+
+
Shares
पौराणिक पात्र :

रावणकी पत्नी मन्दोदरी : सुन्दर, सौम्य र विवेकी

रामायणमा रावणको नाम विशाल छ । सीताको महिमा छ । रामको विजय छ । तर, यी सबैको बीचमा उभिएकी मन्दोदरीको कथा पनि कुनै बलियो नायकको कथाभन्दा कम छैन ।

मनिषा थापा मनिषा थापा
२०८३ मंसिर ३ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘रामायण’ फिल्ममा रणवीर कपुर राम र यश रावण बनेपछि मन्दोदरीको पात्रबारे चर्चा बढेको छ ।
  • वाल्मीकि रामायणअनुसार मन्दोदरी मय दानव र हेमाकी छोरी थिइन्, र उनले रावणलाई गलत बाटोबाट रोक्न प्रयास गरिन् ।
  • सीता हरणपछि मन्दोदरीले रावणलाई सीतालाई मार्नबाट रोकेर विनाशको बाटो नजान सम्झाएको कथन विभिन्न रामायणमा पाइन्छ ।

अहिले ‘रामायण’ फिल्मको चर्चा चुलिएको छ । पर्दामा राम बनेका छन्, रणवीर कपुर ।

बलिउडका सुपरस्टार रणवीरको नाम मात्रै काफी छ, फिल्मप्रति दर्शकको चासो बढाउन ।

अनि रणवीरको अगाडि उभिएका छन्, यश । ‘रकिङ स्टार’ यश ।

पर्दामा उनी रावण बनेर आउँदा यशको स्टारडमभन्दा पनि उनको चरित्र हाबी हुन्छ । विशाल व्यक्तित्व, कठोर हाउभाउ र डर पैदा गर्ने उपस्थिति ।

रावण, जसको नामसँगै शक्ति, अहंकार, युद्ध र विनाश सम्झिन्छौं ।

तर, यही रावणको जीवनमा एउटी महिला छिन्, जसको व्यक्तित्व भने रावणभन्दा बिल्कुल उल्टो छ ।

सुन्दर । शालीन । विवेकी मन्दोदरी ।

रावणलाई संसार जित्नु थियो । मन्दोदरीलाई आफ्नो संसार जोगाउनु थियो ।

रावणले शक्ति देखाएर आफ्नो निर्णय थोपर्न खोज्दा मन्दोदरीले उनलाई सम्झाउने प्रयास गरिन् । रावणले सीतालाई लंका ल्याउँदा मन्दोदरीले त्यसको परिणाम देखिन् ।

अनि, त्यही रावणले सीतालाई मार्ने धम्की दिँदा उनी आफ्नै पतिको अगाडि उभिइन् । अर्थात्, रामायणमा रावणको छेउमा उभिएकी मन्दोदरी उनकी पत्नी मात्र थिइनन् ।

उनी रावणलाई गलत बाटोमा जानबाट रोक्न हरसम्भव प्रयास गर्ने सारथी पनि थिइन् ।

तर, पर्दामा उनको यो कथा कति देखिन्छ ?

अहिलेको ‘रामायण’ फिल्म राम, सीता र रावणको ठूलो द्वन्द्वमा केन्द्रित छ । त्यसैले, रावणको विशाल व्यक्तित्वको छेउमा मन्दोदरी देखिए पनि उनको कथा त्यति फैलिँदैन ।

जबकि, रामायणलाई अलि गहिरिएर हेर्ने हो भने कथा राम र रावणमा मात्रै रोकिँदैन । यो त त्यस्ता पात्रहरूको संसार हो, जहाँ एकएक पात्रलाई समातेर अघि बढ्ने हो भने पनि अर्को छुट्टै संसार खुल्दै जान्छ ।

रामायणलाई अलि गहिरिएर हेर्ने हो भने कथा राम र रावणमा मात्रै रोकिँदैन । यो त त्यस्ता पात्रहरूको संसार हो, जहाँ एकएक पात्रलाई समातेर अघि बढ्ने हो भने पनि अर्को छुट्टै संसार खुल्दै जान्छ ।

