
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले विभिन्न संघसंस्थाले किर्ते कागजात बनाएर त्रिविको जग्गा कब्जा गरेको र आफ्नो नाममा बनाउन खोजेको पाइएको छ।
- लेबोरेटरी माध्यमिक विद्यालयले त्रिविको करिब १०९ रोपनी जग्गा स्वीकृति बिना उपभोग गर्दै आएको र जग्गा आफ्नो नाममा दर्ता गर्न मालपोत कार्यालयमा निवेदन दिएको पाइएको छ।
- समितिले शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालय, विद्यालय व्यवस्थापन समिति लगायतका पदाधिकारीमाथि अख्तियार र सीआईबीबाट थप छानबिन गर्न सिफारिस गरेको छ।
३० असोज, काठमाडौं । विभिन्न संघसंस्थाले किर्ते कागजात बनाएर त्रिभुवन विश्वविद्यालयको जग्गा आफ्नो नाममा ल्याउने प्रयास गरेको पाइएको छ ।
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले विभिन्न संघसंस्थाले त्रिविको जग्गा कब्जा गरेको र आफ्नो नाममा बनाउन प्रयास गरेको जनाएको छ ।
त्ययमध्येको एउटा संस्ठा हो, साबिकको ल्याब स्कुल (शिक्षण सिकाइ स्कुल) हालको लेबोरेटरी माध्यमिक विद्यालय । जसले त्रिविको करिब १०९ रोपनी जग्गा हडपेको छ ।
खोजबिन समितिका अनुसार लेबोरेटरी माध्यमिक विद्यालयले त्रिविको जग्गा स्वीकृति, सम्झौता बिना नै उपभोग गर्दै आएको देखिन्छ ।
त्रिभुवन विश्वविद्यालयले पटकपटक पत्राचार गरी जग्गा खाली गर्न अनुरोध गरेकोमा लेबोरेटरीले अटेर गरी कब्जा गरिरहेको हो । तर लेबोरेटरीले उक्त जग्गा त्रिविको नभएकाले खाली गर्न बाध्य नभएको बताउँदै आएको छ ।
‘लेबोरेटरी विद्यालयले उक्त जग्गा त्रिविको हक स्वामित्व भित्रको नभएकाले जग्गा खाली गर्न बाध्य नहुने जानकारी दिँदै आएको छ,’ प्रतिवेदनमा भनिएको छ । उक्त विद्यालयले आफूले भोगचलन गरेको त्रिवि स्वामित्वको जग्गा विद्यालयको नाममा दर्ता गर्न मालपोत कार्यालय, कलङ्कीमा निवेदन दिएको पाइएको छ ।
‘विद्यालयका तर्फबाट ५८/५९ वर्ष भोगचलन गरेकोले भोगाधिकार एवं प्रतिकूल भोगाधिकारका मान्यताअनुसार विद्यालयको स्वामित्व स्थापित हुन जान्छ भन्ने जिकिर रहेको छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तर, लेबोरेटरीले भोगचलन गरेको कीर्तिपुर नगरपालिका-१० कि.नं. ३४ क्षेत्रफल १०८-१४-२-३ जग्गाको फिल्डबुक र जग्गाधनी प्रमाणपुर्जा कीर्तिपुर बहुमुखी क्याम्पसको नाममा कायम रहेको छ । यसरी त्रिविको जग्गा कब्जा गर्नेमाथि अख्तियार र सीआईबीबाट अनुसन्धान गर्न खोजबिन समितिले सिफारिस गरेको छ ।
‘त्रिविको जग्गा होइन भनी अनाधिकृत कागज प्रमाण तयार गर्न लागेको देखिँदा यस्तो गैरकानुनी निर्णय प्रक्रियामा संलग्न शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय लगायतका तत्कालीन सबै पदाधिकारी एवं कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिका व्यक्तिहरू उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको सीआईबीले थप छानबिन कारबाही अघि बढाउनुपर्ने देखिन्छ,’ समितिले सिफारिस गरेको छ ।
