+
+
Shares

हडपिएको जग्गा खाली गर्न १८ वटा संघ–संस्थालाई त्रिविको पत्र

जग्गा हडप्ने को-को हुन् ?

त्रिविको स्वामित्वमा रहेको कीर्तिपुरमा मात्रै करिब १ हजार ५ सय रोपनी जमिन भोगचलनका हिसाबले विभिन्न संस्थाको मातहतमा गइसकेको त्रिविको जग्गा तथा अचल सम्पत्ति छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । यही प्रतिवेदनको आधारमा त्रिविले जग्गा खाली गर्न पत्र काटेको हो ।

दिनेश गौतम दिनेश गौतम
२०८३ वैशाख १३ गते १८:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको अतिक्रमित जग्गा खाली गर्न सम्बन्धित १८ वटा सङ्घ-संस्थालाई पत्राचार गरेको छ।
  • त्रिविको ५०५० रोपनी जग्गामध्ये २ हजारभन्दा बढी रोपनी विभिन्न सङ्घ-संस्थाले अनधिकृत रूपमा कब्जा गरेको प्रतिवेदनमा उल्लेख छ।
  • खोजबिन समितिले त्रिविको जग्गा कब्जा गर्नेमाथि अख्तियार र सिआइबीबाट अनुसन्धान गर्न सिफारिस गरेको छ।

१३ वैशाख, काठमाडौं । सरकारले अतिक्रमित जग्गा र अव्यवस्थित बसोबास हटाइरहेका बेला त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पनि आफ्नो स्वामित्वमा रहेको अतिक्रमित जग्गा खाली गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।

त्रिविको सामान्य प्रशासन महाशाखाले जग्गा अतिक्रमण गरी बसेका सङ्घ/संस्था र सङ्गठनलाई ४ वैशाखमा ३५ दिने सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा १८ वटा सङ्घ-संस्थालाई जग्गा खाली गर्न पत्राचार गरेको हो । त्रिविको जग्गा २१ वटा सङ्घ-संस्थाले ओगटेका छन् ।

‘३५ दिने सार्वजनिक सूचना जारी भइसकेको छ । १८ वटा सङ्घ, संस्था र सङ्गठनलाई पत्र काटेका छौँ,’ सामान्य प्रशासन महाशाखा प्रमुख राजबहादुर राईले भने ।

त्रिविको २ हजारभन्दा बढी रोपनी जग्गामा निजीदेखि धार्मिकसम्मका १८ वटा सङ्घ-संस्थाको रजाइँ रहेको पाइएको छ । त्रिविको ‘जग्गा तथा अचल सम्पत्ति छानबिन समिति’ को प्रतिवेदनमा १८ वटा सङ्घ-संस्थाको रजाइँ रहेको उल्लेख गरिएको छ ।

त्रिविको स्वामित्वमा रहेको कीर्तिपुरमा मात्रै करिब १ हजार ५ सय रोपनी जमिन भोगचलनका हिसाबले विभिन्न संस्थाको मातहतमा गइसकेको प्रतिवेदनमा उल्लेख छ । यही प्रतिवेदनका आधारमा त्रिविले जग्गा खाली गर्न पत्र काटेको हो ।

त्रिविले काटेको पत्रमा जुन प्रयोजनका लागि उपलब्ध गराइएको हो त्यो नभएकाले खाली गर्न सबै सङ्घ-संस्थालाई भनिएको छ ।

खोजबिन समितिको प्रतिवेदनमा उल्लेख भएका सङ्घ-सङ्गठनलाई खाली गर्न भनिएको हो । यसमा नेपाल क्रिकेट सङ्घ क्यान (क्रिकेट मैदान) देखि प्राध्यापक सङ्घ-सङ्गठन र ल्याबोरेटरी उच्च माविसम्म छन् ।

महेन्द्रकुमार थापा, जानकीबल्लभ अधिकारी, प्राध्यापक प्रेमसागर चापागाईं र सुशीला अधिकारीको छानबिन कमिटीले त्रिविको जग्गा फिर्ता ल्याउन र दोषीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

यस समितिको प्रतिवेदनमा भने कीर्तिपुर परिसरमा मात्र २१ वटा सङ्घ-सङ्गठनले त्रिविको जग्गा प्रयोग गरिरहेको उल्लेख छ ।

कसले कति प्रयोग गरेका छन् ?

