+
+
Shares

फलफूलमा अस्वाभाविक मूल्यवृद्धि, बजारमा व्यापारीको मनोमानी

नेपाल फलफूल थोक व्यवसायी संघ अध्यक्ष अमर बानियाँका अनुसार खुद्रा व्यापारीले २० देखि २५ प्रतिशतमात्र मार्जिन राखेर बेच्नुपर्ने भए पनि नियम नमान्दा खुद्रामा धेरै नै महँगो परेको हो ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ कात्तिक १५ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दसैं–तिहारमा चीन र भारतबाट आउने स्याउ, सुन्तला, अनारलगायत फलफूल ढुवानी भाडा र नाकाको अवरोधका कारण महँगिएको व्यापारीले बताएका छन् ।
  • कालीमाटीको तथ्यांकअनुसार गत वर्षको तुलनामा मौसम, अम्बा, सुन्तला, नास्पाती, फुजी स्याउ र भुइँकटहरको थोक मूल्य यस वर्ष उल्लेख्य बढेको छ ।
  • भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म स्याउ, सुन्तला, अनार, नास्पाती र अंगुरको आयात अर्बौं रुपैयाँ पुगेको छ, र असोजमा स्याउ आयात कीर्तिमान बनेको छ ।

१५ कात्तिक, काठमाडौं । कोटेश्वर बस्ने जुनु अधिकारी काम विशेषले नयाँ बानेश्वर आएकी थिइन् । बानेश्वरको एक फलफूल पसलमा राखिएको अनारमा उनको नजर पर्‍यो ।

अनार ताजा देखिएकाले उनलाई एक किलो किनौं न त भन्ने लाग्यो । तर, पसलेले उनलाई मूल्य सुनाएपछि एकछिन त उनी अक न बक्क परिन् ।

पसलेले उनलाई सुनाएको अनारको मूल्य थियोे- किलोको ५ सय ५० रुपैयाँ ।

‘ठूला दाना लैजाने भए एक किलोको ५ सय ५० रुपैयाँ पर्छ, अलि सानालाई ५ सय ३० रुपैयाँ,’ पसलेको भनाइ उद्धृत गर्दै उनले सुनाइन्, ‘महँगी पनि के–केमा पो सहनु ? केही पनि किनेर खान सक्ने अवस्था छैन ।’

केही समयअघि ३ सय ५० देखि ४ सय रुपैयाँमा पाइएको थियो भनेर पसलेलाई भन्दा उनले थोक व्यापारीले महँगोमा बेच्दा आफू पनि बाध्य भएको जवाफ पाइन् ।

त्यसपछि उनले आधा किलो अनारलाई २ सय ७५ रुपैयाँ तिरिन् ।

अनार मात्रै होइन, स्याउ, केरा, मेवा, अम्बा लगायत पलफूल पनि उपभोक्ताको पहुँचबाट बिस्तारै टाढिन थालेको र क्रय क्षमता प्रभावित हुँदै गएको गुनासो पनि नयाँ होइन ।

बानेश्वरका फलफूल व्यापारी शैलेस गुप्ताले पछिल्लो करिब २ महिनामा फलफूलको मूल्य छोइनसक्नु भएको बताए । उनले चाडबाडका समयमा फलफूल धेरै महँगो हुँदा उपभोक्ताले खासै किन्न नखोजेको सुनाए ।

‘अब अनारकै कुरा गर्नुहुन्छ भने एक कार्टुनलाई नै होलसेलमा ८ हजारदेखि ८ हजार ५ सय रुपैयाँसम्म हामीलाई पर्ने गरेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘घाटा खाएर बेच्न सकिँदैन, उपभोक्ता महँगो भनेर गुनासो गर्छन्, हामीलाई पनि त मर्का छ ।’

विशेषगरी दसैं र तिहारको समयमा नेपाली बजारमा स्याउ, अनार लगायत फलफूलको मूल्य अत्यधिक बढेको छ । बेमौसमी मात्र नभई मौसमी फलफूल समेत किनेर खान नसकिएको उपभोक्ता गुनासो छ ।

व्यापारीका अनुसार बजारमा धेरै खपत हुने स्याउको मूल्य बढ्नुमा आयात प्रक्रियाको झन्झट मुख्य कारण हो । चीनबाट आयात हुने स्याउको हकमा उत्तरी नाकाहरूमा हुने निरन्तरको अवरोध र प्रक्रियागत ढिलासुस्तीले गर्दा बजारमा समयमै स्याउ पुग्न सकेको छैन ।

