+
+
Shares
व्यङ्ग्य :

प्रस्ट युवा, भ्रष्ट बुढा !

इनम प्रकरण र प्रस्ट युवाहरूको शासन : सुशासनको आभा कि बिचौलियाको बेडमा नाङ्गिनुको मजा ?

‘हामी प्रस्ट, बुढा भ्रष्ट’ भन्दै उदाएका सुपरडुपर युवाहरू सत्तामा आएपछि देशले काँचुली फेर्ने आसमा जनता थिए। तर संसद्मा लभस्टोरी र कमेडीको सुटिङ चल्दै गर्दा बाहिरचाहिँ ‘इनम’ जस्ता अद्भुत क्षमताका केटाहरूले सत्ताप्रमुखदेखि अदालतसम्मको जरो हल्लाइदिएका छन्। इमान-जमानका युवाहरूको शासनमा बिचौलियालाई भगवान् मान्ने कि कुशासनको खाडल पुर्ने ?  

राजेन्द्र कार्की राजेन्द्र कार्की
२०८३ मंसिर ४ गते १२:२४

‘हामी प्रस्ट, बुढा भ्रष्ट’ भनेर त्यत्रो जेनजी आन्दोलन भयो। सोझासिधा जनताले पत्याए, देशकाले मात्र होइन, विदेशकाले पनि पत्याए। भ्रष्ट बुढालाई उठ्नै नसक्ने चोट दिनका लागि विदेशमा भएकाहरूले आमाबुवा र आफन्तलाई भोट हाल्न उर्दी जारी गरे। त्यो उर्दी नमाने फेरि नोट नआउला भन्ने डरले चाइँचुइँ नगरी भोट हाले।

एउटै भोटको तीरले बुढालाई झिरले झैँ रोपेन मात्र, राजनीतिमा डेब्यु गरेका युवालाई सुपरडुपर पनि बनाइदियो। सधैँझैँ जनता योपटक यता न उता भएनन्। जता भए पनि उनीहरू एक भएर, ‘अब सत्ताको तुहाइ नहोस्’ भनेर दुईतिहाइ दिए। सुपरडुपरको दुईतिहाइ भएपछि कुन मर्न लागेको बुढाले खाइखुइ गर्ला र ? त्यो सम्भावना छैन।

अनि जनताले सोचे- अब त दूधले नुहाएका सुपरहिरोहरू आए। तीस–पैँतीस वर्षका प्रस्ट युवा सुपरहिरोहरू सत्तामा आएपछि देश एकाएक कायापलट हुन्छ, किनकि उनीहरूको हातमा जादुको छडी छ। नभन्दै, ती युवा सुपरहिरोहरू आएपछि देश सुनमय भयो। सुनमय भएको देशको विकास धुनमय नहोला भनेर कसले शङ्का गर्ने ? शङ्का गर्ने कुरै भएन।

संसद्मा झन् हिरो–हिरोइन नै छन्। ती हिरो–हिरोइन देख्दा आलिया भट्ट र रणवीर कपुर फिक्का लाग्छन्। संसद्को सिनेमा हेर्दाहेर्दा अहिले हलिउड र बलिउडको सिनेमा हेर्न कसलाई मन लाग्ला र ! त्यही भएर आफूले पनि हिन्दी सिनेमा नहेरेको निकै महिना भएछ। फेरि लभस्टोरी, फाइट र कमेडी हेर्न हलिउड र बलिउडका अलग–अलग सिनेमा हेर्नुपर्छ। तर नेपालको संसद्को सिनेमा हेर्दा एकैपटक लभस्टोरी, फाइट र कमेडी हेर्न पाइन्छ, त्यो पनि सुटिङकै समयमा ! अब लाइभ फिल्म हेर्न छाडेर कसले बासी फिल्म हेरोस् ?

संसद्को सिनेमा देशमा भन्दा पनि विदेशमा धेरै हेरिन्छ जस्तो लाग्छ। किनकि, विश्वका अधिकांश देशमा बुढा नेता र सांसद छन्। वृद्धाश्रममा राख्ने बेला भएका बुढाबुढीको दिक्कलाग्दो बहस कसलाई मन पर्छ ? न त त्यहाँ कमेडी छ, न त सांसदहरू बहस छोडेर मुसुक्क मुस्कुराउँदै एकअर्कासँग आँखा जुधाउँछन्।

इमान–जमान भएका इनमको बदनाम गर्ने काम हुन थालेको हो कि भन्नेमा शङ्का लागेको छ। उहिले पो शङ्काले लङ्का जलाउँथ्यो। अहिले न रावण छ, न रावणको दरबार छ। भएको सिंहदरबार पनि जलाएपछि जलाउन के नै बाँकी छ र, अनि जलाउनु ! त्यही भएर मेरो शङ्काले बाँकी बक्यौता केही छ भने त्यो पनि नजलाओस्।

