+
+
Shares

त्रिवि क्रिकेट रंगशाला प्यारापिट र फ्लडलाइट सहित तयार, क्यानलाई हस्तान्तरण

हस्तान्तरणसँगै सोमबारदेखि  सुरु हुने ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) क्रिकेटका लागि रंगशालाको नयाँ स्वरूप तयार भएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ कात्तिक ३० गते २०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारको लगानीमा काठमाडौं कीर्तिपुरमा प्यारापिट र फ्लड लाइटसहित क्रिकेट रंगशालाको पहिलो चरणको काम पूरा गरी नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरिएको छ।
  • सहरी विकासमन्त्री कुलमान घिसिङले रंगशालाको दोस्रो चरणको काम छिटो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
  • नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले नयाँ संरचनाले नेपालमा डे–नाइट क्रिकेट सम्भव भएको बताए।

३० कात्तिक, काठमाडौं । सरकारको लगानीमा काठमाडौं कीर्तिपुरमा प्यारापिट र फ्लड लाइटसहित अत्याधुनिक क्रिकेट रंगशालाको पहिलो चरणको काम पूरा भएको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्रिकेट रंगशालाको पहिलो चरणमा निर्माण गरिएका प्यारापिट र फ्लड लाइट नेपाल क्रिकेट संघ (क्यान) लाई आइतबार हस्तान्तरण गरेको छ ।

सहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार साँझ कीर्तिपुर मैदान पुगेर हस्तान्तरण कार्यक्रममा सहभागी भए । योसँगै सोमबारदेखि  सुरु हुने ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) क्रिकेटका लागि रंगशालाको नयाँ स्वरूप तयार भएको छ ।

त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघबीच क्रिकेट मैदान प्रयोग गर्न भएको जग्गा करार सम्झौता म्याद वैशाख २०८३ मा सकिँदैछ ।

गत असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिइएको थियो ।

मन्त्रिपरिषद् बैठकले गुरुयोजना बमोजिम आवश्यक जग्गा प्राप्ति गर्न कानुन अनुसार त्रिवि, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् सहित निकायलाई निर्देशन दिइसकेको छ ।

अहिले रंगशालाको पहिलो चरणका काम पूरा गरी क्यानलाई हस्तान्तरण गरिएको हो । सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत गुरुयोजना अनुसार भने यस संरचनामा थप १० अर्ब रुपैयाँ लगानी गरिने छ ।

पटक-पटक ताकेतापछि सकियो काम

३१ असार २०८१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न क्रिकेट मैदान बनाउने निर्णय गरेको थियो ।

सोही बैठकले रंगशालामा दर्शक बस्ने प्यारापिट, रात्रिकालीन खेलकुदका लागि फ्लड लाइट र अन्य संरचना बनाउने तथा त्यस कामका लागि ३ सय दिनको समयसीमा समेत निर्धारण गरेको थियो । तर, समयसीमा अनुसार काम भने हुन सकेन ।

त्यसो त चैत २०७९ मै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा कीर्तिपुर मैदानमा फ्लड लाइट जडान प्रक्रिया अगाडि बढाइएको थियो । त्यो कामले समेत गति लिन सकेको थिएन ।

पछिल्लो पटक फागुन २०८१ मा प्यारापिट निर्माण र फ्लड लाइट जडान गर्न ठेक्का लागेको थियो । २४ वैशाख २०८२ भित्र काम सक्ने गरी सुरुमा सम्झौता भए पनि पुन: म्याद थप्दै कामलाई तीव्रता दिइएको थियो । यस रंगशालामा ४३ करोड ७७ लाख लागतमा प्यारापिट निर्माण गरिएको छ । जसको क्षमता १० हजार सिट बराबर छ ।

बीकेओआई केसीडीसी बिजी जेभीले प्यारापिट निर्माण गरेको हो । फ्लड लाइट जडानको काम विशाण–ईश्वरी जेभीले गरेको हो । जसको लागत ४२ करोड १९ लाख रुपैयाँ छ ।

सहरी विकास मन्त्रालयका अनुसार प्यारापिट बनाउने र फ्लड लाइट हाल्ने काम समयमै नसकिएपछि निर्माण कम्पनीलाई हर्जाना समेत लगाउनु परेको थियो । पूर्वसर्त र सम्झौता अनुसार कुल रकमको शून्य दशमलव ५ प्रतिशत दैनिक हर्जाना तिराएर काम गराइएको हो ।

