१ मंसिर, तेह्रथुम । पूर्वी पहाडी क्षेत्रको पर्यटकीय गन्तव्य गुफापोखरीमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चिसो मौसममा पनि घाम लागेर आकाश सफा भएपछि पोखरी अवलोकन, हिमाली दृश्य नियाल्न र प्राकृतिक सौन्दर्यमा रमाउन आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुग्न थालेका हुन् । पछिल्लो समय दैनिक एक हजारसम्म पर्यटक गुफापोखरी पुग्ने गरेको स्थानीय व्यवसायी बताउँछन् ।
तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगमस्थलमा रहेको गुफापोखरी समुद्री सतहबाट करिब २ हजार ८ सय ९० मिटर उचाइमा अवस्थित छ । प्राकृतिक सुन्दरता, चिसो हावापानी र मनोरम हिमाली दृश्यका कारण यो क्षेत्र पर्यटकको रोजाइमा पर्दै आएको छ ।
पहाडको काखमा रहेको पोखरी, वरिपरिका हरियाली डाँडा र शान्त वातावरणले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । मौसम खुलेका बेला यहाँबाट पूर्वी हिमाली क्षेत्रका कञ्चनजङ्घा, मकालु र आसपासका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । नजिकै रहेको मेन्छ्यायेम डाँडा सूर्याेदय र सूर्यास्त हेर्नका लागि पनि आकर्षक गन्तव्य मानिन्छ । मौसम सफा हुँदा हिमालको मनोरम दृश्य देखिने भएकाले पर्यटकको आगमन बढ्ने गरेको गुफा बजारकी हिमा खनालाले बताइन ।
गर्मी याममा तराईको गर्मी छल्न पर्यटकको बढी चहलपहल हुने गुफापोखरीमा विदेशी पर्यटकसमेत पुग्ने गरेका छन् । प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र स्थानीय रहनसहन बुझ्न चाहने पर्यटकका लागि यो क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । खनालका अनुसार यस वर्ष मात्रै अमेरिका, जर्मनी, क्यानडा, बेलायत, स्पेन र इटलीलगायत देशका पर्यटक गुफापोखरी आएका छन् । यस वर्ष विभिन्न देशबाट दुई सयभन्दा बढी विदेशी पर्यटक आएको उनको भनाइ छ ।


गुफापोखरीको आकर्षण पोखरीमा मात्र सीमित छैन । वसन्त ऋतुमा वरिपरिका वनपाखा लालीगुराँसले राताम्मे हुन्छन् भने हिउँदमा हिमपातले यहाँको वातावरण फरक बनाउँछ । हिमपात भएको समयमा आसपासका डाँडाकाँडा सेताम्मे बन्ने दृश्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ । मौसमअनुसार फेरिने प्राकृतिक स्वरूप र हिमाली दृश्य यहाँका प्रमुख पर्यटकीय आकर्षण हुन् ।
यद्यपि पर्यटकीय सम्भावना भए पनि यहाँसम्म पुग्ने सडकको अवस्था मुख्य चुनौतीका रूपमा रहेको छ । विशेषगरी वर्षायाम सुरु भएपछि सडक हिलाम्मे हुने र सवारीसाधन सञ्चालनमा कठिनाइ हुने गरेको छ । सडकमा सवारीसाधन चल्न नसक्दा पर्यटक आधा बाटोबाटै फर्कनुपर्ने बाध्यता रहेको टृटे बजारका श्री कार्की बताउँछन् । वर्षायाममा तराईबाट गुफापोखरी घुम्न आउने पर्यटकलाई समेत सडकको अवस्थाले समस्या पार्ने गरेको छ ।
गुफापोखरीसम्म पुग्ने सडक विस्तार तथा कालोपत्रे गर्न सके पर्यटकको आगमन अझ बढ्ने होटल व्यवसायीको अपेक्षा छ । सडक सहज भएमा पर्यटकलाई आवतजावतमा सुविधा पुग्नुका साथै होटल तथा अन्य स्थानीय व्यवसायको कारोबारसमेत बढ्ने कार्कीको भनाइ छ । पर्यटकको चापअनुसार व्यवस्थित आवास, सरसफाइ, खानेपानी, पर्यटक सूचना केन्द्र र प्रभावकारी प्रचारप्रसारको पनि आवश्यकता देखिन्छ ।

प्रतिक्रिया 4