फेरि, ती लगभग असी पुगेका बुढा राष्ट्रपति र प्रधानमन्त्रीको दिक्कलाग्दो भाषण सुन्नु पनि के स्वाद ! त्यही भएर संसारका शक्तिशाली जेठाबालाई खसी पारे। तसर्थ, नेपाली संसद्का तन्नेरी हिरो–हिरोइन हेर्नुको मजै अर्कै ! उनीहरूलाई हेर्दा आफू पनि कताकता जवान भइयो कि जस्तो अनुभूति हुने रहेछ।

इमान–जमान भएका नेपाली सुपरडुपर युवाले सत्ता सम्हालेपछि देशमा कायापलट नहोला भन्नेमा कुनै द्विविधा छैन। युवाको ताँती संसद्मा मात्र छैन, प्रधानमन्त्री कार्यालयदेखि हरेक मन्त्रीका सचिवालयसम्म छ। झन् त्यो ताँतीमा इनमजस्तो अद्भुत क्षमता भएको केटो थपिएपछि स्वाजिल्यान्डजस्तो देश स्विट्जरल्यान्ड बन्न अब कति दिन पनि लाग्ने छैन भन्ने जनले मनदेखि नै बुझेका छन्।

रुघाले लग्नुपर्ने बुढादेखि देशको श्री ३ युवासम्म समन्वय र सहजीकरण गर्न सक्ने कस्तो अद्भुत क्षमता र प्रतिभा ! नेपाली शब्दको कण्ठ भएका मिडियाका हस्तीले त गर्न नसकेको इनमको क्षमता र प्रतिभाको प्रशंसा म जस्तो नेपालीमा तीनपटक फेल भएको मान्छेले कसरी गर्न सकौँला ?

फेरि, हार्वर्डबाट गडबड नगरी पढ्नुपर्ने जति बाँकी नराखी पढेको भनेर मिडिया रिपोर्टले टिपोट गरेपछि कुरो सकिगो नि। आम्मा आम्मा, कति क्षमता र प्रतिभा भएको केटो होला त्यो !

इनमले भूतपूर्वदेखि वर्तमानका अभूतपूर्वहरूलाई एउटै कोक्रोमा हालेर नुनु गर्दै सुताए। आधा लतमा फसेबसेका नाम–बेनामका मूर्तिलाई आफ्नै हातले चुठाए। सत्ताप्रमुखदेखि अदालतका भत्ताप्रमुखको जरो हल्लाएका छन्। सत्तामा धक्का लाग्ला कि जस्तो भएपछि खरानीबाट उठेको प्रहरीलाई चहर्‍याइले ठेल्दै बगाए।

तीक्ष्ण र कुशाग्र बुद्धि र क्षमता नभएको भए सरकार, संसद्, न्यायालय, प्रशासन र प्रहरीसम्म एक्लै कसरी समन्वय गरेर इनाम टक्र्याउन पुग्थ्यो होला ? अब नेपाली जनका भाग्य र भरोसा बनेका यस्ता इनमहरूले बेइमानलाई ठेगान लगालान् कि भन्ने आशा जाग्न थालेको छ। आफ्नो जीवनचोला नभए पनि भविष्यमा यस्तो दिन आउला भन्ने थाहा पाएरै गोपालप्रसाद रिमालले यी हरफ लेखेको हुनुपर्छ :

एक जुगमा एक दिन एकचोटि आउँछ

उलट–पलट, उथल–पुथल, हेरफेर ल्याउँछ

खरानी हुन्छ भरभराउँदो, हुरी चल्न थाल्छ !

आफ्नै जीवनकालमा यो केटो देख्न पाएको भए, ‘एक जुगमा एक दिन आयो नि, देख्यौ ?’ भनेर रिमाल बाजे कति खुसी हुने थिए होलान् ! केटोले भ्रष्टाचारको नेटो काटेर सुशासनको आभा ल्याएको देख्दा हर्षले विभोर हुँदै भावुक भएर फेरि लेख्ने थिए होलान् :

एक जुगमा एक केटो एकचोटि आयो,

उलट–पलट, उथल–पुथल, हेरफेर ल्यायो।

खरानी घसेर भ्रष्टसँग प्रस्ट बात गर्‍यो !