छुट्टै कथा भन्न सकिन्छ । छुट्टै फिल्म बन्न सक्छ ।

रामको आफ्नै कथा छ । सीताको जीवनमाथि अर्को फिल्म बनाउन सकिन्छ । लक्ष्मणको त्याग र उर्मिलाको चौध वर्षे प्रतीक्षालाई लिएर फेरि अर्को कथा भन्न सकिन्छ ।

हनुमानको भक्ति र शक्ति आफैंमा एउटा विशाल कथा हो । जटायुको केही क्षणको उपस्थितिभित्र पनि त्याग र साहसको पूरा संसार छ ।

विभीषणको कथा आफ्नै दाजुको विरुद्ध सत्यको पक्षमा उभिनुपरेको कथा हो । मेघनादको कथा बाबुको साम्राज्य र आफ्नै वीरताको बीचमा उभिएको एउटा शक्तिशाली योद्धाको कथा हो ।

त्यस्तै, मन्दोदरी पनि रामायणको कथाभित्र हराएकी अर्को पात्र मात्र होइनन् । उनको आफ्नै जन्मकथा छ । आफ्नै सौन्दर्यको चर्चा छ । आफ्नै विवेक छ । रावणसँगको विवाहको आफ्नै कथा छ ।

सीताको लंकामा आगमनपछि उनले लिएको अडान छ । अनि अन्ततः रावणसँगै उनले गुमाएको एउटा संसार छ ।

त्यसैले, मन्दोदरीलाई ‘रावणकी पत्नी’ मात्र भनेर हेर्नु उनको कथा खुम्च्याउनु हो । जुन पुरुषलाई संसारले रावण भनेर चिन्छ, उसको छायामा बसेर पनि आफ्नो विवेक नछोड्ने ती महिला आखिर को थिइन् ?

यहीँबाट खुल्छ, मन्दोदरीको कथा ।

मय दानवकी छोरी थिइन् मन्दोदरी

मन्दोदरीको कथा रावणसँग विवाह भएपछि मात्रै सुरु हुँदैन । रावणकी पत्नी बन्नुअघि नै उनको आफ्नै बलियो परिचय थियो । वाल्मीकि रामायणको उत्तरकाण्डमा मन्दोदरीलाई मय दानवकी छोरीका रूपमा प्रस्तुत गरिएको छ ।

मय दानव दानवहरूका महान् वास्तुकार मानिन्छन् । उनकी पत्नी हेमा अप्सरा थिइन् । मय र हेमाकी छोरी थिइन्, मन्दोदरी ।

तर, मन्दोदरीको जन्मबारे सबै कथामा एउटै विवरण भेटिँदैन । केही कथामा उनलाई पहिले मधुरा नामकी अप्सरा भनिएको छ । श्रापका कारण उनले भ्यागुताको रूप लिनुपरेको र पछि श्रापमुक्त भएर मय र हेमाको संरक्षणमा पुगेकी कथा पनि प्रचलित छ ।

तर, विभिन्न कथामा एउटा कुरा भने बारम्बार वर्णन गरिएको देख्न सकिन्छ । त्यो हो, मन्दोदरी असाधारण सौन्दर्य र गुण भएकी स्त्री थिइन् ।

मन्दोदरीको सुन्दरता

अप्सरा हेमाकी सन्तान भएकाले उनको रूप सामान्य हुनु स्वाभाविक थिएन । उनको अनुहारमा छुट्टै चमक थियो भनिन्छ । आँखा मनमोहक थिए । शरीरयष्टि सुडौल थियो ।

उनको चालढालमा शालीनता थियो । व्यवहारमा कोमलता थियो र  विवेक पनि ।

उनी सुन्दर थिइन्, तर सुन्दरताभन्दा ठूलो कुरा उनी विवेकी थिइन् । किनकि, पछि यही विवेकले उनलाई रावणजस्तो शक्तिशाली राजाको अगाडि पनि आफ्नो कुरा राख्ने साहस दियो ।

रावणसँग कसरी भयो विवाह ?

