News Summary
Generated by OK AI. Editorially reviewed.- नेपथ्यले शनिबार कीर्तिपुरको ल्याब्रोटरी स्कुल ग्राउन्डमा दुई घण्टाको कन्सर्ट प्रस्तुत गरेको छ।
‘मै मरिजाउँला, जीवन छोटो छ
हो… लेखेको सम्झना चेतेर नफाल
सिरानमा फोटो छ… सिरानमा फोटो छ।’
शनिबारको दिन अर्थात् एकदिने अवकाशको समय । साँझको चिसो बतास फैलिरहेको कीर्तिपुर । जुन छेकेर भेला भएका बादलहरू । ४ बजेदेखि नै स्टेडियममा खचाखच मानिसहरू। अनि रमाइलो इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले सजाएको खाली स्टेज !
‘सिरानमा फोटो छ’ गीत बजिरहँदा अमृत गुरुङ उभिने फ्रन्ट स्टेजमा केवल माइक र स्ट्यान्ड मात्र थियो । निरज गुरुङले गिटारको स्ट्रिङ बेन्ड गरेका थिएनन्; ध्रुव लामाले ड्रम छोएका थिएनन्; सुबिन शाक्यको बेस गिटार गुञ्जिएको थिएन ।
संक्षेपमा भन्नुपर्दा, नेपथ्यका डिजिटल गीतहरूबाहेक सबैथोक नेपथ्यमै थियो । थिए त केवल उत्सुक दर्शकदीर्घा, जो नेपथ्यका ब्यान्ड मेम्बरहरूको क्षणिक अनुपस्थितिमा पनि उही गीत गुनगुनाइरहेका थिए ।
काउन्टडाउन सुरु भएसँगै उत्साहको नयाँ तरङ्ग फेरि जाग्यो– तीन, दुई, एक…! सेतै फुलेका जुँगा, निधारमा उही गोलो चस्मा, जिन्सको ज्याकेट, अनि लामो कपाल ! हुटिङले कीर्तिपुरे वायुमण्डल गुञ्जायमान भयो।
स्टेजका रङ्गीविरङ्गी लाइटहरूमा पनि अमृत सरल देखिएका थिए, सादा देखिएको थियो नेपथ्य । उपस्थित हजारौँ दर्शकहरूको स्पटलाइट बनिहाल्यो नेपथ्य।
हुन त नेपथ्यले पहिलो एल्बम रिलिज गरेको तीन दशक पार भइसकेको छ। यसबीचमा अनेकौँ ब्यान्डहरूको उदय भयो, अनेकौँ नवीनता र प्रयोगका सूत्रपातहरू भए । कति सफल भए, कति अझै घिस्रिँदै छन् त कतिको अवसान नै भइसक्यो । तर नेपथ्य यी सबै ‘क्याटेगोरी’ हरूभन्दा धेरै टाढा छ। नेपथ्यका गीतहरू कमल दीक्षितहरूका ओठमा थिए, उनका छोरा पुस्ताको रगरगमा थिए र नाति पुस्तालाई पनि उत्तिकै सम्मोहित गरिरहेका छन् ।
यही यथार्थलाई हिजोको नेपथ्य कन्सर्टले पुनः प्रमाणित गरिदियो। ६ बजेर १५ मिनेटदेखि दुई घण्टासम्म चलेको कन्सर्टले तीनै पुस्तालाई नचायो । कीर्तिपुरको ल्याब्रोटरी स्कुल ग्राउन्डलाई मानवीय सजीवताले हराभरा तुल्याइदियो । दिउँसो परेको पानीले भुइँ हिलाम्मे भए पनि दर्शकहरूले स्निग्धताको लोभ भुलेर नेपथ्यको संगीत र नृत्यमा आफूलाई अभिभूत तुल्याए।
000
