+
+
Shares

चीनको सिचवानस्थित भूकम्पपछि पुनर्निर्माण गरिएको क्षेत्र पुगे रास्वपा सांसदहरूको टोली

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका २० जना सांसद चीनको सिचवानस्थित वेनचुआनमा २००८ को विनाशकारी भूकम्पपछि पुनर्निर्माण गरिएको क्षेत्रको स्थलगत अवलोकनमा पुगेका छन्।
  • उपनेता गणेश पराजुलीले खोज तथा उद्धार, राहत वितरण, प्रभावित परिवारको पुनर्स्थापना र बस्ती पुनर्निर्माणको अनुभव बुझ्ने अवसर पाएको बताए।
  • पराजुलीले वेनचुआनको पुनर्निर्माणले नेपालमा भविष्यका विपद्सँग जुध्न जोखिम पहिचान, सूचना प्रणाली र तयारीको महत्त्व देखाएको बताए।

४ मंसिर, काठमाडौं । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको टोली चीनको सिचवानस्थित भूकम्पपछि पुनर्निर्माण गरिएको क्षेत्र पुगेका छन् ।

भ्रमण टोलीका सदस्य एवं रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार उनीहरू चीनको सिचवान प्रान्तको वेनचुआनमा सन् २००८ को विनाशकारी भूकम्पले तहसनहस बनाएका बस्ती र त्यसपछि पुनर्निर्माण गरिएका क्षेत्रहरूको स्थलगत अवलोकनमा पुगेका हुन् ।

भूकम्पपछिको खोज तथा उद्धार, राहत वितरण र प्रभावित परिवारको पुनर्स्थापनादेखि बस्तीको पुनर्निर्माणसम्मको अनुभव बुझ्ने अवसर प्राप्त भएको पराजुलीले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुननिर्माण पश्चात् जनतालाई जीविकोपार्जन र आर्थिक उपार्जनसँग जोड्ने संयन्त्रमा  चीनले अवलम्बन गरेका विषयलाई अध्ययन गर्ने अवसर पनि प्राप्त भयो ।’

वेनचुआनको अनुभवले नेपालमा केही समय अगाडि घटेको विपद् तथा भविष्यमा हुनसक्ने विपद्सँग जुध्नका लागि एउटा महत्त्वपूर्ण पाठ सिकाएको पनि उनले बताएका छन् ।

विपद् आउनुअघि नै जोखिम पहिचान, सूचना प्रणालीको विकास, सुरक्षित ठाउँ पहिचान र उद्धारमा कसको भूमिका र जिम्मेवारी कस्तो हुने भन्ने स्पष्ट कार्यविधिबारे स्थानीय सरकार र समुदायले मिलेर गरिएको तयारी र नियमित अभ्यास को कार्यविधिलाई हुबहु कार्यान्वयनमा ल्याएको राम्रो अनुभव देख्न पाइएको पनि पराजुलीले बताएका छन् ।

उनी थप्छन्, ‘भूकम्पको दर्दनाक पीडा र ७० हजार भन्दा बढी नागरिकको ज्यान गुमेको ठाउँलाई इतिहासमा कहिले नबिर्सने गरी म्युजियम नै तयार बनाएर राखिएको र भविष्यमा आउन सक्ने त्यस्ता विपद्सँग जुध्नको लागि गरिएका तयारी र त्यसको कार्यान्वयन भोटेकोशी–त्रिशूलीका विपद् र प्रभावित  क्षेत्रको पुननिर्माणका लागि एउटा महत्त्वपूर्ण उदाहरण वेनचुआन शहरको पुननिर्माण हुन सक्छ ।’

रास्वपाका २० जना सांसद् चीन भ्रमणमा छन् । कात्तिक २९ गते ११ दिने चीन भ्रमणमा निस्केको रास्वपाका महामन्त्री विपिनकुमार आचार्य संयोजकत्वको टोलीमा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली, मुख्य सचेतक कबिन्द्र बुर्लाकोटी छन् ।

रास्वपाका सहमहामन्त्रीसमेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, कानुन न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बाँस्कोटा, सांसदहरू लिमा अधिकारी, सागर ढकाल, डा.आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा चीन भ्रमणमा छन् ।

उनीहरू बेइजिङ, हाङचोउ र सिचुवानलगायतका शहरहरूको भ्रमण गरेर मंसिर १० गते स्वदेश फर्किने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?