त्यतिबेला रावण आफ्नो शक्ति विस्तार गरिरहेका थिए । तपस्या गरेर वरदान पाइसकेका थिए । अस्त्र र शक्ति जम्मा गरेका थिए । लंकामाथि आफ्नो अधिकार स्थापित गरिसकेका थिए ।

यही क्रममा उनको भेट मय दानवसँग भयो ।

मयले रावणको शक्ति बुझे । लंकाको वैभव देखे । आफ्नी छोरीका लागि रावणजस्तो शक्तिशाली राजा उपयुक्त ठाने । अन्ततः मन्दोदरीको विवाह रावणसँग भयो ।

यसरी उनी लंकाकी महारानी बनिन् । त्यही विवाहसँग जोडिएको अर्को रोचक प्रसंग पनि आउँछ । मयले रावणलाई एउटा शक्तिशाली भाला दिएको कथा छ, जुन पछि लक्ष्मणमाथि प्रयोग गरिएको थियो ।

मन्दोदरीको जीवन त्यसपछि लंकाको राजदरबारसँग जोडियो । एकातिर शक्ति र वैभवले भरिएको साम्राज्य थियो । अर्कोतिर त्यही साम्राज्यका राजा रावण । तर, रावणकी पत्नी हुनुको अर्थ मन्दोदरीले रावणका हरेक निर्णयमा सहमति जनाउनु भने थिएन ।

त्यो कुरा अझ स्पष्ट भयो, मेघनाद जन्मिएपछि ।

मेघनाद जन्मिएपछि थपियो लंकामा अर्को शक्ति

मन्दोदरी र रावणका छोरा मेघनादको जन्मको कथा पनि कम रोचक छैन ।

वाल्मीकि रामायणमा उनको जन्म हुँदा उनको आवाज बादलको गर्जनजस्तै सुनिएको वर्णन छ । त्यसैले, उनको नाम मेघनाद रहन गएको बताइन्छ । पछि इन्द्रलाई पराजित गरेपछि उनी इन्द्रजितका रूपमा प्रसिद्ध भए ।

रावणका लागि मेघनाद एउटा शक्तिशाली योद्धा थिए । तर मन्दोदरीका लागि ?

उनी सामान्य छोरा थिए । लंकाले उनलाई आफ्नो भविष्यको शक्तिका रूपमा हेर्थ्यो । एउटी आमाका लागि भने उनी आफ्नो संसार थिए । यही कारण पछि युद्धमा मेघनादको मृत्यु हुँदा मन्दोदरीमाथि परेको पीडा बुझ्न सकिन्छ ।

तर त्यो दिन आउनुअघि नै मन्दोदरीको जीवनमा अर्को ठूलो परीक्षा सुरु भइसकेको थियो ।

सीताको आगमनसँगै सुरु भयो मन्दोदरीको अर्को परीक्षा

रावणले सीतालाई हरण गरेर लंका ल्याए । रामायणको कथा यही घटनापछि निर्णायक मोडमा पुग्छ । रावणका लागि यो आफ्नो शक्ति देखाउने घटना थियो ।

तर मन्दोदरीले त्यसमा शक्ति मात्र देखिनन् । उनले त्यसको परिणाम पनि देखिन् ।

विभिन्न रामायण कथनमा मन्दोदरीले रावणलाई सीतालाई रामकहाँ फर्काउन र विनाशको बाटोमा नजान सम्झाएको प्रसंग पाइन्छ । रावण शक्तिशाली थिए ।

तर मन्दोदरीलाई थाहा थियो, शक्ति हुनु र सही हुनु एउटै कुरा होइन । यही कुरा उनको चरित्रको सबैभन्दा ठूलो विशेषता हो ।

