काठमाडौँ । कवियत्री अनुशा शर्मा सुवेदीको कविताकृति ‘पोइटिक डायस्पोरा’ माथि परिचर्चा गरिएको छ । ललितपुरको हात्तिवनमा आयोजित समारोहमा उक्त कृतिमाथि समीक्षा गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि रहेका प्रा.डा. अरूण गुप्तोले कविताका शब्दहरू निकै चिन्तनशील रहेको बताए । अंग्रेजी भाषामा लेखिएका १३० वटै कविता निकै शक्तिशाली रहेको उनले सुनाए ।
यस्तै कवि समीक्षक केशव सिग्देलले अनुशाका कविता उच्च कोटिका भएको बताए । ‘शब्द-शब्दमा गहन अर्थ मीठो सिल्पिमा बाँधिएका छन् । खुट्किलावद्ध शैलीले पाठकलाई नतानी रहन सक्दैन । कवितामा भक्तिधारामा प्रवाहित छन् । कविता पढ्दा कविभित्रको स्वतन्त्रताको चिन्तन प्रस्टरुपमा छचल्किन्छ’ उनले भने।
यस्तै अर्का समीक्षक महेश पौडेलले अनुशाका कवितामा जीवन र जगतलाई हेर्ने आयु रहेको बताए। उनले मेडिटेसनको काम गर्ने सामर्थ्य कवितामा रहेको धारणा राखेका थिए। आफूले कवितामा प्रसस्तै बाल मनोविज्ञानसमेत पाएको पौडेलको भनाइ थियो।

त्यसैगरी कवि सरला केसीले पनि अनुशाका कवितामा शक्तिशाली भाव रहेको बताइन् । ‘मलाई उहाँका कविता पढ्दा कुनै शीतल छहारीमा बसेजस्तै भान भएको छ । शब्दमा शक्ति र भावमा ओज छ । भावनात्मक कसीमा पाठकलाई बाध्न सक्ने सामर्थ्य कविताले राख्दछन्’ उनले भनिन्।
यस्तै कवि लेखक राजीव श्रेष्ठले अनुशाका कवितामा जीवनको अनुभूति पाएको प्रतिक्रिया दिए। आफूलाई बुझ्न सकियो भने महिलाले समाजमा कसरी बलियो भूमिका निर्वाह गर्न सक्छन् भन्ने सन्देश अनुशाका कवितामा रहेको उनले बताए ।
कार्यक्रममा पत्रकार तथा लेखक दीपक सापकोटाले अनुशाका केही कविता बाचन गरेका थिए । पत्रकार एवं साहित्यकार राज सरगमले सहजकर्ताको भूमिका निर्वाह गर्दै अनुशासँग कृतिका बारेमा संवाद गरेका थिए । त्यसक्रममा अनुशाले आफूले शब्दमा भन्न सकेका कुरा कविताका माध्यमबाट अभिव्यक्त गरेको बताइन्।
‘मैले विभिन्न कारणले परिवारसँग टाढा रहनु पर्दाका अनुभूति कवितामा समेटेकी छु’ उनले भनिन्, ‘आफ्ना भन्न नसकेका भाव कविताका माध्यमबाट व्यक्त गरेकी छु।’
प्रतिक्रिया 4