय पर्यटकमा मौमिता हल्दार, पियाली कोले, जजल त्रिवेद कुमार, आदित्य सिंह, दिपलीना बिस्वास र राजेश दे रहेका छन्। जिल्ला प्रशासन कार्यालयलाई कात्तिक १४ गते उनीहरू हिमपातका कारण फसेको जानकारी प्राप्त भएको थियो।

उनीहरूको कात्तिक १५ गते हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको थियो। तर उद्धारका लागि आवश्यक हेलिकोप्टरमा प्राविधिक समस्या आएपछि वैकल्पिक हेलिकोप्टरको खोजी गर्नुपर्ने अवस्था आएको हो।

पर्यटन बढ्दै, उद्धारको पूर्वतयारी कमजोर

उपल्लो डोल्पा प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, बौद्ध संस्कृति र फोक्सुन्डो तालका कारण विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। पर्यटकको आगमन बढ्दै जाँदा उनीहरूको सुरक्षा र आपत्कालीन उद्धारको विषय पनि उत्तिकै महत्वपूर्ण बनेको छ।

डोल्पाजस्तो दुर्गम जिल्लामा सडक यातायातको पहुँच सीमित छ। उच्च हिमाली क्षेत्रमा मौसम अचानक परिवर्तन हुने र हिमपातका कारण पैदल मार्गसमेत अवरुद्ध हुने भएकाले आपत्कालीन अवस्थामा हेलिकोप्टर नै उद्धारको प्रमुख माध्यम बन्ने गरेको छ।

तर उद्धार गर्नुपर्ने अवस्थामा हेलिकोप्टर नै उपलब्ध नहुँदा पर्यटकको सुरक्षामा चुनौती देखिएको छ। एउटा हेलिकोप्टरमा प्राविधिक समस्या आउँदा वैकल्पिक व्यवस्था तत्काल गर्न नसक्नुले दुर्गम क्षेत्रको उद्धार प्रणालीमा पूर्वतयारी आवश्यक रहेको देखाउँछ।

पर्यटकको संख्या बढाउने लक्ष्यसँगै उनीहरूको सुरक्षाका लागि आवश्यक उद्धार संयन्त्र, हेलिकोप्टरको उपलब्धता र आपत्कालीन समन्वयलाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ। अहिले जिल्ला प्रशासन कार्यालयले छ जना भारतीय पर्यटकको उद्धारका लागि अन्य हेलिकोप्टरको खोजी गरिरहेको जनाएको छ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?