अर्कातर्फ, मुस्ताङ र जुम्लामा यो वर्ष स्याउ उत्पादन राम्रो भए पनि चाडपर्व सुरु हुनसाथ वर्षा, बाढी र पहिरोका कारण अधिकांश राजमार्ग प्रभावित भए । त्यसले पनि फलफूल बजार ल्याउन नसकिएको र ल्याइएका पनि महँगो पर्न गएको व्यापारीले बताउँदै आएका छन् ।

व्यापारीका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको महँगो भएका कारण डलरमा भुक्तानी गरेर ल्याइने फलफूल खरिद लागत नै महँगो पर्न गएको छ ।

त्यसैगरी अनारको मूल्य अचाक्ली बढ्नुमा भने पूर्णतया स्रोत बजार (भारत) को अवस्था जिम्मेवार रहेको व्यवसायीको भनाइ छ । नेपालमा अनार मुख्यतया भारतबाट मात्र आयात हुन्छ । पछिल्लो समय भारतमै अनारको मूल्य उच्च विन्दुमा पुगेको छ ।

अहिले अनारको नयाँ उत्पादन बजारमा आइनसकेको (अफ–सिजन) र पुरानो स्टक लगभग सकिँदै गएकाले बजारमा अभाव सिर्जना भई थोक विन्दुमै अनार छोइनसक्नु भएको हो । नयाँ उत्पादन नभित्रिएसम्म यसको मूल्य नघट्ने व्यापारी बताउँछन् ।

दसैं, तिहार र छठजस्ता पर्वमा फलफूल माग वर्षकै सबैभन्दा उच्च हुन्छ । विशेषगरी चीनबाट आयात गर्दा ढुवानी भाडामा भएको अस्वाभाविक वृद्धि र चिनियाँ नाकामा देखिएको अवरोधका कारण बजारमा फलफूल महँगिएको नेपाल फलफूल थोक व्यवसायी संघ अध्यक्ष अमर बानियाँले बताए ।

ढुवानी खर्च चार गुणा वृद्धि

अध्यक्ष बानियाँका अनुसार अहिले चीनबाट फलफूल आयात गर्न सडक र समुद्री मार्ग दुवैतर्फ ढुवानी भाडा अत्यधिक बढेको छ ।

‘पहिले केरुङ वा तातोपानी नाकाबाट ५० हजारदेखि १ लाख रुपैयाँ भाडामा आउने गाडीलाई अहिले कोरला नाकाबाट ल्याउँदा ४ लाख रुपैयाँसम्म तिर्नुपरेको छ, यसले गर्दा ढुवानीमै प्रतिकिलो ४० रुपैयाँ लागत थपिएको छ,’ बानियाँले भने, ‘पानीजहाज (सिप) को बाटो मगाउँदा पहिले २५ सय डलर पर्ने एउटा कन्टेनरको भाडा अहिले ७५ सय डलर पुगेको छ, पानीजहाजबाट आउने सामान तीन गुणा र सडकमार्गबाट आउने सामान चार गुणासम्म महँगो भएको छ ।’

बाटोघाटोको समस्या, हिउँ पर्ने जोखिम र नाकाको अवरोधका कारण समयमै सामान आइपुग्ने ठेगान नहुँदा व्यापारीले ठूलो जोखिम मोल्नुपरेको उनी बताउँछन् ।

‘दसैंमा फलफूल ल्याउने सम्पूर्ण व्यवसायीले नोक्सानी बेहोरेका छन्, बाटोमा समयमै गाडी पास नहुने, पानी र हिउँ पर्नेजस्ता कारण कुहिएर फाल्नुपर्ने अवस्था आयो,’ बानियाँले भने, ‘अहिले एउटै कन्टेनरमा ५० लाखभन्दा बढीको लगानी हुन्छ, यस्तो जोखिमपूर्ण अवस्थामा सानो पूँजी भएका व्यापारीहरू त विस्थापित नै हुने अवस्था छ, उनीहरूले आँट गर्नै सकेका छैनन् ।’

