News Summary
Generated by OK AI. Editorially reviewed.- डेभिड वार्नरको आगमनपछि काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १० रनले हराउँदै नेपाल प्रिमियर लिगमा लगातार चौथो जित दर्ता गरेको छ।
- काठमान्डु पाँच खेलमा आठ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने चितवन पाँच खेलमा पाँच अंकसहित चौथो स्थानमा रहेको छ।
- काठमान्डुका टेक्निकल डाइरेक्टर शरद भेषावकरले वार्नरको अनुभव र सुझावले टोलीको खेल योजनामा ठूलो सहयोग पुगेको बताएका छन्।
२३ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका अनुभवी ब्याटर डेभिड वार्नरको आगमनपछि काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चार खेल जितेको छ। सिजनको पहिलो खेलमा पराजित भएको काठमान्डुले वार्नर टोलीमा जोडिएपछि जितको लय समातेको हो।
सोमबार बागमती डर्बीमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमान्डुले लगातार चौथो जित निकालेको छ। पाँच खेलबाट आठ अंक जोडेको काठमान्डु अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
वार्नरले काठमान्डुबाट खेलेको पहिलो खेलमा कर्णाली याक्स विरुद्ध १६ रन बनाएका थिए। तर दोस्रो खेलमा विराटनगर विरुद्ध अविजित ४४ रन बनाउँदै टोलीको जितमा योगदान दिए।
तेस्रो खेलमा वार्नरले शानदार ब्याटिङ गर्दै अर्धशतक नै प्रहार गरे । लुम्बिनी लायन्सविरुद्ध उनले बनाएको ६६ रन मद्दतमा प्रतिस्पर्धात्मक योगफल खडा गरेको काठमान्डुले लुम्बिनीलाई पहिलो हार चखाएको थियो ।
सोमबार चितवन राइनोज विरुद्धको खेलमा भने १ रन मात्र बनाउन सकेका वार्नरले फिल्डिङमा एक महत्त्वपूर्ण क्याच लिएका थिए। तर वार्नरको उपस्थिति काठमान्डुका लागि मैदानको प्रदर्शनमा मात्रै सीमित छैन ।
व्यक्तिगत प्रदर्शनमा उतारचढाव भए पनि उनको उपस्थिति र अनुभवले टोलीलाई सहयोग गरिरहेको काठमान्डुको बुझाइ छ।
लगातार चार जितपछि काठमान्डुको अब प्लेअफमा पनि लगभग स्थान पक्का हुने देखिएको छ । शीर्ष २ मै पर्ने किसिमको लय अहिले काठमान्डुले देखाएको छ ।

वार्नरको अनुभव र सुझावले काठमान्डुलाई फाइदा
काठमान्डुले पहिलो खेल हारेपछि वार्नर टोलीमा जोडिएका थिए। त्यसयता टोलीले खेलेका चारवटै खेल जितेको छ। वार्नरको भूमिका ब्याटिङमा रन बनाउनमा मात्र सीमित छैन। खेलका क्रममा उनले दिने सुझाव र रणनीतिक सल्लाह पनि काठमान्डुका लागि महत्त्वपूर्ण बनेको छ।
टोलीका टेक्निकल डाइरेक्टर शरद भेषावकरले वार्नरको अनुभवले खेल योजनामा सहयोग पुगेको बताए। उनका अनुसार वार्नरले बलिङ परिवर्तनदेखि मैदानको अवस्था बुझेर चाल्नुपर्ने कदमसम्म सुझाव दिने गरेका छन्।
‘पहिलो खेलमा हारपछि राम्रो कमब्याक गरेका छौँ। दोस्रो र आजको खेल कठिन देखिएको थियो। केही नराम्रो हुँदा पनि कभर अप भइरहेको छ। क्याच ड्रप हुँदा पनि जितिएको छ। नतिजाले नै देखाएको छ, वार्नर आएपछि चारवटै खेल जितेका छौँ,’ भेषावकरले भने।
उनले वार्नरले दिने साना सुझाव पनि खेलमा प्रभावकारी हुने गरेको बताए। ‘लुम्बिनीसँगको खेलको उदाहरण दिएर भन्नुपर्दा हाम्रो प्लानिङ स्पिनर लगाउने थियो तर वार्नरले पेसर लगाऊँ, स्विङ छ भन्नुभयो। त्यो काम पनि गर्यो। उहाँ आउट भएर आउँदा पनि के गर्ने भनेर सोचिरहनुहुन्थ्यो र भनिरहनुहुन्थ्यो,’ उनले भने।

