News Summary
Generated by OK AI. Editorially reviewed.- सलमान खानको आगामी फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पिस’ को छायांकन १४ हजार फिट उचाइमा वास्तविक स्थानमै गरिएको छ।
सलमान खानको आगामी फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पिस’ को छायांकन निकै कठिन परिस्थितिमा गरिएको थियो । फिल्मका निर्देशक अपूर्व लाखियाले हालै छायांकनका क्रममा भोग्नुपरेका कठिनाइबारे अनुभव सुनाएका छन् ।
सीमामा खटिएका सैनिकको वास्तविक संघर्ष पर्दामा उतार्न निर्माण पक्षले स्टुडियोमा कृत्रिम सेट बनाउनुको सट्टा १४ हजार फिट उचाइमा पुगेर वास्तविक स्थानमै छायांकन गरेको थियो । ती दुर्गम पहाडी क्षेत्रमा तापक्रम माइनस ४० डिग्री सेल्सियससम्म झर्ने गर्छ ।
माइनस ७ डिग्री तापक्रम र वर्षाबीच छायांकन
मनी कन्ट्रोलको रिपोर्टअनुसार निर्देशक अपूर्व लाखियाले छायांकनको सबैभन्दा कठिन दिन सम्झँदै फिल्मको एउटा दृश्य नदीको किनारमा खिचिएको बताए । सलमान खान छायांकनस्थल पुगेको पहिलो दिन नै पूरै टोलीले काम सुरु गरेको थियो । त्यसबेला तापक्रम माइनस ७ डिग्री सेल्सियस थियो भने वर्षासमेत भइरहेको थियो । यस्तो प्रतिकूल मौसममा सैनिकहरू अग्लो पहाडी भिरालो बाटोमा दौडिरहेको दृश्य खिच्नुपर्ने थियो ।
अतिरिक्त अक्सिजनबिना सलमानको तीन टेक
निर्देशक लाखियाले सलमान खानको कामप्रतिको समर्पणको प्रशंसा गरेका छन् । उनका अनुसार सलमान एक दिनअघि मात्रै त्यहाँ पुगेका थिए । पहाडी वातावरणमा शरीरलाई अभ्यस्त बनाउन आराम गर्नुपर्ने भए पनि उनले सीधै छायांकनस्थल जाने निर्णय गरेका थिए ।
लाखियाका अनुसार कठ्याङ्ग्रिने चिसोमा सलमानले उकालो र ओरालो दौडिने दृश्यका लागि तीनपटक टेक दिएका थिए । उनले कुनै गुनासो नगरी अतिरिक्त अक्सिजनको सहाराबिनै उक्त दृश्य छायांकन गराएका थिए ।
स्टुडियो छाडेर हिउँ जम्ने नदीको किनारमा पुग्यो फिल्म युनिट
फिल्मलाई भव्य र वास्तविक बनाउन निर्माण पक्षले कृत्रिम सेटको प्रयोग गरेन । छायांकनका लागि पूरै टोलीलाई अग्ला पहाडी उपत्यका र हिउँ जम्ने नदीका किनारमा पुर्याइएको थियो ।
सीमामा खटिएका सैनिकले भोग्ने वास्तविक कठिनाइ र उनीहरूको साहसलाई पर्दामा उतार्नु यसको मुख्य उद्देश्य थियो । प्रतिकूल मौसम र कम अक्सिजनको अवस्थाका बाबजुद फिल्मको छायांकन तालिका पूरा गरिएको निर्देशकले बताएका छन् ।
चित्रांगदा पनि मुख्य भूमिकामा
‘मातृभूमि : मे वार रेस्ट इन पिस’को निर्देशन अपूर्व लाखियाले गरेका हुन् । सलमान खान फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यो युद्धप्रधान चलचित्रमा सलमान खानसँगै अभिनेत्री चित्रांगदा सिंह पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछिन् ।
यो फिल्म आगामी डिसेम्बर ४ मा हलमा प्रदर्शन हुनेछ ।
प्रतिक्रिया 4