+
+
Shares

पर्यटकीय नगरी सौराहामा गुञ्जिएको नेपथ्य

सुवास पण्डित सुवास पण्डित
२०८३ मंसिर ४ गते १६:५९

बिहीबार ३ को साँझ, शीत झर्न सुरु हुँदै थियो । आकाशमा अर्धवृत्ताकार बनेको चन्द्रको चमक बढ्दै जाँदा चितवनको प्रमुख पर्यटकीय नगरी सौराहामा सिसुवार चौरमा नेपथ्यका लागि तयार गरिएको भब्य स्क्रिनमा काउण्टडाउन सुरु भयो, ८, ७, ६, …..२, १,०….।

घडीमा ६ बजेर ५ मिनेट बेला स्टेजमा उक्लिए, सदाबहार गायक अमृत गुरूङ । अमृतलाई स्टेजमा देख्नासाथ सिसुवारको चौर उनको अभिवादन र स्वागतमा एकसाथ चिच्यायो….अमृत…अमृत…।

उस्तै जोश, उत्साहका साथ देखिएका अमृतले ‘हो रामा रामा भन्ने गीतबाट आफ्नो प्रस्तुती सुरु गरे । परम्परागत लोक लयमा आधारित यो गीत लगत्तै बहुचर्चित गीत ‘भेडाको ऊन जस्तो’ गीतलाई दोस्रो सांस्कृतिक प्रस्तुतिका रुपमा प्रस्तुत गरेपछि सांगितिक माहोलको गेयर बद्लिन सुरु गर्छ । अमृतले सदाबहादर र चर्चित गीत ‘छेक्यो छेक्यो देउराली डाँडा हुँस्सु र कुहिरोले….’ गाउँदा हजारौं दर्शकले गीत गाएर साथ दिए ।

लगातार तेस्रो प्रस्तुति दिएपछि अमृतले दर्शकलाई अभिवादन गरे । मंसिरको पहिलो साता पहाड र तराईमा धान काटेर दाइँ हाल्ने बेला सौराहामा भेटघाट भएको क्षण स्मरण गराए । केही वर्ष अगाडि नारायणगढको क्याम्पाचौरमा आएका अमृतले चितवनको प्रमुख पर्यटकीय नगरी सौराहामा आउन पाउँदा निकै खुसी लागेको बताए ।

अनि फेरि सुरु गरे आफ्नो सांगितिक उडान । हिमाली तथा पहाडी भेगको प्राकृतिक सौन्दर्य, आँगनभरि झरेको हिउँ र लेकमा फुलेको आरु फूलको बिम्ब बनाएर प्रेम र यौवनको भाव समेटिएको ‘आँगनै भरी….’ र ‘खान्न म त लामपाते सुर्ती….’ गाउँदा अमृत आफैँ पनि छमछमी नाँचे र दर्शकलाई उत्साह भरे ।

‘चरी मर्‍यो सिसैको गोलीले माया बस्यो त्यो मिठो बोलीले….’ गाउँदा मंसिरको चिसोमा नाँच्दा नाँच्दै तातेका दर्शकहरूको हुटिङ पनि जोडदार हुन थाल्यो । अमृतले ‘जोमसोमे बजारमा १२ बजे हावा सरर…’ गाउँदा सिसुवार चौरमा उपस्थित हजारौं युवाले एकसाथ अमृतलाई साथ दिँदा सौराहा क्षेत्र नै गुञ्जयमान बन्यो ।

स्टेजमा अमृतले गीत मात्रै गाएनन्, पर्यावरण, संरक्षणका पनि कुरा गरे । जंगली जनावरहरूको विचरण हुने ठाँउमा मानवीय क्रियाकलापहरू बढेकोमा चिन्ता व्यक्त गरे । जनावर भएकै कारण सौराहा भएको र देश विदेशबाट हजारौं पर्यटकहरू चितवन घुम्न आउने गरेको स्मरण गर्दै उनले वन्यजन्तुलाई माया गर्नुपर्ने अमृतले बताए । मानव र वन्यजन्तु बीचको द्धन्द्धलाई कम गराउँदै वन्यजन्तु र मानव दुवैलाई जोगाउने कर्तव्य नै मानवको भएको अमृतले सम्झाए ।