वार्नरजस्तो अनुभवी खेलाडी आफ्नै टोलीमा हुनु ठूलो फाइदा भएको भेषावकरको भनाइ छ। ‘हामी लक्की थियौँ, उहाँ यहाँ आउनुभयो, विशेषगरी हाम्रै टिममा। उहाँजस्तो अनुभवी खेलाडी टिममा हुनु भनेको एकदम ठूलो प्लस पोइन्ट हो,’ उनले भने।
डेभिड वार्नर ४ खेलका लागि आएको बताइएको छ, उनले चार खेल खेलिसकेका छन् । उनी थप खेलका लागि बस्छन् वा बस्दैनन् त्यो यकिन भइसकेको छैन । ‘अब आज राति केही चेन्ज भएर उहाँ बस्छु भन्नुहुन्छ कि, वा प्लेअफ र फाइनलका लागि आउनुहुन्छ कि, त्यो स्योर छैन’ भेषावकरले भने ।
रासिदको अर्धशतक, करणको आक्रामक फिनिसिङ
चितवनविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले राशिद खानको अर्धशतकमा प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। रासिदले जारी सिजनकै एनपीएलमा दोस्रो अर्धशतक पूरा गरे। उनलाई सहान अराचिगेले राम्रो साथ दिए। आराचिगेले २० बलमा ३३ रन बनाए। उनले तीन चौका र दुई छक्का प्रहार गरे।
विलियम बोसिस्टोले २२ रन जोडेपछि अन्तिमतिर करण केसीले आक्रामक ब्याटिङ गरे। करणले सात बलमा तीन छक्कासहित अविजित २० रन बनाए। उनको आक्रामक ब्याटिङले काठमान्डुलाई अन्तिम ओभरमा थप रन जोड्न सहयोग गर्यो।

रासिदले आफ्नो ब्याटिङमा सुधार ल्याउन आधारभूत पक्षमा काम गरिरहेको बताए। टोलीले आफूलाई जुनसुकै क्रममा ब्याटिङ गराउन सक्ने र त्यसका लागि तयार रहेको उनको भनाइ थियो।
चितवनका दुई पेसर रिजन ढकाल र कमलसिंह ऐरीले आजपनि राम्रो प्रदर्शन गरे । रिजन ढकालले १४ रन खर्चेर तीन विकेट लिए भने कमलले । कमलसिंह ऐरीले २५ रन दिएर २ विकेट लिए ।
राम्रो सुरुवातपछि चितवनले गुमायो लय
लक्ष्य पछ्याएको चितवनले सुरुवातमा आक्रामक ब्याटिङ गरेको थियो। कमिल मिशाराले ११ बलमा २८ रन बनाए। उनले तीन छक्का प्रहार गरे। अर्जुन साउदले २१ बलमा २३ रन जोडेपछि चितवनले ६ ओभरमा दुई विकेट गुमाएर ५७ रन बनाएको थियो।
त्यसपछि डान मोस्ली र रवि बोपाराले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गर्दै चितवनलाई खेलमा फर्काउने प्रयास गरे। तर सहान आराचिगेले साझेदारी तोडेपछि चितवनले फेरि गति लिन सकेन। मोस्ली ३२ बलमा २९ रन बनाएर आउट भए।
अर्को छेउमा बोपाराले भने चितवनको जितको आशा कायम राखेका थिए। उनले ५५ रन बनाए। तर उनको इनिङ्समा चार पटक क्याच छुटेको थियो। जीवनदान पाएका बोपारा अन्तिम ओभरको दोस्रो बलमा आउट भए।

त्यसबेला चितवनलाई जितका लागि अन्तिम ओभरमा १८ रन आवश्यक थियो। बोपाराको विकेट गएपछि चितवनको जित कठिन बन्यो।
अन्तिम ओभरमा १८ रन जोगाउने जिम्मेवारी करण केसीले सम्हाले। उनले दोस्रो बलमै बोपारालाई आउट गरेपछि चितवनलाई दबाबमा राखे। चार पटक क्याच छुट्दा पनि चितवनलाई जितबाट रोक्न काठमान्डु सफल भयो।
काठमान्डुका करण केसीले स्थानीय खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए। उनले नेपाली खेलाडीमाथि कप्तानको विश्वास रहेको र उनीहरूले मैदानमा आफ्नो क्षमता प्रमाणित गरिरहेको उल्लेख गरे।
चितवनलाई प्लेअफ दौडमा दबाब
हारपछि पनि चितवन राइनोज ५ खेलमा ५ अंकसहित अंकतालिकाको चौथो स्थानमा कायम छ। तर प्लेअफमा पुग्ने लक्ष्य पूरा गर्न आगामी खेलहरू जित्नुपर्ने दबाब टोलीमाथि बढेको छ।
चितवनका रवि बोपाराले काठमान्डुविरुद्धको पिच आफूहरूले खेलेका खेलमध्ये सबैभन्दा राम्रो रहेको बताए। राम्रो सुरुवात गरे पनि बीचमा लय गुमाउँदा त्यसलाई पुनः समात्न नसकेको उनको भनाइ थियो।
‘सुरुवात राम्रो भए पनि बीचमा मोमेन्टम गुमायौं र रिकभर हुन सकेनौं। आगामी खेलहरू निकै महत्त्वपूर्ण छन्। प्लेअफमा छनोट हुने लक्ष्य राखेका छौं। त्यसका लागि जित आवश्यक छ,’ बोपाराले भने।
काठमान्डुका लागि भने वार्नरको आगमनपछि सुरु भएको जित यात्रा जारी छ। ब्याटिङमा उनको व्यक्तिगत योगदान हरेक खेलमा समान नभए पनि खेल बुझ्ने अनुभव र टोलीलाई दिने सुझाव काठमान्डुको प्रदर्शनमा जोडिएको महत्त्वपूर्ण पक्ष बनेको छ।
प्रतिक्रिया 4