News Summary
Generated by OK AI. Editorially reviewed.- सल्यानको श्रीनगरस्थित मरिचमान चोकमा नेपालका २७औँ तथा पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको शालिक स्थापना गरिएको छ।
- सल्यान दृष्टिकोणको कुपिण्डे सम्मेलनले २०७९ सालमा चोकको नामकरण र सम्मानको प्रस्ताव अघि सारेपछि अस्थायी संरचना बनेको थियो।
- मरिचमानको जन्म सल्यान खलङ्गामा भएको थियो, उनी प्रधानाध्यापकदेखि प्रधानमन्त्री बनेका थिए, र २०७० साउन ३० गते नर्भिक अस्पतालमा निधन भएको थियो।
३ मंसिर, सल्यान । नेपालका २७औँ तथा पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको शालिक स्थापना गर्ने सल्यानी युवाहरूको लामो समयदेखिको सपना पूरा भएको छ । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरस्थित मरिचमान चोकमा उनको शालिक निर्माण भएसँगै जिल्लावासीमा उत्साह छाएको छ ।
शालिक निर्माणको पहल २०७९ सालमा सुरु भएको थियो । ‘सल्यान दृष्टिकोण’ले आयोजना गरेको सल्यानी युवाहरूको कुपिण्डे सम्मेलनले २२ बुँदे घोषणापत्र जारी गर्दै मरिचमान सिंह श्रेष्ठको सम्मान र सम्झनामा चोकको नामकरण गर्ने प्रस्ताव अघि सारेको थियो ।
सोही घोषणाअनुसार २०८० वैशाख ३ गते समृद्धि सल्यान निर्माण अभियानका संयोजक ध्रुवराज वलीको नेतृत्वमा श्रीनगरबाट सल्यान खलङ्गा र रुकुम छुट्टिने मुख्य बिन्दुलाई ‘मरिचमान चोक’ नामकरण गरी अस्थायी संरचना निर्माण गरिएको थियो । त्यसबेला सुरु भएको सम्मानको अभियानले अहिले शालिक स्थापनासँगै मूर्तरूप पाएको छ ।
मरिचमान सिंह श्रेष्ठ फाउन्डेसन र ‘सल्यानी युवाहरू’को अगुवाइमा स्थानीय युवा तथा नागरिकको सहयोगबाट शालिक निर्माण गरिएको हो ।
श्रीनगरमा ठडिएको यो शालिक एउटा मूर्ति मात्र होइन, सल्यानमा जन्मिएर देशको प्रधानमन्त्रीसम्म बनेका व्यक्तित्वको सम्झना र योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास पनि हो ।
शिक्षकदेखि प्रधानमन्त्रीसम्मको यात्रा
मरिचमान सिंह श्रेष्ठको जन्म १९९७ कात्तिक १७ गते सल्यान खलङ्गा बजारको एक सामान्य नेवार परिवारमा भएको थियो । राजनीतिमा प्रवेश गर्नुअघि उनी सल्यान सदरमुकामस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए ।
शिक्षण पेसाबाट सार्वजनिक जीवनमा प्रवेश गरेका उनी खलङ्गा गाउँ पञ्चायतको प्रधानपञ्च बने । त्यसपछि २०३० सालमा ३३ वर्षको उमेरमै सल्यानबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भए ।
त्यसपछि उनले सहायकमन्त्री, शिक्षामन्त्री र राष्ट्रिय पञ्चायतको अध्यक्षजस्ता महत्त्वपूर्ण जिम्मेवारी सम्हाले । यही राजनीतिक यात्राका क्रममा २०४३ जेठ ३१ गते राजा वीरेन्द्रले उनलाई नेपालको प्रधानमन्त्री नियुक्त गरे ।
सल्यानको सामान्य परिवारमा जन्मिएका एक शिक्षक देशको कार्यकारी प्रमुख बन्नु उनका लागि मात्र नभई जिल्लाकै लागि गौरवको विषय बन्यो ।
नाकाबन्दीमा अडानका कारण चर्चामा

प्रधानमन्त्री बनेपछि मरिचमानको कार्यकालमा नेपालले २०४५ सालमा भारतको कडा आर्थिक नाकाबन्दी सामना गर्नुपर्यो । नेपाल–भारत सम्बन्धमा तनाव बढेपछि भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो ।
नाकाबन्दीका कारण देशभर पेट्रोलियम पदार्थ, नुन, औषधिलगायत अत्यावश्यक वस्तुको अभाव भयो । दैनिक जनजीवन प्रभावित भयो । यस्तो कठिन परिस्थितिमा मरिचमान नेतृत्वको सरकारले चीनबाट इन्धनलगायत अत्यावश्यक सामग्री ल्याउने प्रयास गरेको थियो ।
नाकाबन्दीको समयमा उनले लिएको अडानका कारण उनी राष्ट्रवादी नेताका रूपमा चर्चित बने । राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताका विषयमा सम्झौता नगर्ने उनको छविले उनलाई समर्थकहरूबीच लोकप्रिय बनाएको थियो ।
सत्तापछि सामान्य जीवन
२०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्थाको अन्त्य गरेपछि मरिचमानको प्रधानमन्त्री पद पनि गुम्यो । २०४६ चैत २३ गते राजा वीरेन्द्रले उनलाई पदमुक्त गरेका थिए । पञ्चायती व्यवस्थाप्रति उनको समर्थन र आन्दोलन दबाउन सरकारले चालेका कदमका कारण उनी आलोचनाको घेरामा पनि परेका थिए ।
प्रधानमन्त्रीबाट हटेपछि भने उनले सक्रिय राजनीतिबाट दूरी बनाए । काठमाडौंको धापासीस्थित घरमा सामान्य जीवन बिताउन थाले । कृषि तथा पशुपालनमा समय बिताएका उनी गाईवस्तु र कुखुराको हेरचाहमा समेत संलग्न हुन्थे ।
कुनै समय देशको कार्यकारी प्रमुख रहेका मरिचमानले जीवनको उत्तरार्धमा आर्थिक कठिनाइसमेत भोग्नुपरेको थियो । फोक्सोको क्यान्सरबाट पीडित उनको उपचारका क्रममा २०७० साउन ३० गते काठमाडौंको नर्भिक अस्पतालमा ७१ वर्षको उमेरमा निधन भयो ।
उनको राजनीतिक जीवनका विभिन्न पक्षबारे फरक–फरक मूल्याङ्कन भए पनि २०४५ सालको नाकाबन्दीका बेला उनले लिएको अडान र सामान्य जीवनशैली अहिले पनि चर्चाको विषय बन्ने गरेको छ ।
आज श्रीनगरमा स्थापना भएको शालिकले मरिचमानको जीवन, राजनीतिक यात्रा र योगदानलाई स्मरण गराउनेछ । सल्यानी युवाहरूको पहलमा निर्माण भएको यस शालिकले जिल्लाको इतिहाससँग नयाँ पुस्तालाई जोड्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4