१६ कात्तिक, गुल्मी । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा गुल्मीमा व्यावसायिक रूपमा फूल खेती गर्दै आएका किसान वर्षातका कारण समस्यामा परेका छन् । तिहार तथा विभिन्न मेला महोत्सवलाई लक्षित गरी लगाइएको सयपत्री, मखमली लगायतका फूल वर्षात र हावाहुरीले क्षति पुर्याएपछि किसान चिन्तित बनेका हुन् ।
जिल्लाको रेसुङ्गा नगरपालिका–६ सिमाघाट र रेसुङ्गा नगरपालिका–३ बेहोरेमा व्यावसायिक रूपमा फूल खेती गर्दै आएका किसानको उत्पादनमा वर्षातले ठूलो क्षति पुर्याएको छ । पछिल्लो समय कृषिलाई मुख्य व्यवसाय बनाएर आत्मनिर्भर बन्ने प्रयासमा लागेका युवा किसानको फूल खेतीमा प्राकृतिक विपत्तिले असर गरेको हो ।
रेसुङ्गा नगरपालिका–६ सिमाघाटका किसान प्रेम नेपालीले करिब चार रोपनी खुला जमिनमा लगाएको फूल वर्षातका कारण ढलेर क्षती पुगेको छ । तिहारलाई लक्षित गरेर मेहनतका साथ हुर्काएका फूल पानीका कारण ढलेपछि अपेक्षित उत्पादन लिन नसकिने चिन्ता नेपालीलाई छ ।
अघिल्लो वर्ष राम्रो उत्पादन र बजार पाएका नेपालीले यस वर्ष पनि फूल खेतीबाट राम्रो आम्दानी गर्ने अपेक्षा गरेका थिए । तर बिक्री गर्ने समयमा परेको वर्षातले उनको योजनामा असर पुर्याएको छ ।
त्यस्तै रेसुङ्गा नगरपालिका–३ बेहोरेका किसान भबिन्द्र घर्तीमगरको फूल खेतीमा पनि वर्षात र हावाहुरीले क्षति पुर्याएको छ । उनले चारवटा टनेल निर्माण गरी व्यावसायिक रूपमा फूल खेती गर्दै आएका थिए ।
गत असोज महिनामा परेको वर्षातसँगै हावाहुरीसँगै आएको वर्षातका कारण टनेल नै ढलेपछि टनेलभित्र लगाइएका फूलमा क्षति पुगेको हो । टनेल भत्किएसँगै फूलका बिरुवा तथा उत्पादनमा समेत असर परेको किसान घर्तीमगरले भोग्नुपरेको छ ।
घर्तीमगरले यस वर्ष सयपत्रीसँगै मखमली फूलसमेत उत्पादन गरेका छन् । तिहारको समयमा सयपत्री र मखमली फूलको माग उच्च हुने भएकाले उनले बजारलाई लक्षित गरेर खेती विस्तार गरेका थिए ।

तर उत्पादनको महत्त्वपूर्ण समयमा आएको वर्षातले लगानी र मेहनत खेर जाने हो कि भन्ने चिन्ता बढाएको छ । अघिल्लो वर्ष राम्रो उत्पादन गरेका नेपाली र घर्तीमगर यस वर्ष भने मौसमको प्रतिकूलताका कारण निराश छन् ।
व्यावसायिक खेतीमा आकर्षित हुँदै गएका युवा किसानका लागि प्राकृतिक विपत्ति चुनौतीका रूपमा देखिएको छ । फूल खेतीमा बीउ, बिरुवा, मल, सिँचाइ, टनेल निर्माण तथा श्रममा लगानी गर्नुपर्ने भएकाले उत्पादनमा क्षति पुग्दा किसानलाई आर्थिक भारसमेत थपिने अवस्था छ ।
हाल गुल्मी जिल्लामा उत्पादित सयपत्री फूल प्रतिकिलो करिब ३५० रुपैयाँमा बिक्री भइरहेको कृषक भबिन्द घर्तीमगरले बताए । तिहार नजिकिँदै जाँदा फूलको माग अझै बढ्ने अपेक्षा गरिएको छ ।
तर वर्षातले उत्पादनमा क्षति पुर्याएपछि बजारको मागअनुसार फूल उपलब्ध गराउन कठिन हुने हो कि भन्ने चिन्ता किसानमा देखिएको छ ।पछिल्लो समय गुल्मी जिल्लाका ग्रामीण बस्तीमा व्यावसायिक रूपमा फूल खेती गर्ने किसानको संख्या बढ्दै गएको छ ।
नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरेर सयपत्री, मखमलीलगायत फूलको व्यावसायिक खेती गर्ने क्रम बढेको हो । पहिले गाउँघरमा घरवरपर फुलेका फूल मागेर माला बनाउने चलन थियो ।
तर पछिल्लो समय घरघरमा फूल रोप्ने चलन घट्दै जानु, बजारमा फूलको माग बढ्नु र स्थानीय तहले कृत्रिम फूलका माला प्रयोगमा निषेध गर्ने नीति अवलम्बन गर्न थालेपछि स्थानीय उत्पादनको सम्भावना बढेको छ । यसले गर्दा किसान फूल खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
थोरै जमिनबाट पनि राम्रो आम्दानी गर्न सकिने सम्भावना देखेपछि युवासमेत यस व्यवसायमा लागेका छन् । तिहारको समयमा मात्रै नभई विभिन्न मेला, महोत्सव, धार्मिक तथा सांस्कृतिक कार्यक्रम र अन्य उत्सवमा समेत फूलको माग हुने भएकाले यसलाई सम्भावनायुक्त कृषि व्यवसायका रूपमा लिन थालिएको छ ।
गुल्मी जिल्लामा करिब ३० जना किसान व्यावसायिक रूपमा फूल खेतीमा आबद्ध रहेको बताइएको छ । जिल्लाभर भने साना तथा ठूला गरी करिब एक सय जना किसान फूल खेतीमा संलग्न रहेको तथ्यांक छ ।
अघिल्ला वर्षहरूमा जिल्लामा करिब एक सय रोपनी क्षेत्रफलमा फूल खेती गरिएको पाइएको थियो । यसले जिल्लामा फूल खेतीप्रतिको आकर्षण र व्यावसायिक सम्भावना विस्तार हुँदै गएको देखाउँछ ।
तिहारको पाँचौँ दिन अर्थात् भाइटीकाका दिन दाजुभाइ तथा दिदीबहिनीले एकअर्कालाई सप्तरङ्गी टीका लगाउनुका साथै फूलका माला लगाइदिने परम्परा छ । विशेषगरी सयपत्री, मखमली र गोदावरीलगायत फूलको प्रयोग हुने भएकाले यस समयमा फूलको माग उच्च हुने गर्दछ ।
स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि तिहारका लागि बाहिरी जिल्लाबाट फूल तथा माला ल्याउनुपर्ने निर्भरता कम हुने अपेक्षा गरिएको छ । स्थानीय किसानले उत्पादन गरेको फूलले बजार पाउनुका साथै ग्रामीण क्षेत्रमा रोजगारी र आम्दानीको अवसरसमेत सिर्जना गरेको छ ।
प्रतिक्रिया 4