यस्तो रकम दैनिक २ लाख हाराहारी हुन आउँछ । मन्त्रालयले ३२ असारमा सार्वजनिक गरेको विवरण अनुसार निर्माण कम्पनीलाई त्यही बेलादेखि दैनिक हर्जाना लगाउन थालिएको थियो ।

पछिल्लो समय सहरी विकासमन्त्री घिसिङले २३ असोजमा कीर्तिपुर मैदानको स्थलगत अवलोकन गर्दै क्रिकेट मैदान निर्माणको कामलाई सरकारले प्राथमिकता दिएको बताएका थिए ।

सोही क्रममा उनले छिटोभन्दा छिटो काम सम्पन्न गरी आयोजना हस्तान्तरण गर्नसमेत निर्माण कम्पनीलाई निर्देशन दिएका थिए । उनले यस मैदानमा दोस्रो चरणको काम समेत छिटोभन्दा छिटो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल भित्रै अन्तर्राष्ट्रिय क्रिकेट सञ्चालन गर्न सक्ने स्थितिमा पूर्वाधार पुर्‍याउने उनले बताएका छन् । ‘नेपालको यो पहिलो प्राथमिकताको नयाँ स्टेडियम हो, हामीले खेलका धेरै पूर्वाधार बनाउनुपर्ने छ, अरू पनि पूर्वाधारलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउनुपर्ने छ ।’

रंगशाला हस्तान्तरण कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्दले अब यो संरचना बनेसँगै नेपालमा पनि ‘डे–नाइट’ क्रिकेट खेल सम्भव भएको बताए । यसका लागि उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई धन्यवाद दिए ।

तत्कालीन सरकारले १० महिनाको समयसीमा तोकेकै कारण तुलनात्मक रूपमा छिटो आयोजना सम्भव भएको उनले बताए । उनले दोस्रो चरणको कामका लागि नयाँ सरकारले गरेको निर्णयप्रति समेत आभार व्यक्त गरे ।

उक्त निर्णयले क्यान उत्साहित भएको उनको भनाइ छ । हरेक प्रदेशमा यस प्रकारको पूर्वाधार बनाउन सके क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान पुग्ने चन्दले बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव टंकलाल घिसिङले यो आयोजनाको काम छोटो समयमा काम सम्पन्न गर्न खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयको संयुक्त पहलमा सम्भव भएको बताए ।

उनले रंगशालामा भएको लगानी खेलकुदमा भएको पहिलो यात्रा भन्दै उनले यो अब विस्तार हुने अपेक्षा गरे । पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सहरी विकासमन्त्री कुलमान घिसिङको नेतृत्वमा हट्ने उनले विश्वास गरे । रंगशालाको दोस्रो चरणको काम छिटो अगाडि बढ्ने अपेक्षा समेत उनले गरे ।

रंगशाला हस्तान्तरण कार्यक्रममा सहरी विकासमन्त्री घिसिङले क्रिकेट मैदान उज्यालो हुने गरी उद्घाटन गर्न पाउँदा उज्यालो नेपाल भएको जस्तो लागेको बताए । यसका लागि उनले विगतका सरकारको निर्णयलाई समेत स्मरण गरे ।

पहिलो चरणको काम सम्पन्न भएको भन्दै उनले आफूले दुई महिना अगाडि आएर गरेको अनुगमन समेत स्मरण गरे । अलिकति समय बढी भए पनि नेपालमा छिटो सम्पन्न भएको परियोजनामा यो आयोजना परेको उनले बताए । यसका लागि उनले निर्माण व्यवसायीलाई धन्यवाद समेत दिए ।

रंगशालाको पहिलो चरण सम्पन्न भएसँगै वर्तमान सरकारले १० अर्बको गुरुयोजना स्वीकृत गरेर दोस्रो चरणको टेन्डर प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको जानकारी दिए ।

आगामी दुईदेखि तीन वर्षमा गुरुयोजनाको काम सम्पन्न हुने आश्वासन उनले दिए । त्यसपछि सबै पूर्वाधार सम्पन्न क्रिकेट ग्राउन्ड बन्ने उनको भनाइ छ ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर 

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?