News Summary
Generated by OK AI. Editorially reviewed.- ‘द भ्वाइस अफ नेपाल’ सिजन ८ को ब्याटल चरण यसै सातादेखि सुरु भएको छ, जहाँ ६४ प्रतिस्पर्धी एकअर्कासँग भिड्नेछन् ।
- निर्देशक लक्ष्मण पौडेलका अनुसार चारै कोचले ब्लाइन्ड अडिसनबाट टिममा १६–१६ जना छनोट गरेका छन् ।
- ब्याटल कुल आठ एपिसोड चल्नेछ र प्रत्येक टिमबाट १० जना प्रतिस्पर्धी नकआउट राउण्डमा पुग्नेछन् ।
काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ८ को ‘द ब्याटल्स’ को प्रसारण यसै सातादेखि सुरु भएको छ । ब्लाइन्ड अडिसनबाट छानिएका ६४ जना प्रतिस्पर्धी अब एकअर्कासँग सांगीतिक भिडन्तमा उत्रिनेछन् ।
ब्याटलसँगै प्रतिस्पर्धीका लागि नकआउट चरणसम्म पुग्ने चुनौती पनि थपिनेछ ।
भनिहालौ, यो सिजनमा गायक प्रमोद खरेल, गायिका मिलन नेवार, एकदेव लिम्बु र नरेन लिम्बु कोचका रूपमा छन् ।
प्रमोद र मिलन यसअघि पनि कार्यक्रममा कोचको भूमिकामा देखिइसकेका अनुभवी अनुहार हुन् भने एकदेव र नरेन यसपटक नयाँ कोचका रूपमा जोडिएका छन् ।
युवापुस्तामाझ लोकप्रिय यी दुई नयाँ कोचको आगमनलाई यस सिजनको एउटा आकर्षणका रूपमा हेरिएको छ ।
कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलका अनुसार ब्लाइन्ड अडिसनबाट चारै जना कोचले आफ्नो टिममा १६–१६ जना प्रतिस्पर्धी छनोट गरेका छन् ।
यसरी चारवटा टिममा गरी ६४ जना प्रतिस्पर्धी ब्याटलका लागि तयार भएका हुन् ।
ब्याटल कुल आठ एपिसोडसम्म प्रसारण हुनेछ । यस चरणमा प्रत्येक कोचले आफ्नो टिमका १६ जनामध्ये आधा अर्थात् आठ जनालाई मात्र सिधै अर्को चरणमा लैजान पाउनेछन् ।
एउटै टिमका प्रतिस्पर्धीले आपसमा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले कोचका लागि पनि उत्कृष्ट प्रतिभा छनोट गर्नु चुनौतीपूर्ण हुनेछ ।
तर, ब्याटलमा पराजित हुँदैमा प्रतिस्पर्धीको यात्रा समाप्त भने हुनेछैन । प्रत्येक कोचले आफ्नो टिमबाट एक जना प्रतिस्पर्धीलाई सेभ गरेर अघि बढाउन पाउनेछन् ।
त्यस्तै, अर्को टिमका कोचले आफूलाई मन परेको प्रतिस्पर्धीलाई स्टिल गरेर आफ्नो टिममा समावेश गर्न सक्नेछन् ।
यसरी प्रत्येक टिमबाट आठ जना सिधै छनोट हुनेछन् भने एक जना सेभ र अर्को टिमबाट एक जना स्टिल भएर आउनेछन् । त्यसपछि प्रत्येक कोचको टिममा १० जना प्रतिस्पर्धी रहनेछन् ।
चारवटै टिमबाट गरी कुल ४० जना प्रतिस्पर्धी नकआउट राउण्डमा प्रवेश गर्ने निर्देशक पौडेलले जानकारी दिए । यस सिजनमा कुल ३२ एपिसोड प्रसारण हुनेछन् ।
हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टेलिभिजन र कार्यक्रमको आधिकारिक युट्युब च्यानलबाट प्रसारण हुँदै आएको शोमा यसपटक विजेता प्रतिस्पर्धीले मौलिक गीत र म्युजिक भिडियो बनाउने अवसरसमेत पाउनेछन् ।
ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल भएका प्रतिस्पर्धीमध्ये अब कसले आफ्नो गायन क्षमताले कोचलाई प्रभावित पार्छन् र कसले नकआउटसम्मको यात्रा तय गर्छन् भन्ने चासो बढेको छ ।
ब्याटल राउण्डमा प्रतिस्पर्धीको गायनसँगै कोचहरूको निर्णय र रणनीति पनि उत्तिकै महत्त्वपूर्ण हुने देखिन्छ ।
प्रतिक्रिया 4