+
एनपीएल २०२६ :

यस्तो छ एनपीएलका चार टोलीको प्लेअफ यात्रा

२०८३ कात्तिक  ३० गते १४:२१ २०८३ कात्तिक ३० गते १४:२१

सुदुरपश्चिम रोयल्सले तीनवटै संस्करणमा प्लेअफको यात्रा तय गर्दा लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले दोस्रोपटक प्लेअफ खेल्दै छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको प्लेअफ समीकरण पूरा हुँदा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोज अन्तिम चारमा पुगेका छन्।
  • लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहेर मंगलबार पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग खेल्नेछ, जसको विजेता सिधै फाइनल पुग्नेछ।
  • बुधबार हुने एलिमिनेटरमा काठमान्डु र चितवन भिड्नेछन्, र विजेताले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।

३० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको प्लेअफ समीकरण पूरा भइसकेको छ । साविक विजेता लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले फरक प्रदर्शन र उतारचढाव पार गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्।

लुम्बिनीले पाँच जित, एक हार र एक खेल रद्द हुँदा ११ अंक जोडेर शीर्ष स्थान हासिल गर्‍यो। सुदूरपश्चिम पाँच जित र दुई हारसहित १० अंक जोडेर दोस्रो भयो।

काठमान्डुले चार जित र तीन हारबाट आठ अंक जोड्दा चितवनले तीन जित, तीन हार र एक खेल रद्दबाट सात अंक बटुल्दै चौथो स्थानमा रहेर प्लेअफमा प्रवेश गर्‍यो।

चार टोलीको यात्रा, उनीहरूको प्रदर्शन र प्रमुख खेलाडीको योगदान पनि फरक रह्यो।

पहिलो सिजन एकमात्र जित निकाल्दै पुछारमा रहेको लुम्बिनीले दोस्रो सिजनमा उपाधि जितेको थियो भने त्यसपछि लगातार अर्को प्लेअफको यात्रा तय गरेको छ ।

यता सुदूरपश्चिम रोयल्स लगातार तीनवटै संस्करणमा प्लेअफ पुग्ने एकमात्र टोलीको रूपमा छ । काठमान्डु गोर्खाजले पहिलो सिजन प्लेअफ गुमाएपनि लगातार दुई संस्करणमा प्लेअफ खेल्न लागेको छ ।

पहिलो सिजन पनि प्लेअफमा पुगेर इलिमिनेटरमा पराजित भएको चितवन दोस्रो सिजनमा भने प्लेअफमा पुग्न सकेको थिएन। यसपटक विजोर अंकका साथ भाग्यको साथ पाएको चितवन प्लेअफमा फेरि पुगेको छ ।

अब पहिलो क्वालिफायरमा मंगलबार लुम्बिनी र सुदूरपश्चिम भिड्नेछन् भने बुधबार हुने एलिमिनेटरमा काठमान्डु र चितवन आमनेसामने हुनेछन्।

लुम्बिनी लायन्स : सुरुवातदेखि शीर्ष स्थानसम्म

साविक विजेता लुम्बिनी लायन्सले यसपटक पनि लिग चरणमा निरन्तर राम्रो प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गर्‍यो। पहिलो खेलमै सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको लुम्बिनीले त्यसपछि चितवन राइनोजसँगको खेल भने वर्षाका कारण रद्द हुँदा एक अंक बाँडेको थियो।

त्यसपछि पोखरा एभेन्जर्सलाई आठ विकेट र जनकपुर बोल्ट्सलाई १६ रनले हराएको लुम्बिनीले काठमान्डु गोर्खाजसँग ३४ रनको हार बेहोरेको थियो। तर त्यसपछि पुनरागमन गर्दै पोखरालाई आठ विकेट, कर्णाली याक्सलाई चार विकेट र विराटनगर किङ्सलाई चार विकेटले पराजित गर्‍यो।

यसरी पाँच जित, एक हार र एक रद्द खेलबाट ११ अंक जोडेको लुम्बिनीले शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान बनायो।

टोलीको सफलतामा विदेशी ब्याटर डार्सी सर्टको योगदान महत्त्वपूर्ण रह्यो। उनले छ खेलमा १४८ रन बनाउँदै टोलीका लागि सर्वाधिक रन जोडे। बलिङमा शेर मल्लले छ खेलमा नौ विकेट लिएर टोलीका सर्वाधिक विकेट लिने खेलाडी बने।

लुम्बिनीले अब पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराए सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित भए पनि टोलीसँग दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर हुनेछ।

सुदूरपश्चिम रोयल्स : पहिलो हारपछि लगातार जितको यात्रा

सुदूरपश्चिम रोयल्सले पहिलो खेलमै लुम्बिनी लायन्ससँग सात विकेटको हार बेहोरेको थियो। त्यसपछि पोखरा एभेन्जर्सलाई छ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको सुदूरपश्चिमले तेस्रो खेलमा विराटनगर किङ्ससँग पाँच ओभरको खेलमा ३५ रनको हार बेहोरेको थियो।

दुई हारपछि टोलीले उत्कृष्ट पुनरागमन गर्‍यो। चितवन राइनोजलाई पाँच विकेटले हराएको सुदूरपश्चिमले त्यसपछि कर्णाली याक्सलाई ३९ रन र जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गर्‍यो। अन्तिम खेलमा काठमान्डु गोर्खाजलाई सात रनले हराउँदै टोलीले लगातार चौथो जित निकाल्यो।