नेपथ्य केवल गीत मात्र सुनाउँदैन; मानिसहरूलाई केवल नचाउने मात्र गर्दैन– यसले हाम्रो यथार्थमाथि प्रश्न पनि गर्छ । गीतको रसमा चुर्लुम्म डुबिरहेका बेला तिनै प्रश्नहरूले मनमा च्वास्स घोचिरहन्छन् पनि । उसो त यो अमृत गुरुङको व्यक्तित्वकै एउटा अभिन्न अङ्ग हो।

उनी कैवल्य प्राप्त गरेको तपस्वीझैँ जीवनशैली अपनाउँछन् । तन्नेरी स्यालहरूले पिछा गर्न नसक्ने वेगमा उनले नेपाल भ्रमण गरेका छन् । खोलानाला, हिमाल, पाखापखेरा र भावर सब दुलिसकेका छन्। अनि तिनै यात्राका क्रममा उनले जीवन्त गीतहरू खोजेका छन्। यसर्थ, उनले केवल गीत मात्र खोजेका छैनन्; नेपालको नाडी पनि छामेका छन् । यसका सम्भावना र सीमाहरूबारे उनी राम्ररी परिचित छन्।
त्यसैले त उनी हामीलाई हाम्रो पहिचानको बोध गराइरहन्छन्; हामीले बिर्सिँदै गएको मौलिकतालाई नयाँ पुस्तामाझ पस्किने कोसिस गर्छन्। हाम्रा भाषा, हाम्रा संस्कृति र हाम्रा जीवनशैलीका बारेमा निरन्तर बोलिरहन्छन्। हिजो पनि उनी त्यसै गरी बोले ।
‘सप्पै युवाहरू विदेश मात्र नताकौं । ताकीहाले पनि सिकेको सिप लिएर हाम्रै देश फर्कियौ हए…..।’
दर्शकहरू पनि बोलीमा लोली मिलाउदै भन्छन् – हए ! मानौँ, आफ्ना आत्मीय हजुरबुबाबाट आशिक लिँदै छन् नयाँ पुस्ताहरू ! स्टेजमा उभिएर गीतसँगै ज्ञान बाँडिरहेको त्यो गरिमामय मानव अस्तित्वबाट केही महत्त्वपूर्ण र सङ्ग्रहणीय कुराहरू ग्रहण गर्दै छन् नयाँ पुस्ता । अमृतलाई मान्नैपर्छ– उनी केवल एक असल गायक मात्र नभएकामा !
‘आँगनीभरी ’ गाउने बेला अमृत अलिकति भावुक पनि देखिए । उनले कीर्तिपुरमा डुलिहिँडेका पुराना दिनहरू सम्झिए । आफ्नो युग धमिलिँदै नयाँ यथार्थसँग परिचय गाँस्दा हुने स्वाभाविक भावुकता पनि देखाए । अनि उनी चिन्तित भए– प्रकृतिलाई उपेक्षा गरेर उभ्याइएका विकासका मोडलहरूप्रति; आफ्ना पाप पखाल्दा पखाल्दै प्रदूषित बनाइएको बागमतीप्रति; अनि आफ्ना भाषा, लिपि, शब्द र संस्कृति फुस्रो हुँदै उड्दै गएको वर्तमान समाजप्रति ।
अनि फेरि आँखा चिम्लेर मेघाछन्न आकाशतिर हेर्छन्, अनि वार्धक्य भरिएको स्वरले गाउँछन् – हे साइला….
उनको स्वरका डोबहरू अनुकरण गर्दै एक खेप फेरि उचालिन्छ दर्शक दीर्घा, हे साइलाको आवृतिमा । अमृत फेरि भन्छन्, ‘हाम्रो पालामा त जेठा, माइला, साइला, काइला…पो हुन्थ्यो । त्यसकारण जोजो साइला हुनुहुन्छ, तिनीहरू भाग्यमानी हए।’
आठ बजेसम्म नेपथ्यको माया पाएर कीर्तिपुर धनी भयो । कीर्तिपुरको माया पाएर नेपथ्य कृतज्ञ भयो । यो परिपूरकता नेपथ्यको मौलिकता र इमानदारिता बाहेक अरू के नै को पो प्रतिफल हुन सक्ला र !
प्रतिक्रिया 4