मालपोत कार्यालय, कलङ्कीमा हाल साविक र जग्गा दर्ता प्रक्रिया अगाडि बढाइएको पाइएकाले सम्बन्धित सबैमाथि अनुसन्धान गर्न समितिले भनेको छ ।
‘त्रिभुवन विश्वविद्यालयको जग्गाधनी प्रमाणपुर्जा भएको जग्गा हडप्ने गलत मनसाय राखी विद्यालय व्यवस्थापन समिति, नेपाल शिक्षा समाज एवं सार्वजनिक शैक्षिक गुठीबाट समेत सरकारी जग्गा अपचलन गर्ने दुष्प्रयास भएको देखिँदा निजहरू उपर अधिकारप्राप्त निकाय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो तथा अख्तियारको दुरुपयोग सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत थप अनुसन्धान एवं छानबिन गर्ने कार्य अघि बढाउनुपर्ने देखिन्छ,’ समितिको सिफारिसमा भनिएको छ । नेपाल प्राध्यापक संघले प्रयोग गरेको जग्गाको पनि अख्तियार र सीआईबीले अनुसन्धान गर्न समितिले सिफारिस गरेको छ । संघले ६ रोपनी १२ आना जग्गा आफ्नो स्वामित्वमा बनाउन खोजेको पाइएको छ ।
संघले गैरकानुनी तथा अनधिकृत रूपमा त्रिवि स्वामित्वको जग्गालाई संघको स्वामित्व हो भन्ने झुटो बेहोरा बनाइ व्यापार व्यवसाय सञ्चालन गर्न तेस्रो पक्षसँग सम्झौता गरी गैरकानुनी रूपमा बढी जग्गा उपभोग गर्ने/गराउने र भाडामा लगाउने गरेको समितिको ठहर छ ।
‘नेपाल प्राध्यापक संघका पदाधिकारी उपर ठगी तथा अन्य कसुरमा प्रचलित कानुनबमोजिम केन्द्रीय अपराध अनुसन्धान ब्युरोबाट थप छानबिन हुनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । त्रिवि सरकारी निकाय भएको र यसको स्वामित्वमा रहेको जग्गा तोकिएको कार्य वा प्रयोजनविपरीत प्राज्ञिक, शैक्षिक कार्यको प्रयोजनमा नलगाई झुटा बेहोरा बनाई तेस्रो पक्षसँग सम्झौता गरी गैरकानुनी रूपमा आर्थिक फाइदा लिइरहेको पाइएको छ ।
‘सरकारी जग्गा-जमिनको अपचलन गरी अनधिकृत तथा गैरकानुनी रूपमा फाइदा लिएको झुटो दाबी एवं स्वामित्व देखाई सम्झौता गरेको गैरकानुनी रूपमा आर्थिक लाभ (भाडा) प्राप्त गरी त्रिविलाई आर्थिक हानि-नोक्सानी पुग्न गएको देखिएकोले सम्बन्धित निर्णयकर्ताहरूबाट असुल उपर गर्न/गराउन सो उपर सम्बन्धित थप अनुसन्धान गर्नसमेत निकायबाट छानबिन हुन कारबाही अघि बढाउनुपर्ने,’ प्रतिवेदनमा भनिएको छ ।
त्रिभुवन विश्वविद्यालयको २ हजार बढी रोपनी जग्गामा निजीदेखि धार्मिकसम्मका संघसंस्थाले रजाइँ गरेको पाइएको छ ।
त्रिविको स्वामित्वमा रहेको कीर्तिपुरस्थित झन्डै १ हजार ५०० रोपनी जमिन भोगचलनका हिसाबले विभिन्न संस्थाको मातहतमा गइसकेको छ । त्रिविको ५०५०-३-१-१ रोपनी क्षेत्रफल जग्गा रहेकोमा पछि अरूले कब्जा गरेका हुन् ।
प्रतिक्रिया 4