संरक्षणको सन्देश छाडेका अमृतले ‘शिरफूल सिरैमा’, ‘नैना ताल, घुमी आयो रेल’ भन्ने दुई गीत प्रस्तुत गरे । नेपाली भाषाको उद्‍गम विन्दु जुम्लाको सिञ्जा उपत्यकाको भाका समेटिएको कर्णालीका छाइना…..’ गीत प्रस्तुत गरेका अमृतले ‘जीवन हो घाम छाया….’ प्रस्तुत गरे ।

आफूहरू धरतीमा केही वर्षका लागि मात्रै पाहुना बन्न आएको बताउँदै अमृतले मानव कल्याणका लागि आर्जन गरेको सम्पत्तिबाट केही सहयोग गर्न अपिल गरे । समाजमा असाहय अशक्तहरू कठिन परिस्थितीमा बाँचिरहेको भन्दै उनले मानव कल्याण जतिको धर्म अरू नहुने बताए ।

टनाटन भरिएको सौराहाको सिसुवारको चौरमा कन्सर्टको आधाआधी प्रस्तुति सकिँदा पनि नेपथ्यलाई सुन्ने दर्शकहरू आउने क्रम जारी नै थियो । देश बनाउनका आब्हानसहित ‘गाउँ गाउँबाट उठ वस्ती वस्तीबाट उठ……’ भन्ने गीत प्रस्तुत गर्दा दर्शकहरू फेरि उत्साहित भए । त्यस लगत्तै अमृतले आफ्ना चर्चित र जनजिव्रोमा झुण्डिएका दुई गीतहरू ‘जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना…..’ र तालको पानी माछीले खाने…..’ गाउँदा दर्शकहरूको हुटिङ, उत्साह र साथले सौराहा गुञ्जयमान बन्यो ।

यसमै अमृतले थपे, ‘सानोमा सानो कमलको हाँगा रेशम, कोपिला बस्यो नङले गोडेर हो रेशम…………..’

यो गीत गाएर सक्दा रातको झण्डै ८ बज्न लागेको थियो । विट मार्ने सोच बनाएका अमृतको प्रस्तुतिबाट दर्शकको धित अझै मरेको थिएन । हजारौं दर्शकले एकसाथ भने वान्स मोर……अनि अमृतले धरै पाएनन् र दोस्रोपटक गाए, ‘तालको पानी माछीले खाने…….’

अमृतलाई ड्रम्समा ध्रुब लामा, बेस गिटारमा सुविन शाक्य, मादलमा शान्ति रायमाझी, किर्वोडमा दिनेश राज रेग्मी, गिटारिष्ट निरज गुरूङले साथ दिएका थिए । लगातार २ घण्टादेखि प्रस्तुति दिइरहेका अमृतलाई थकाइ लागे पनि दर्शक भने झनै उत्साहित बनिरहेका थिए ।

१६ वटा प्रस्तुति दिइसकेका अमृतले आफ्नो अन्तिम प्रस्तुतिका रुपमा ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो…..’ गीत प्रस्तुत गरे । देशभन्दा ठूलो केही नभएको भन्दै अमृतले हिजो अभावै अभावका बीचमा पनि हाम्रा पुर्खाले देश जोगाउन लागिपरेकोले विभिन्न जातजाति, धर्म, समुदाय मिलेर वस्नुपर्ने र देशलाई राम्रो अवस्था पुर्‍याएर भोलिको पुस्तालाई हस्तान्तरण गर्नुपर्ने सन्देश दिए ।

लेखक
सुवास पण्डित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?