+
+
Shares
खोजबिन समिति प्रतिवेदन :

त्रिवि क्याम्पसका जग्गा पनि अतिक्रमण : कतै लालपुर्जा छैन, कतै भवन भाडामा

खोजबिन समितिको प्रतिवेदनअनुसार त्रिभुवन विश्वविद्यालय आंगिक क्याम्पसहरूका जग्गा र भवनहरू पनि अतिक्रमण भएको फेला परेको छ ।

दिनेश गौतम दिनेश गौतम
२०८२ असोज २९ गते १७:४२

२९ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय आंगिक क्याम्पसहरूका जग्गा र भवनहरू पनि अतिक्रमण भएको पाइएको छ । खोजबिन समितिको प्रतिवेदनअनुसार क्याम्पसहरूको जग्गा साबिकभन्दा कम रहेको फेला परेको हो ।

लैनचौरस्थित अमृत क्याम्पसको १ रोपनी जग्गा कमी देखिएको छ । ‘उक्त क्याम्पसका भवनहरू २०७२ सालको भूकम्पले जीर्ण भएको, क्याम्पसको दक्षिण-पूर्वपट्टि पर्खाल नभई तारबार मात्र भएको र १ रोपनी जग्गा कम भएको देखिँदा यसमा के भएको हो ? क्याम्पस प्रशासनले खोजी गर्ने, नाप नक्सा गराई जग्गा यकिन गर्नुपर्नेछ,’ प्रतिवेदनमा भनिएको छ ।

सुरुको नापी समयको पुर्जामा ७–४–३–३ उल्लेख भएकोमा मिति २०५६/०९/०८ पछि प्राप्त गरेको पुर्जामा ६–४–३–३ मात्र लेखिएको देखिएकोले क्याम्पस प्रशासनले खोजबिन गरी यकिन गर्नुपर्ने समितिले सिफारिस गरेको छ ।

थापाथली क्याम्पसको भने साँध सिमाना कायम गर्नुपर्ने देखिएको छ । नेपाल ल क्याम्पसले आफ्नो जग्गामा बनेका सटर भाडामा दिएको छ । तर कसलाई कतिमा भाडामा दिएको हो स्पष्ट छैन ।

‘क्याम्पसले आफ्नो जग्गामा रहेको भवन र कम्पाउन्डसँग जोडिएको जग्गामा १८ वटा सटर भाडामा लगाएको सम्बन्धमा भने कुन मितिदेखि कुन–कुन संस्था वा व्यक्तिलाई के कति रकममा भाडामा लगाउने गरी सम्झौता भए/गरेको थियो भन्ने विषयमा थप जानकारी प्राप्त हुन सकेन,’ प्रतिवेदनमा भनिएको छ ।

नेपाल कमर्स क्याम्पसको जग्गा ललितपुरमा पनि २१–११–०–० रहेको तर उक्त जग्गा पुल्चोक इन्जिनियरिङ क्याम्पसको जग्गासँगै रहेको देखिएको छ ।

उक्त जग्गा क्याम्पस मातहत ल्याउनुपर्ने सुझाव समितिले दिएको छ । ‘भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरबाट प्राप्त भएको श्रेष्ता बमोजिमको क्याम्पसले उक्त कार्यालयसँग पत्राचार गरी २१–११–० क्षेत्रफल जग्गाको पुर्जा नियमानुसार लिने,’ प्रतिवेदनमा भनिएको छ ।

नेपाल कमर्स क्याम्पसको जग्गामा पनि लामो समयदेखि सटरहरूको भाडा लिन बाँकी रहेको छ । ‘बक्यौता भाडा उक्त क्याम्पस सरकारी निकाय नै भएकाले प्रचलित कानुनबमोजिम सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक कानुनी प्रक्रिया अबलम्वन गरी तत्काल उठाउनुपर्ने,’ प्रतिवेदनमा भनिएको छ ।

पब्लिक युथ क्याम्पस प्रशासनले क्याम्पसको स्वामित्वमा रहेको जग्गा-जमिन क्षेत्रफल र चारकिल्ला यकिन गर्नुपर्ने देखिएको छ । पुर्जामा उल्लेखित मोहीहरूको लगत कट्टा गर्ने र कारबाहीलाई टुङ्गोमा पुर्याउनुपर्ने छानबिन समितिको सुझाव छ ।