उनी रावणसँग थिइन् । तर रावणले गरेका सबै कामको पक्षमा थिइनन् ।

सीताको पक्षमा उभिएकी मन्दोदरी

मन्दोदरीको चरित्रलाई अझ गहिरो बनाउने एउटा प्रसंग सीतासँग जोडिएको छ । रावण सीतालाई आफ्नो इच्छाअनुसार झुकाउन चाहन्थे ।

तर सीता आफ्नो निर्णयबाट पछि हटिनन् । एक प्रसंगमा रावण यति क्रोधित हुन्छन् कि सीतालाई मार्ने धम्कीसम्म दिन्छन् र तरवार निकाल्छन् ।

त्यही बेला मन्दोदरी अगाडि आउँछिन् ।

उनले रावणलाई सीतालाई मार्नबाट रोक्छिन् । महिलाको हत्या गर्नु ठूलो पाप हुने भन्दै उनलाई सम्झाउँछिन् । सीतालाई पत्नी बनाउने विचार त्याग्न र अन्य पत्नीहरूसँग समय बिताउनसमेत उनले रावणलाई सुझाएको प्रसंग विभिन्न कथामा पाइन्छ ।

सोच्नुस् त ।

जुन महिलालाई रावणले आफ्नो इच्छाअनुसार लंकामा ल्याएका थिए, त्यही महिलाको जीवन जोगाउन उनकी आफ्नै पत्नी रावणको अगाडि उभिइरहेकी थिइन् ।

यहीँ मन्दोदरी ‘रावणकी पत्नी’ रहँदिनन् । उनी अर्को महिलाको जीवनका लागि आफ्नै पतिको विरोधमा उभिएकी महिला बन्छिन् ।

केही कथनमा मन्दोदरीले सीताको पतिव्रता र रामप्रतिको उनको निष्ठाको प्रशंसासमेत गरेको पाइन्छ । यसले मन्दोदरीको चरित्रलाई अझ रोचक बनाउँछ ।

उनलाई रावणप्रति प्रेम थियो । तर प्रेमको अर्थ गलत कुरामा आँखा चिम्लिनु हुँदैन भन्ने कुरा उनले बुझेकी थिइन् ।

हनुमानले लंका जलाएपछि

सीतालाई खोज्दै हनुमान लंका पुगे । सीतालाई भेटे । रावणको दरबार देखे । लंकाको वैभव देखे । त्यसपछि लंकामा आगो लाग्यो । लंकाको वैभवलाई आफ्नो शक्तिको प्रमाण मान्ने रावणका लागि यो ठूलो चुनौती थियो ।

तर मन्दोदरीका लागि ? सायद, यो अझ ठूलो चेतावनी थियो । युद्ध सुरु भइसकेको थिएन । तर विनाशको संकेत देखिइसकेको थियो ।

अब कुरा सीता र रामको मात्रै थिएन । रावणको एउटा निर्णयले सम्पूर्ण लंकालाई जोखिममा पार्दै थियो । मन्दोदरीले यो कुरा बुझिसकेकी थिइन् । तर रावण आफ्नो निर्णयबाट पछि हटेनन् ।

मेघनादको मृत्युले मन्दोदरीमा परेको चोट

युद्ध सुरु भयो । एकपछि अर्को गर्दै लंकाका शक्तिशाली योद्धाहरू ढल्दै गए । कुम्भकर्ण मारिए । लंकाको शक्ति कमजोर हुँदै गयो ।

अन्ततः मेघनाद पनि रणभूमिबाट फर्किएनन् । रावणका लागि यो एउटा शक्तिशाली योद्धाको मृत्यु थियो । तर मन्दोदरीका लागि ? त्यो उनको छोराको मृत्यु थियो ।

जुन छोरालाई उनले बाल्यकालदेखि हुर्काइन्, जसलाई लंकाले आफ्नो भविष्यको शक्तिका रूपमा हेरेको थियो, त्यही छोरा आफ्नो बाबुको जिद्दीका कारण युद्धमा मारिएपछि एउटी आमाको संसारमा कति ठूलो खालीपन बनेको होला ?

