+
+
Shares

१२ वर्षपछि ‘रोडिज’मा फर्किए रघु राम, कमब्याकसँगै बढ्यो शोको ‘टेम्प्रेचर’

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते ११:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रघु राम १२ वर्षपछि ‘रोडिज रिबर्थ’मा होस्टका रूपमा फर्किएका छन् र प्रतियोगीको ‘मृत्यु’ वा ‘पुनर्जन्म’ तय गर्ने विशेष अधिकार पाएका छन्।
  • रघु र राजीव रामले सन् २०१४ मा निर्माताको बढ्दो हस्तक्षेपका कारण ‘रोडिज’ छाडेका थिए।
  • नयाँ सिजनमा रन्नविजय सिंहाले नेतृत्व गरिरहेका छन् भने ६ ग्याङ लिडरलाई ‘ओजी’ र ‘न्युजी’ गरी दुई समूहमा बाँडिएको छ।

‘रोडिज’सँग रघु रामको सम्बन्ध पुरानो हो । एक दशकभन्दा बढी समय यो शोसँग जोडिएका उनी सन् २०१४ मा भने भाइ राजीव रामसँगै कार्यक्रमबाट बाहिरिएका थिए ।

निर्माताको हस्तक्षेप बढ्दै गएको भन्दै ‘रोडिज’ छाडेका रघु १२ वर्षपछि फेरि यही शोमा फर्किएका छन् । यसपटक उनी ‘रोडिज रिबर्थ’मा होस्टका रूपमा देखिँदैछन् ।

तर उनको भूमिका यसपटक प्रस्तोताको मात्रै छैन। रघुलाई प्रतियोगीको ‘मृत्यु’ वा ‘पुनर्जन्म’ तय गर्न सक्ने विशेष अधिकारसमेत दिइएको छ ।

फर्किएपछि रघुले आफ्नो आगमनलाई ‘रोडिज’कै नयाँ अध्यायसँग जोडेका छन् ।

‘रोडिज’ भारतको सबैभन्दा लामो समयदेखि चलिरहेको रियालिटी शो भएको बताउँदै उनले समयसँगै कार्यक्रमको स्वरूप पनि परिवर्तन हुँदै आएको बताए ।

‘पहिलो दशकमा शो एउटा निश्चित ढाँचामा चल्यो। त्यसपछि ग्याङ लिडरहरू आए र कार्यक्रम अझ लोकप्रिय बन्दै गयो। अब ‘रोडिज’ तेस्रो दशकमा प्रवेश गर्दैछ ।

त्यसैले, फेरि केही नयाँ र फरक गर्ने समय आएको छ,’ उनले भने ।

उनले आफ्नो पुनरागमनलाई भने अझै रोचक ढंगले व्याख्या गरेका छन्।

‘यो मेरो पुनर्जन्म हो। र, इमानदारीपूर्वक भन्नुपर्दा, ‘रोडिज’का लागि यो सबैभन्दा खराब खबर हो । किनकि, यो पुनर्जन्मको यात्रामा उनीहरूले नर्कभन्दा कम केही भोग्ने छैनन्,’ उनले भने ।

किन छाडेका थिए, रघुले ‘रोडिज’ ?

रघु र उनका भाइ राजीवले सन् २०१४ मा ‘रोडिज’ छाडेका थिए । त्यसको कारण थियो, कार्यक्रमको निर्माण पक्षबाट बढ्दो हस्तक्षेप ।

सन् २०२४ मा एक पोडकास्टमा रघुले आफूले ‘रोडिज’ छाड्नुको कारण खुलाएका थिए । उनका अनुसार कार्यक्रम ठूलो हुँदै जाँदा निर्माताको दबाब पनि बढ्दै गएको थियो ।

‘हामीलाई मानिसहरूमाथि चिच्याउन भनिन्थ्यो। उनीहरूको शैलीअनुसार चल्नुपर्थ्यो । सफल भएपछि आउने समस्या यही हो । तपाईं अब आफू रहनुहुन्न, तपाईं उनीहरूको हिस्सा बन्नुहुन्छ,’ उनले भनेका थिए।

रघुले अहिलेको ‘रोडिज’ आफूले बनाउन चाहेको कार्यक्रमजस्तो नभएको पनि बताएका थिए । तर, त्यसका लागि उनले निर्मातालाई गलत भनेका थिएनन् ।

उनका अनुसार कार्यक्रमले अहिले आफूले चाहेको स्वरूपमा राम्रो काम गरिरहेको छ । तर अरूले सफल बनाएको शैली पछ्याउनुभन्दा आफ्नै पहिचान बनाउनु अझ रोचक हुने उनको धारणा थियो ।

अब ‘रोडिज रिबर्थ’मा ६ ग्याङ लिडर

नयाँ सिजनमा रन्नविजय सिंहाले कार्यक्रमको नेतृत्व गरिरहेका छन् । कार्यक्रममा ६ जना ग्याङ लिडर छन्, जसलाई ‘ओजी’ र ‘न्युजी’ गरी दुई समूहमा बाँडिएको छ।

‘ओजी’ समूहमा निखिल चिनापा, नेहा धुपिया र प्रिन्स नरुला छन् भने ‘न्युजी’ समूहमा अभिषेक मल्हान, बानी जे र बासिर अली छन् ।

रोडिजकै प्रतियोगीका रूपमा यात्रा सुरु गरेकी बानी जे अहिले ग्याङ लिडर बनेकी छिन्। उनले पनि समयसँगै शोमा आएको परिवर्तनबारे अनुभव सुनाएकी छिन् ।

उनका अनुसार अहिलेका प्रतियोगीहरू पहिलेभन्दा निकै फरक र सक्षम छन् । उनीहरू शिक्षित मात्र नभई आफ्नै करियरमा पनि स्थापित रहेको बानीले बताएकी छिन् ।

उनले नयाँ सिजनमा चिकित्सकदेखि ओलम्पिक खेलाडीसम्मका प्रतियोगी देखेर आफू प्रभावित भएको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?