इमान–जमान भएका इनमको बदनाम गर्ने काम हुन थालेको हो कि भन्नेमा शङ्का लागेको छ। उहिले पो शङ्काले लङ्का जलाउँथ्यो। अहिले न रावण छ, न रावणको दरबार छ। भएको सिंहदरबार पनि जलाएपछि जलाउन के नै बाँकी छ र, अनि जलाउनु ! त्यही भएर मेरो शङ्काले बाँकी बक्यौता केही छ भने त्यो पनि नजलाओस्।

इनमलाई बिचौलिया भनेर बदनाम गर्न पाइँदैन। त्यस्तो प्रतिभाशाली मान्छे नेपाल धर्तीमा कहिल्यै जन्मेकै थिएन। यस अर्थ, उसलाई बिचौलिया भन्नु उसको मात्र अपमान नभएर युगौँदेखि चलिआएको धर्म–संस्कृतिविरुद्धको काम पनि हो। कसरी हो भन्नुहोला ?

देशमा भ्रष्ट बुढाका दिन सकिएर प्रस्ट युवाको शासन छ। त्यो शासनमा नेपाली ग्यास नभएर गाँस नपाए पनि खुसी छन्। देशमा सुशासन आउनै लागेको बेला बेखुस भएर प्रस्ट युवाको शासनलाई अप्रस्ट बनाउनु हुँदैन भन्नेमा अझ प्रस्ट छन्।

हामी मूर्तिपूजा गर्छौँ र त्यही मूर्तिसँग वरदान माग्छौँ। ती मूर्ति जीव पनि छन् र निर्जीव पनि छन्। हामीले प्राचीनकालदेखि निर्जीव मूर्तिको पूजा गरेका हौँ; तर ती मूर्तिले हाम्रो मनोकाङ्क्षा कहिल्यै पूरा गरेनन्। मनोकाङ्क्षा पूरा नगर्ने त्यस्ता मूर्तिसँग आजित भएपछि हामीले साक्षात् जीव मूर्तिको पूजा गरेका हौँ, भेटी चढाएका हौँ। त्यस्ता जीव मूर्तिलाई फुर्तीसाथ जहाँ जतिखेर पनि हाजिर गराउन सक्ने इनमलाई भगवान्‌का पनि भगवान् भन्नुपर्ने हो, तर किन बिचौलिया भनिँदै छ ?

इनमको जाबो फोन मात्र त भगवान् कृष्णको सुदर्शन चक्रजस्तो शक्तिशाली रहेछ। त्यो शक्तिशाली फोनको सुदर्शन चक्र हात पार्न श्री ३ का सल्लाहकारको लिगलिग दौडको आकाशवाणी चराचर सारा जगत्‌ले सुनेको छ। यसबाट पनि थाहा हुन्छ कि उनी कृष्णका साक्षात् अवतार हुन्।

फेरि, उनको के दोष छ र ? जीव मूर्तिको पूर्ति गर्नेले उनलाई बलि नचढाएको नहोला भन्न सकिँदैन, तर उनले जे गरे, त्यो त इमान-जमानको काम गरे। काम गर्नेलाई इनामको दाम मिल्नुपर्छ। मिलेन भने त जीव मूर्तिलाई मजै आउँदैन नि, कि कसो ?

इनामको दाम नमिल्दा बाङ्गिनुको मजै अर्कै

सेवा गर्दा मेवाको बोटमा झाङ्गिनुको मजै अर्कै

जलेको भवनमा इजलास खोज्न हुन्छ कसरी ?

बिचौलियाको बेडमा नाङ्गिनुको मजै अर्कै !

देशमा भ्रष्ट बुढाका दिन सकिएर प्रस्ट युवाको शासन छ। त्यो शासनमा नेपाली ग्यास नभएर गाँस नपाए पनि खुसी छन्। देशमा सुशासन आउनै लागेको बेला बेखुस भएर प्रस्ट युवाको शासनलाई अप्रस्ट बनाउनु हुँदैन भन्नेमा अझ प्रस्ट छन्।

सुपरहिरोले कुशासनलाई खाल्डोमा पुरेपछि कुनचाहिँ बिचरो भ्रष्टाचारी बन्ला र ? इनमजस्ता इमानी अरू दुई–चार जना युवा भए भने पुराना भ्रष्ट संरचनाहरू उलटपुलट भएर देश कायापलट हुन केही दिन पनि लाग्ने छैन। सामाजिक सञ्जालमा बेलाबखत पोतिएका सुशासन र समृद्धिले त्यसको स्पष्ट मार्गचित्र कोरेको छ।

इनमको उमेर भूतपूर्व श्री ३ र तिनका भाइभारदारको आधाभन्दा पनि अझ कम होला। तर क्षमतामा इनम ती भूतपूर्वभन्दा दोब्बर बढी रहेछन्। त्यस्तो क्षमतावान् युवाको मूर्ति बनाउनुपर्छ। भूतपूर्व र वर्तमान सरकारले बनाउनुपर्छ। सरकारले बनाउँदैन भने जनले घर–घरमा बनाउनुपर्छ। हरेक बिहान-बेलुका पूजा गर्नुपर्छ।

लेखक
राजेन्द्र कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?