चीनमात्र होइन, भारतबाट आयात हुने अनार र अम्बाजस्ता फलफूल पनि महँगिएका छन् । संघ अध्यक्ष बानियाँका अनुसार अनार भारतमै अभाव भएका कारण महँगो भएको हो । ‘भारतमै महँगो भएपछि यहाँ पनि महँगो पर्छ, त्यहाँ सस्तो भयो भने यहाँ सस्तो हुन्छ,’ उनले भने ।

त्यसैगरी भारतीय अम्बा (थाई भेराइटी) को थोक मूल्य १ सय ८० देखि २ सय रुपैयाँसम्म परेको छ भने खुद्रा बजारमा साढे ३ सय रुपैयाँसम्म पुगेको छ ।

सुन्तला भने नेपाली उत्पादन सुरु भइनसकेको र अहिले भारतीय सुन्तला थोकमा प्रतिकिलो १ सय २० रुपैयाँमा बिक्री भइरहेको उनले बताए । खुद्रामा किलोको न्यूनतम २ सयसम्म पर्ने गरेको छ ।

‘बार्गेनिङ गरेरमात्र किन्नुस्’

थोकबाट खुद्रा बजार पुग्दा फलफूलको मूल्यमा अस्वाभाविक नाफा राख्ने गरिएको भन्दै अध्यक्ष बानियाँले उपभोक्तालाई सचेत गराएका छन् ।

‘खुद्रा व्यापारीले २० देखि २५ प्रतिशतमात्र मार्जिन राखेर बेच्नुपर्ने हो, तर उनीहरूले त्यो नियम मानेका छैनन्, खुद्रामा धेरै नै महँगो छ,’ बानियाँले भने, ‘त्यसैले उपभोक्तालाई हाम्रो आग्रह छ– एकै ठाउँमा मात्र वा एकै पसलमा मात्र सामान नकिन्नुस्, बार्गेनिङ गर्नुस् ।’

एक वर्षमा कति बढ्यो मूल्य ?

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले पनि गत वर्षको तुलनामा यस वर्ष फलफूलको मूल्यमा अस्वाभाविक वृद्धि भएको पुष्टि गर्छ ।

समितिको गत वर्ष कात्तिक दोस्रो साता र यस वर्ष सोही अवधिको थोक मूल्य विवरण तुलना गर्दा यो वर्ष सबैभन्दा धेरै मौसम महँगिएको देखिन्छ ।

गत वर्ष प्रतिकिलो ९५ रुपैयाँ रहेको मौसमको औसत थोक मूल्य यस वर्ष करिब ८४ प्रतिशत (८० रुपैयाँ) बढेर १ सय ७५ रुपैयाँ पुगेको छ ।

त्यस्तै गत वर्ष १ सय ५ रुपैयाँ रहेको अम्बा यस वर्ष ६६ प्रतिशत बढेर १ सय ७५ र १ सय २५ मा पाइने भारतीय सुन्तला ४० प्रतिशत महँगिएर १ सय ७५ पुगेको छ ।

चाडपर्वमा धेरै खपत हुने चिनियाँ नास्पाती र फुजी स्याउको मूल्य पनि गत वर्षको तुलनामा क्रमश: ३२ र १४ प्रतिशत बढेको छ ।

गत वर्ष २ सय ७ रुपैयाँ ५० पैसा थोक मूल्य रहेको नास्पाती अहिले २ सय ७५ पुगेको छ भने २ सय ८५ रहेको फुजी स्याउ ३ सय २५ कायम भएको छ । यसका साथै भुइँकटहर पनि प्रतिगोटा २५ ले बढेर १ सय ५० बाट औसत १ सय ७५ रुपैयाँ पुगेको छ ।

बजारमा अभावका कारण अहिले अचाक्ली महँगो भनिएको अनारको आधिकारिक थोक औसत मूल्य भने स्थिर देखिन्छ । थोकमा अनारको प्रतिकिलो औसत मूल्य ३ सय २५ कायम छ । यद्यपि, खुद्रा व्यापारीले भने अनार थोकमै ४ सय रुपैयाँ प्रतिकिलो दाबी गर्दै आएका छन् ।

साउनदेखि असोजसम्म कुन महिना कुन देशबाट कति भित्रियो फलफूल ?