यसरी पाँच जित र दुई हारबाट १० अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा रह्यो। टोलीको ब्याटिङमा कप्तान दीपेन्द्रसिंह ऐरीले नेतृत्व गरे। उनले सात खेलमा १५० रन बनाउँदै टोलीका लागि सर्वाधिक रन जोडे। बलिङमा अनिल खरेलले सात खेलमा १० विकेट लिए।

सुरुवातमा दुई हार बेहोरे पनि त्यसपछि लगातार चार खेल जित्नु सुदूरपश्चिमको लिग चरणको मुख्य उपलब्धि रह्यो। अब टोलीले पहिलो क्वालिफायरमा लुम्बिनीको सामना गर्नेछ।

जिते सिधै फाइनल पुग्नेछ भने हारे दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।

काठमान्डु गोर्खाज : चार जितको लय, अन्तिममा लगातार हार

काठमान्डु गोर्खाजको लिग चरणको यात्रा उतारचढावपूर्ण रह्यो। पहिलो खेलमै जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको काठमान्डुले दोस्रो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराउँदै पहिलो जित निकालेको थियो। त्यसपछि चितवन राइनोजलाई १० रनले हराएको काठमान्डुले विराटनगर किङ्सलाई नौ विकेटले पराजित गर्‍यो।

लुम्बिनी लायन्सलाई ३४ रनले हराएपछि काठमान्डुले लगातार चार जित पूरा गरेको थियो। तर त्यसपछि सुदूरपश्चिमसँग सात रन र अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भयो।

लगातार दुई हारका कारण टोलीले शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायर खेल्ने अवसर गुमायो।

चार जित र तीन हारबाट आठ अंक जोडेको काठमान्डु तेस्रो स्थानमा रह्यो। टोलीका लागि राशिद खानले सात खेलमा १८६ रन बनाउँदै सर्वाधिक रनकर्ता बने। उनी प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष पाँचभित्र छन्।

बलिङमा जहानदाद खानले सात खेलमा १२ विकेट लिए। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा छन्।

वार्नरको आगमनपछि लगातार चार खेल जितेको काठमान्डुले अन्तिम दुई खेल गुमाए पनि प्लेअफमा स्थान बनाएको छ। अब बुधबार हुने एलिमिनेटरमा चितवनलाई हराउन सके टोलीले दोस्रो क्वालिफायर खेल्नेछ। पराजित भए प्रतियोगिताबाट बाहिरिनेछ।

चितवन राइनोज : अन्तिम खेलसम्मको प्रतिस्पर्धा

चितवन राइनोजले पनि उतारचढावपूर्ण प्रदर्शन गर्दै प्लेअफमा स्थान बनायो। पहिलो खेलमा विराटनगर किङ्सलाई आठ रनले हराएको चितवनको लुम्बिनी लायन्ससँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। त्यसपछि सुदूरपश्चिमसँग पाँच विकेटले पराजित भएको चितवनले पोखरा एभेन्जर्सलाई ३० रनले हराउँदै पुनरागमन गरेको थियो।

त्यसपछि जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गरेको चितवनले काठमान्डु गोर्खाजसँग १० रनको हार बेहोरेको थियो। लिग चरणको अन्तिम खेलमा कर्णाली याक्ससँग २४ रनले पराजित भएपनि त्यसअघि नै प्लेअफ यात्रा पक्का भइसकेको थियो।

तर तीन जित, तीन हार र एक रद्द खेलबाट सात अंक जोडेको टोली चौथो स्थानमा रहन सफल भयो।

चितवनको ब्याटिङमा रवि बोपाराले महत्त्वपूर्ण योगदान दिए। उनले पाँच खेलमा १८४ रन बनाउँदै टोलीका लागि सर्वाधिक रन जोडे। बलिङमा नेपाली खेलाडी कमलसिंह ऐरी र रिजन ढकालले समान १२ विकेट लिए। दुवै प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा छन्।

लिग चरणको अन्तिम खेलमा कर्णालीसँग पराजित भए पनि चितवनले चौथो स्थान कायम राख्यो। अब बुधबार एलिमिनेटरमा काठमान्डुसँग खेल्नेछ। उक्त खेल जिते दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ भने हारले टोलीको प्रतियोगिता यात्रा समाप्त हुनेछ।

***

एनपीएलको प्लेअफमा शीर्ष दुई टोलीले फाइनल पुग्न दुई अवसर पाउनेछन्। मंगलबार हुने पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ। त्यसको विजेता सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।

बुधबार हुने एलिमिनेटरमा काठमान्डु र चितवन भिड्नेछन्। यस खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ। दोस्रो क्वालिफायरको विजेता शनिबार हुने फाइनलमा पुग्नेछ।

दोस्रो संस्करणमा सुदूरपश्चिमलाई हराएर उपाधि जितेको लुम्बिनी लायन्सले यस संस्करणको पहिलो खेलमा पनि सुदूरपश्चिमलाई हराउँदै विजयी सुरुवात गरेको थियो । अब पहिलो क्वालिफायरमा पनि जित निकाल्दै ह्‍याट्रिक गर्ने अवसर छ ।

एनपीएल २०२६ नेपाल प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय