+
+
Shares

क-कसले हडपेका छन् त्रिविको जग्गा ?

त्रिविको ५०५०-३-१-१ रोपनी क्षेत्रफल जग्गा रहेकोमा पछि अरुले कब्जा गरेको पाइएको हो । प्रतिवेदन अनुसार करिब ८४३ रोपनी १० आना ६ पैसा १ दाम जग्गा सरकारी निकाय र विभिन्न गैरसरकारी संघसंस्थाहरूले उपयोग गर्दै आएको देखिन्छ ।

दिनेश गौतम दिनेश गौतम
२०८२ असोज २६ गते २३:१०

२८ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरभित्र रहेका जग्गाको लागि २०१३ सालदेखि विभिन्न समयमा अधिग्रहण भएकोमा पछि विभिन्न संघ संस्थले कब्जा गरेको पाइएको छ ।

शिक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ५०५०-३-१-१ रोपनी क्षेत्रफल जग्गा रहेकोमा पछि अरुले कब्जा गरेको पाइएको हो । महेन्द्रकुमार थापा, जानकी बल्लभ अधिकारी, प्राध्यापक प्रेमसागर चापागाई र सुशीला अधिकारी रहेको छानबिन समितिले गत वर्ष माघ १४ मा प्रतवेदन तयार गरी बुझाएको थियो ।

उक्त प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने दबाब भइरहेको थियो । तर तत्कालीन केपी शर्मा ओली सरकारले प्रतिवेदन सार्वजनिक गरेको थिएन । नयाँ अन्तरिम सरकार बनेपछि यो प्रतिवेदन सार्वजनिक भएको हो ।

प्रतिवेदन अनुसार करिब ८४३ रोपनी १० आना ६ पैसा १ दाम जग्गा सरकारी निकाय र विभिन्न गैरसरकारी संघसंस्थाहरूले उपयोग गर्दै आएको देखिन्छ ।

धेरै जग्गाहरू सम्बन्धित संघसंस्थाहरूले त्रिविमा अनुरोध गरेकोमा कार्यकारी परिषद्बाट निर्णय स्वीकृति भएपछि उपभोग गरेको देखिएको छ ।

‘केही जग्गा जमिन संघ संस्थाहरूले विना स्वीकृति कब्जा गरी उपभोग गरेको पनि देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ,’विभिन्न संघ संस्थाहरू एवं नेपाल सरकारको अनुरोधमा त्रिवि कार्यकारी परिषदको विभिन्न मितिको निर्णयबाट जग्गा उपलब्ध गराईएको कार्यकारी परिषद्‌को विभिन्न मितिको निर्णयबाट देखिन आएको छ।’

गणतन्त्र स्तम्भ निर्माणलाई ६० रोपनी, बीपी प्लानेटोरियम तथा अब्जरभेटरीलाई १६० रोपनी, कृषि बागबानी केन्द्रलाई २८१ रोपनी, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई २५ रोपनी, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई ८२+२५ रोपनी, जग्गा नेपाल सरकारको अनुरोधमा उपलब्ध गराईएको प्रतिवेदनमा उल्लेख छ ।

गणतन्त्र स्मारकका लागि भनी ६० रोपनी जग्गा नेपाल सरकारको अनुरोधमा २०६८ साल चैत १४ गते त्रिवि कुलपतिको तर्फबाट लेखिएको पत्रबाट उपलब्ध गराईएको र पछि उक्त स्थानमा गणतन्त्र स्मारक निर्माण नगर्ने भएपछि त्रिविलाई फिर्ता भएको भनी जानकारी हुन आएको प्रतिवेदनमा भनिएको छ ।

Preview Changes (opens in a new tab)

महानगरीय प्रहरी वृत्त (कीर्तिपुर) लाई ५ रोपनी, महानगरीय प्रहरी वृत्त (कालिमाटी) लाई ४ रोपनी, नेपाल प्राध्यापक संघलाई ६ रोपनी १२ आना, ग्लोबल आईएमई बैंक, लायन्स क्लब इन्टरनेसनलको रक्तसञ्चार केन्द्र, नेपाल क्रिकेट संघ (७६ रोपनी ४ आना ३ दाम), नेपाल बैंक लि. भवन आदिलाई समेत गरी जग्गा उपलब्ध गराएको देखिन्छ।

त्रिविको कुनै निर्णय तथा स्वीकृति, सम्झौता बिना त्रिविको नाप नक्सा एवं लालपूर्जा भएको करिब १५ रोपनी जग्गा २०४७/०४८ साल देखि राधास्वामी सत्संग व्यास नेपाल नामक संस्थाले अनधिकृत रूपमा प्रयोग गर्दै आएको पाइएको छ ।

यसैगरी, कीर्तिपुर बहुमुखी क्याम्पसको नाममा नै जग्गा धनी दर्ता प्रमाणपूर्जा भएको कीर्तिपुर नपा वडा नं. १० को कि.नं. ३४ को १०८ रोपनी १४ आना २ पैसा ३ दाम जग्गा लेबोरेटरी माध्यमिक विद्यालयले अनधिकृत रूपमा जबर्जस्ती कब्जा गरी उपयोग गरिरहेको पनि देखिन्छ ।

त्यसैगरी, त्रिवि र नेपाल क्रिकेट संघबीच मिति २०५४ वैशाख २० र २०५९ वैशास १ मा गरी २ पटक द्विपक्षीय सम्झौता बमोजिम त्रिवि क्रिकेट रंगशाला (त्रि.वि.को स्वामित्वमा रहेको कि.नं. ३२ को ७६-४-३-० रोपनी जग्गा भाडामा दिइएको छ ।
यस्तै नेत्रज्योति संघलाई मिति २०७२ असार २ गतेको सम्झौता बमोजिम २० वर्षका लागि १० रोपनी जग्गा भोगाधिकारमा दिइएको देखिन्छ।

नेपाल बैंक लिमिटेडलाई कहिले देखि जग्गा उपलब्ध गराइएको भन्ने विवरण ‘उपलब्ध नभएको’ भनी उल्लेख प्रतिवेदनमा उल्लेख छ ।

‘तर नेपाल बैंकले समितिलाई उपलब्ध गराएको पत्रमा भने मिति २०२६/०८/२२ को त्रिवि रजिष्ट्रारको कार्यालयको पत्रका आधारमा जग्गामा भवन बनाई उपभोगमा ल्याउन सक्ने गरी स्वीकृति दिएको भन्ने देखिन्छ’ प्रतिवेदनमा भनिएको छ ।

कीर्तिपुर नगरपालिका मिलेमतोमा १ सय रोपनी अनधिकृत रूपमा प्रयोग
त्रिभुवन विश्वविद्यालयको जग्गा कीर्तिपुर नगरपालिकाको मिलेमतोमा प्रयोग भइरहेको पाइएको छ । खोजबिन समितिको प्रतिवेदनमा नगरपालिकाको मिलेमतोमा बसपार्क बनाएको उल्लेख गरिएको छ ।

‘त्रिवि परिसरभित्रको जग्गामा कीर्तिपुर नगरपालिका समेतको मिलेमतोमा अनधिकृत रूपमा बसपार्क र फोहर संकलन स्थल बनाई ओगटेको १ सय रोपनी जमिनको बसपार्कले न त शुल्क तिर्छ न त फोहर थुप्रो लगाउने नगरपालिकाले नै भाडा तिर्छ, त्रिविकै जमिनमा सार्वजनिक बास्केटबल, फुटवल ग्राउण्ड, नेपाल मंका खलका पनि कार्यालय रहेको भन्ने समेत उल्लेखित समाचारहरू पत्रपत्रिकामा प्रकाशित भएको’ प्रतिवेदनमा भनिएको छ ।

कीर्तिपुर नगरपालिकाद्वारा त्रिभुवन विश्वविद्यालय परिसरको दक्षिण पट्टी कीर्तिपुर नयाँबजार गेट नजिक त्रिविको स्वामित्व (ज.ध. प्रमाणपूर्जा भएको) को जग्गामा करीब एक रोपनी अतिक्रमण गरी सार्वजनिक शैचालय निर्माण गरी सञ्चालन गरेको पाइएको छ ।

यसैगरी त्रिविको दक्षिणपट्टी नयाँबजार क्षेत्रदेखि भाजंगलसम्म जोडीएको क्षेत्रमा कीर्तिपुर नगरपालिकाद्वारा भौतिक संरचना निर्माण गरी विविध कार्यका लागि प्रयोग गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

‘नयाँ बजारसँग जोडिएको कीर्तिपुर गेटको नजिकको भागमा कबर्डहल निर्माण गरिएको, नगरपालिकाको पर्यटन सूचना तथा सेवा केन्द्र बनाई उपयोग गरेको, यसै स्थानमा १२ वटा सटरहरू निर्माण गरी भाडा लगाईएको, माइक्रोबस पार्किङ गर्ने गरिएको, ठूलो भागमा नगरपालिकाले फोहर जम्मा गर्ने डम्पिङ्ग स्थल बनाइएको अन्य थप संरचना समेत निर्माण गरिएको, विश्वविद्यालयको कर्मचारीहरूको क्वार्टर कब्जा गरी मोटर साइकल वर्कशप खोलिएको (पछि त्यसैलाई) फोहर संकलन केन्द्र बनाइएको भन्ने उजुरी एवं गुनासो प्राप्त हुन आएको,’ प्रतिवेदनमा भनिएको छ।

गिट्टी बालुवा डिपोले गरेको छ १० रोपनी जग्गा कब्जा
त्रिभुवन विश्वविद्यालयको करिब १० रोपनी जग्गा कब्जा गरी ढुंगा गिट्टी र बालुवाको डिपो सञ्चालन गरिएको पाइएको छ ।

खोजबिन समितिको प्रतिवेदनले एग्रो एण्ड बायोलोजी राष्ट्रिय प्रयोगशाला भवन निर्माण परिसरको उक्त जग्गा कब्जा भए पनि त्रि.वि. र सरकारले बेवास्ता गरेका उल्लेख गरेको छ ।

‘२०७३ देखि नै स्थानीय ठेकेदार कविन्द्र महर्जनले अनधिकृत रूपमा ढुंगा, गिट्टी बालुवा थुपार्ने गरेको उपकुलपति रजिष्ट्रार रेक्टर कार्यालय र प्रहरीवृत्त कीर्तिपुरबाट मात्र एक किमी दूरीभित्र रहेको उक्त जग्गा हडपिएको सम्बन्धमा कसैले चासो दिएको छैन,’ प्रतिवेदनमा भनिएको छ ।

एग्रो एण्ड बायोलोजी प्रयोगशालाको कार्यालय भवन बनेपनि डिपोका कारण त्यहाँ प्रयोगशालाको कार्यालय स्थापना गर्न नसकेको, प्रयोगशाला भवनसँगै ढुंगा, बालुवा थुपारेकोले मानिस आवत जावत गर्न समस्या भएको पानीको लाईन ल्याउन समेत नदिएको प्रतिवेदनमा उल्लेख छ ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?