चालु आर्थिक वर्ष २०८३/८४ साउन, भदौ र असोजमा नेपालमा अर्बौं रुपैयाँ बराबरको ताजा फलफूल भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चाडपर्व नजिकिएसँगै स्याउ, सुन्तला, अनार, नास्पातीजस्ता फलफूल आयातमा प्रत्येक महिना उच्च वृद्धि भएको देखिन्छ ।

नेपालको आन्तरिक उत्पादनले बजार माग धान्न नसक्दा अर्बौं रुपैयाँ भारत, चीन तथा अफ्रिकी देशसम्म पुगेको छ ।

साउनमा चीनको स्याउ र इजिप्टको सुन्तलाको दबदबा

चालु आव पहिलो महिना साउनमा नेपालमा कुल ९० करोड १४ लाख ४८ हजार रुपैयाँ बराबरको ६२ लाख ५६ हजार ९ सय ४२ किलो स्याउ आयात भएको छ ।

यसमध्ये चीनबाट मात्रै ७७ करोड २८ लाख ८२ हजारको ४७ लाख ७ हजार २ सय ५७ किलो र भारतबाट १२ करोड ८५ लाख ६६ हजारको १५ लाख ४९ हजार ६ सय ८५ किलो स्याउ भित्रियो ।

यसै महिना कुल ४ करोड ९७ लाख ४७ हजारको ४ लाख १२ हजार २ सय २६ किलो सुन्तला भित्रिएकोमा इजिप्टबाट मात्रै सर्वाधिक ४ करोड ५५ लाख २२ हजार रुपैयाँको ३ लाख ४९ हजार ४ सय ४० किलो सुन्तला आयो । बाँकी ४२ लाख २५ हजारको ६२ हजार ७ सय ८६ किलो सुन्तला भारतबाट आएको थियो ।

यसैगरी साउनमा अनार, मेवा र खरबुजा पूर्णरूपमा भारतबाट मात्र भित्रियो । भारतबाट १६ करोड ३३ लाख ८३ हजारको १४ लाख १८ हजार ९ सय ६१ किलो अनार, ४ करोड ७३ लाख ६९ हजारको १४ लाख ७८ हजार ४ सय १३ किलो मेवा र ४ करोड ९९ लाख ५३ हजारको १९ लाख ५७ हजार ९ सय २६ किलो ताजा खरबुजा आयात भयो ।

नास्पाती र ताजा अंगुरमा भने चीनको वर्चस्व रह्यो । साउनमा कुल ५ करोड ९३ लाख ३० हजार रुपैयाँको ४ लाख ६५ हजार ६ सय ५३ किलो नास्पाती आएकोमा चीनबाट ५ करोड ९१ लाख ७७ हजारको ४ लाख ६२ हजार ३ सय १८ किलो र भारतबाट १ लाख ५३ हजारको ३ हजार ३ सय ३५ किलो भित्रियो ।

अंगुरतर्फ कुल ३ करोड ४० लाख ६२ हजार रुपैयाँको २ लाख २६ हजार ३ सय १८ किलो आयात हुँदा चीनबाट ३ करोड १९ लाख ३ हजारको २ लाख १ हजार ७ सय १३ किलो र भारतबाट २१ लाख ५८ हजार रुपैयाँको २४ हजार ६ सय ५ किलो आयात भएको तथ्यांक छ ।

भदौमा तिज नजिकिँदा स्याउ र अनार आयातमा उछाल, दक्षिण अफ्रिकाबाट सुन्तला

भदौ लाग्नासाथ चाडपर्वको प्रभाव बजारमा देखिन थाल्यो । यस महिना स्याउ आयात बढेर १ अर्ब ५ करोड ७८ लाख ७९ हजार रुपैयाँ बराबर ८६ लाख ४४ हजार ८ सय ८३ किलो पुग्यो ।

चीनबाट ६९ करोड ६२ लाख २ हजार रुपैयाँको ४२ लाख ६३ हजार ९ सय ६४ किलो र भारतबाट ३६ करोड १६ लाख ७७ हजारको ४३ लाख ८० हजार ९ सय १९ किलो स्याउ आयो । साउनमा इजिप्टबाट आएको सुन्तला भदौमा भने दक्षिण अफ्रिकाबाट आउन थाल्यो ।

भदौमा कुल ३ करोड ४० लाख १८ हजारको ३ लाख ६९ हजार ८ सय २२ किलो सुन्तला भित्रिएकोमा दक्षिण अफ्रिकाबाट १ करोड ५७ लाख ५३ हजारको ९६ हजार १ सय ५० किलो र भारतबाट १ करोड ८२ लाख ६४ हजारको २ लाख ७३ हजार ६ सय ७२ किलो भित्रियो ।