त्रिविको कीर्तिपुर परिसरभित्र रहेका जग्गा २०१३ सालदेखि विभिन्न समयमा अधिग्रहण भएका हुन् । तर पछि ती सङ्घ-संस्थाले कति कब्जा गरेका र कतिलाई त्रिविको कार्यकारी परिषद्बाट निर्णय गरेर दिइएको हो भन्ने पाइएको छ ।

खोजबिन प्रतिवेदनमा त्रिविको ५०५०–३–१–१ रोपनी क्षेत्रफल जग्गा रहेको उल्लेख छ । तर पछि अरूले कब्जा गरेका हुन् । कतिपय सङ्घ-संस्थाहरूले बिनास्वीकृति कब्जा गरी उपभोग गरेको प्रतिवेदनमा उल्लेख छ ।

बीपी प्लानेटोरियम तथा अब्जरभेटरीलाई १६० रोपनी, कृषि बागबानी केन्द्रलाई २८१ रोपनी, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई २५ रोपनी, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई ८२+२५ रोपनी जग्गा नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ ।

महानगरीय प्रहरी वृत्त (कीर्तिपुर) लाई ५ रोपनी, महानगरीय प्रहरी वृत्त (कालिमाटी) लाई ४ रोपनी, नेपाल प्राध्यापक सङ्घलाई ६ रोपनी १२ आना, ग्लोबल आइएमई बैङ्क, लायन्स क्लब इन्टरनेसनलको रक्तसञ्चार केन्द्र, नेपाल क्रिकेट सङ्घ (७६ रोपनी ४ आना ३ दाम), नेपाल बैङ्क लिमिटेड भवन आदिलाई समेत गरी जग्गा उपलब्ध गराएको देखिन्छ ।

त्रिविको कुनै निर्णय तथा स्वीकृति, सम्झौताबिना त्रिविको नापनक्सा एवं लालपुर्जा भएको करिब १५ रोपनी जग्गा २०४७/०४८ सालदेखि राधास्वामी सत्सङ्ग व्यास नेपाल नामक संस्थाले अनधिकृत रूपमा प्रयोग गर्दै आएको पाइएको छ ।

कीर्तिपुर बहुमुखी क्याम्पसको नाममा नै जग्गाधनी दर्ता प्रमाणपुर्जा भएको कीर्तिपुर नगरपालिका वडा नं. १० को कि.नं. ३४ को १०८ रोपनी १४ आना २ पैसा ३ दाम जग्गा ल्याबोरेटरी माध्यमिक विद्यालयले अनधिकृत रूपमा जबर्जस्ती कब्जा गरी उपयोग गरिरहेको पनि देखिन्छ ।

त्रिवि र नेपाल क्रिकेट सङ्घबिच मिति २०५४ वैशाख २० र २०५९ वैशाख १ मा गरी २ पटक द्विपक्षीय सम्झौताबमोजिम त्रिवि क्रिकेट रङ्गशाला (त्रिविको स्वामित्वमा रहेको कि.नं. ३२ को ७६–४–३–० रोपनी) जग्गा भाडामा दिइएको छ ।

नेत्रज्योति सङ्घलाई मिति २०७२ असार २ गतेको सम्झौताबमोजिम २० वर्षका लागि १० रोपनी जग्गा भोगाधिकारमा दिइएको देखिन्छ ।

नेपाल बैङ्क लिमिटेडलाई कहिलेदेखि जग्गा उपलब्ध गराइएको भन्ने विवरण ‘उपलब्ध नभएको’ प्रतिवेदनमा उल्लेख छ ।

तर नेपाल बैङ्कले समितिलाई उपलब्ध गराएको पत्रमा भने मिति २०२६ साल मङ्सिर २२ को त्रिवि रजिस्ट्रार कार्यालयको पत्रका आधारमा जग्गामा भवन बनाई उपभोगमा ल्याउन सक्ने गरी स्वीकृति दिएको भनिएको छ ।

त्रिभुवन विश्वविद्यालयको जग्गा कीर्तिपुर नगरपालिकाको मिलेमतोमा प्रयोग भइरहेको पाइएको छ । खोजबिन समितिको प्रतिवेदनमा नगरपालिकाको मिलेमतोमा बसपार्क बनाएको उल्लेख गरिएको छ ।

