News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआईको विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने बताएका छन्।
- चीनको सेन्जेनमा एपीईसी बैठकमा ट्रम्पले एआईलाई नियन्त्रण र सीमित गर्ने विश्वव्यापी नियम अमेरिकालाई स्वीकार्य नहुने बताए।
- क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले एआईको विश्वव्यापी नियमन अभावले ठूलो जोखिम निम्त्याउने भन्दै अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न ढिलाइ नगर्न आग्रह गरेका छन्।
३ मङ्सिर, सेन्जेन (चीन) (रासस/एएफपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशङ्का छ ।
चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकमा बिहीबार सम्बोधन गर्दै ट्रम्पले एआईका फाइदासँगै यसका जोखिमप्रति पनि सचेत रहनुपर्ने बताए। एआईलाई नियन्त्रण र सीमित गर्ने विश्वव्यापी नियम अमेरिकालाई स्वीकार्य नहुने उनको भनाइ थियो ।
ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने वार्तामा एआईको तीव्र विकास र त्यसबाट उत्पन्न चुनौतीबारे छलफल हुने अपेक्षा गरिएको छ । साइबर आक्रमण, जैविक हतियार निर्माणमा एआईको दुरुपयोग, सैन्य प्रयोग तथा सामूहिक निगरानी यस क्षेत्रका प्रमुख सुरक्षा चुनौती हुन् ।
यसैबीच, एआई एजेन्टको अनियन्त्रित प्रयोगप्रति पनि चिन्ता बढेको छ । ओपनएआईका बटहरू अस्ट्रेलियाको सरकारी पोर्टलसहित विभिन्न वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरेको घटना सार्वजनिक भएको छ ।
यसअघि ट्रम्प र सीबीच एआईसम्बन्धी घटनामा तत्काल सूचना आदानप्रदान गर्न सञ्चार संयन्त्र स्थापना गर्ने सहमति भएको थियो । सीले एआई मानव नियन्त्रणमा रहनुपर्ने र त्यसका लागि कानूनी व्यवस्था तथा प्राविधिक निगरानी आवश्यक रहेको बताउँदै आएका छन्।
उता, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले एआईको विश्वव्यापी नियमन अभावले ठूलो जोखिम निम्त्याउने चेतावनी दिँदै यसका लागि अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न ढिलाइ गर्न नहुने बताएका छन्।
प्रतिक्रिया 4