तिज र अन्य कारण भदौमा अनार आयात पनि ह्वात्तै बढ्यो । यस महिना भारतबाट मात्रै २७ करोड ६६ लाख ५० हजार बराबरको २४ लाख १४ हजार ३ सय ८४ किलो अनार भित्रियो ।

यस्तै भारतबाटै ४ करोड ६९ लाख २६ हजारको १४ लाख ११ हजार ४ सय ७३ किलो मेवा र ४ करोड ४७ लाख ३७ हजारको १७ लाख ५२ हजार ८३ किलो खरबुजा आयात भयो । भदौमा नास्पाती र अंगुर आयातमा पनि चीनकै दबदबा कायम रह्यो ।

कुल ३ करोड ९० लाख ११ हजारको ३ लाख २६ हजार ८६ किलो नास्पाती भित्रिँदा चीनबाट ३ करोड ८९ लाख ४४ हजारको ३ लाख २४ हजार ६ सय ३१ किलो र भारतबाट ६७ हजारको १ हजार ४ सय ५५ किलो आयो ।

त्यसैगरी २ करोड ४८ लाख ९० हजारको १ लाख ९४ हजार ९ सय १५ किलो अंगुर आयात हुँदा चीनबाट २ करोड १ लाख २७ हजारको १ लाख ३९ हजार ८ सय ४१ किलो र भारतबाट ४७ लाख ६४ हजारको ५५ हजार ७४ किलो भित्रिएको देखिन्छ ।

असोजमा कीर्तिमानी आयात, सुन्तलामा भारतको एकलौटी

असोजमा फलफूल आयातले कीर्तिमान नै कायम गर्‍यो । एकै महिना १ अर्ब ५७ करोड २५ लाख २९ हजार रुपैयाँ बराबर १ करोड २८ लाख ९८ हजार ९ सय ६५ किलो स्याउ नेपाल भित्रियो ।

यसमध्ये चीनबाट १ अर्ब ८ करोड ४० लाख २२ हजारको ७० लाख १९ हजार २ सय ३२ किलो र भारतबाट ४८ करोड ८५ लाख ७ हजारको ५८ लाख ७९ हजार ७ यस ३३ किलो स्याउ आयात भएको छ ।

यस्तै सुन्तला आयात पनि ह्वात्तै बढेर ८ करोड ८८ लाख ७२ हजार बराबर १३ लाख ४८ हजार २ सय ९१ किलो पुग्यो । अघिल्ला महिना अफ्रिकी देशबाट सुन्तला आएको भए पनि असोजमा भित्रिएको यो सम्पूर्ण सुन्तला भारतबाट मात्रै ल्याइएको हो ।

नास्पातीको आयात पनि अघिल्लो महिनाको तुलनामा झन्डै तेब्बर भयो । असोजमा कुल १३ करोड ६८ लाख ३ हजार रुपैयाँको १० लाख ८२ हजार ३ सय ७१ किलो नास्पाती भित्रियो, जसमा चीनबाट १३ करोड ६५ लाख ८४ हजारको १० लाख ७७ हजार ५ सय ४१ किलो र भारतबाट २ लाख १९ हजारको ४ हजार ८ सय ३० किलो आएको छ ।

अनार, मेवा र खरबुजा भने असोजमा पनि पूर्णरूपमा भारतबाटै भित्रिए । भारतबाट १५ करोड ५४ लाख १ हजारको १३ लाख ४६ हजार ३५ किलो अनार, २ करोड ९८ लाख ८५ हजारको ९ लाख १६ हजार ६ सय ४४ किलो मेवा र ३ करोड १६ लाख ३६ हजारको १२ लाख ३८ हजार ७ सय २९ किलो खरबुजा आयात भएको छ ।

यसैगरी असोजमा कुल ५ करोड ४२ लाख ८६ हजारको ३ लाख ९९ हजार ३ सय ८१ किलो अंगुर भित्रिएकोमा चीनबाट ४ करोड ९१ लाख ४८ हजारको ३ लाख ३९ हजार ३ सय १२ किलो र भारतबाट ५१ लाख ३८ हजारको ६० हजार ६९ किलो आयात भएको छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?