त्यो पीडा शब्दमा नअटाउन सक्छ । तर युद्ध रोकिएन । रावण अझै अन्तिम युद्धको तयारीमा थिए ।

रावणको अन्तिम युद्ध

एकातिर राम थिए । अर्कोतिर रावण । अन्ततः उनीहरूबीच निर्णायक युद्ध भयो । रावणसँग शक्ति थियो । अस्त्र थिए । अनुभव थियो ।

तर उनको वरिपरि उभिएका धेरै शक्तिशाली योद्धा अब बाँकी थिएनन् ।

भाइ गुमाइसकेका थिए । छोरा गुमाइसकेका थिए । सेनाका प्रमुख योद्धाहरू ढलिसकेका थिए ।

तर अहंकार अझै बाँकी थियो । अन्ततः रामको हातबाट रावण मारिए ।

रामका लागि त्यो विजय थियो । तर त्यसमा रावण मात्र हारेनन् ।

त्यो मन्दोदरीका लागि जीवनले एकैपटक धेरै कुरा खोसेको क्षण थियो । उनले आफ्नै आँखाअघि साम्राज्य भत्किएको देखिन् । पति गुमाइन् ।

छोरा पहिल्यै गुमाइसकेकी थिइन् । परिवारको शक्ति सकियो । राज्यको वैभव भत्कियो ।

रावणको अन्तिम अवस्था देखेर मन्दोदरीले गरेको विलाप रामायणको मार्मिक प्रसंगमध्ये एक मानिन्छ । उनलाई जे डर थियो, त्यही भइछाड्यो ।

जुन पुरुषलाई उनले जीवनभर शक्तिशाली राजा देखिन्, अन्तिममा त्यही पुरुषको पतन आफ्नै आँखाले हेर्नुपर्‍यो ।

के रावणसँगै मन्दोदरी पनि हारिन् ?

रामायणको युद्धमा राम विजयी भए । रावण पराजित भए । तर युद्धमा हार्नेहरू रावण मात्रै थिएनन् । कहिलेकाहीँ युद्धको सबैभन्दा ठूलो मूल्य ती मानिसले चुकाउँछन्, जसले युद्ध रोजेका पनि हुँदैनन् ।

मन्दोदरी त्यस्तै पात्र हुन् ।

उनले रावणलाई रोक्न खोजिन् । सीतालाई जोगाउन खोजिन् । विनाश आउँदै गरेको देखिन् ।

आफ्ना पति र परिवारलाई सम्झाइरहिन् । तर अन्ततः उनले आफूले जोगाउन खोजेको संसार नै गुमाइन् ।

त्यसैले, मन्दोदरीको कथा रावणकी पत्नीको कथा मात्रै होइन । यो त्यस्ती महिलाको कथा हो, जो शक्तिशाली पुरुषको छायामा बसेर पनि आफ्नो विवेक गुमाइनन् ।

रावण संसार जित्न चाहन्थे । मन्दोदरी आफ्नो संसार बचाउन चाहन्थिन् । तर कहिलेकाहीँ शक्ति यति ठूलो हुन्छ कि विवेकको आवाज सुनिँदैन ।

सायद, मन्दोदरीको सबैभन्दा ठूलो दुःखान्त पनि यही थियो । उनले विनाश आउँदै गरेको देखेकी थिइन् ।

तर रोक्न सकिनन् । रामायणमा रावणको नाम विशाल छ । सीताको महिमा छ । रामको विजय छ ।

तर यी सबैको बीचमा उभिएकी मन्दोदरीको कथा पनि कुनै बलियो नायकको कथाभन्दा कम छैन ।

इतिहासले प्रायः विजेताको कथा सम्झन्छ । तर कुनै ठूलो युद्धपछि भत्किएको घरभित्र बाँकी रहने मानिसहरूको कथा पनि त हुन्छ ।

मन्दोदरी त्यही कथाकी महिला हुन् ।

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?