‘त्रिवि परिसरभित्रको जग्गामा कीर्तिपुर नगरपालिकासमेतको मिलेमतोमा अनधिकृत रूपमा बसपार्क र फोहोर सङ्कलन स्थल बनाई ओगटेको १ सय रोपनी जमिनको बसपार्कले न त शुल्क तिर्छ न त फोहोर थुप्रो लगाउने नगरपालिकाले नै भाडा तिर्छ; त्रिविकै जमिनमा सार्वजनिक बास्केटबल, फुटबल ग्राउन्ड, नेवाः मंकाः खलःको पनि कार्यालय रहेको भन्नेसमेत उल्लेखित समाचारहरू पत्रपत्रिकामा प्रकाशित भएको’ प्रतिवेदनमा भनिएको छ ।

कीर्तिपुर नगरपालिकाद्वारा त्रिभुवन विश्वविद्यालय परिसरको दक्षिणपट्टि कीर्तिपुर नयाँबजार गेटनजिक त्रिविको स्वामित्व (जग्गाधनी प्रमाणपुर्जा भएको) को जग्गामा करिब एक रोपनी अतिक्रमण गरी सार्वजनिक शौचालय निर्माण गरी सञ्चालन गरेको पाइएको छ ।

त्रिविको दक्षिणपट्टि नयाँबजार क्षेत्रदेखि भाजङ्गलसम्म जोडिएको क्षेत्रमा कीर्तिपुर नगरपालिकाद्वारा भौतिक संरचना निर्माण गरी विविध कार्यका लागि प्रयोग गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

‘नयाँबजारसँग जोडिएको कीर्तिपुर गेटको नजिकको भागमा कभर्ड हल निर्माण गरिएको, नगरपालिकाको पर्यटन सूचना तथा सेवा केन्द्र बनाई उपयोग गरेको, यसै स्थानमा १२ वटा सटरहरू निर्माण गरी भाडा लगाइएको, माइक्रोबस पार्किङ गर्ने गरिएको, ठुलो भागमा नगरपालिकाले फोहोर जम्मा गर्ने डम्पिङ स्थल बनाएको र अन्य थप संरचनासमेत निर्माण गरिएको, विश्वविद्यालयका कर्मचारीहरूको क्वार्टर कब्जा गरी मोटरसाइकल वर्कसप खोलिएको (पछि त्यसैलाई) फोहोर सङ्कलन केन्द्र बनाइएको भन्ने उजुरी एवं गुनासो प्राप्त हुन आएको,’ प्रतिवेदनमा भनिएको छ ।

त्रिभुवन विश्वविद्यालयको करिब १० रोपनी जग्गा कब्जा गरी ढुङ्गा, गिट्टी र बालुवाको डिपो सञ्चालन गरिएको पाइएको छ ।

खोजबिन समितिको प्रतिवेदनले एग्रो एन्ड बायोलोजी राष्ट्रिय प्रयोगशाला भवन निर्माण परिसरको उक्त जग्गा कब्जा भए पनि त्रिवि र सरकारले बेवास्ता गरेको उल्लेख गरेको छ ।

‘२०७३ देखि नै स्थानीय ठेकेदार कविन्द्र महर्जनले अनधिकृत रूपमा ढुङ्गा, गिट्टी, बालुवा थुपार्ने गरेको, उपकुलपति, रजिस्ट्रार, रेक्टर कार्यालय र प्रहरी वृत्त कीर्तिपुरबाट मात्र एक किमी दुरीभित्र रहेको उक्त जग्गा हडपिएको सम्बन्धमा कसैले चासो दिएको छैन,’ प्रतिवेदनमा भनिएको छ ।

एग्रो एन्ड बायोलोजी प्रयोगशालाको कार्यालय भवन बने पनि डिपोका कारण त्यहाँ प्रयोगशालाको कार्यालय स्थापना गर्न नसकेको, प्रयोगशाला भवनसँगै ढुङ्गा-बालुवा थुपारेकाले मानिस आवतजावत गर्न समस्या भएको र पानीको लाइन ल्याउनसमेत नदिएको प्रतिवेदनमा उल्लेख छ ।

त्रिविको जग्गा कब्जा गर्नेमाथि अख्तियार र सिआइबीबाट अनुसन्धान गर्न खोजबिन समितिले सिफारिससमेत गरेको छ ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?