पाटन संयुक्त क्याम्पसको नाममा प्राप्त जग्गाधनी दर्ता प्रमाणपुर्जामध्ये केहीमा अझै मोहीको नाम उल्लेख छ । ‘२०२६ सालमा नै अधिग्रहण भइसकेको र सोही समयदेखि एकलौटी भोगचलनमा रहेको हुँदा अभिलेख हेरी मोही लगत कट्टा गर्न कारबाही अघि बढाउनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

क्याम्पसहरूको स्वामित्वमा रहेका सबै आंगिक क्याम्पसको जग्गा-जमिनको विवरण प्राप्त हुन नसकेको कारण जग्गाको क्षेत्रफल यकिन गर्न नसकिएको समितिले उल्लेख गरेको छ ।

क्याम्पसको नाममा रहेको फिल्डबुकमा रहेको विभिन्न कित्ताहरूको २९–४–०–१ रोपनी जग्गाको जग्गाधनी प्रमाणपुर्जा उपलब्ध नभएको र प्रमाणपुर्जा लिनुपर्ने देखिएको छ ।

क्याम्पसको नाममा रहेको १–६–२ रोपनी जग्गा कहाँ कसले कसरी उपभोग गरेको छ सोको खोजबिन गरी क्षेत्रफल यकिन गर्नुपर्नेछ ।

इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको नाममा रहेको जग्गाधनी प्रमाणपुर्जामा अझै केही असम्बन्धित विवरण छ । प्रतिवेदनअनुसार जग्गाधनी प्रमाणपुर्जामा गुठी उल्लेख छ । ‘क्याम्पस र त्रिवि दुवैले जग्गाको लालपुर्जामा दोहोरो स्वामित्व कट्टा गर्ने कारबाहीको प्रक्रिया तत्काल बढाउन समितिले भनेको छ ।

विश्वभाषा क्याम्पसको जग्गामा साझा प्रकाशनसँग भएको सम्झौताको अवधि व्यतित भए पनि उपभोग गर्न दिइरहेको पाइएको छ । त्रिविलाई आर्थिक हानि-नोक्सानी नहुने गरी गर्नुपर्ने समितिले बताएको छ ।

भक्तपुर बहुमुखी क्याम्पसको भाजुपोखरीको उत्तरपश्चिम वरिपरिको जग्गामा पोखरीको सौन्दर्य कायम राखे भन्दै उक्त पोखरीको डिल क्षेत्रमा नगरपालिकाले हस्तक्षेप गरिरहेको विषयलाई टुंगो लगाउनुपर्ने देखिएको छ ।

महाराजगञ्ज नर्सिङ क्याम्पसमा २०४२ सालमा जापान सरकारको सहयोगमा निर्मित शैक्षिक तथा प्रशासनिक र छात्रवास भवन २५/३० रोपनी जमिन चिकित्साशास्त्र अध्ययन संस्थान डिन कार्यालयअन्तर्गत रहेको तर क्याम्पसको नाममा लालपुर्जा उपलब्ध नभएको पाइएको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगञ्ज परिसरमा रहेको शिक्षण अस्पताल, मनमोहन कार्डियो सेन्टर, बीपी कोइराला नेत्र अध्ययन केन्द्र, डिन कार्यालय, महाराजगञ्ज नर्सिङ तथा महाराजगञ्ज चिकित्सा क्याम्पसको जग्गाधनी पुर्जा अध्ययन संस्थान र अन्तर्गतका उक्त निकायहरूमा नरहेको पाइएको छ ।

जग्गाधनी पुर्जा उपलब्ध गराइदिन मालपोत कार्यालय डिल्लीबजारमा पत्राचार भइरहेको प्रतिवेदनमा भनिएको छ ।

२८ माघ २०३७ मा महाराजगञ्जस्थित तत्कालीन शाही नेपाली सेनाको १६२ रोपनी जग्गा प्रस्तावित टिचिङ हस्पिटलको लागि हस्तान्तरण गर्नेगरी मन्त्रिपरिषद्बाट निर्णय भएको देखिएको छ ।

सोबमोजिम जग्गा लगत कट्टा गरी शिक्षा मन्त्रालयलाई हस्तान्तरण गर्न जग्गाको कागज पत्रसहित शिक्षा मन्त्रालयलाई हस्तान्तरण गर्ने भनिएको छ । तर समितिको अध्ययनको क्रममा जग्गा हस्तान्तरण भए/नभएको प्रष्ट नभएको पाइएको छ ।

‘समितिलाई हालसम्म प्राप्त कागजात, सूचना र अन्य विवरणको आधारमा हेर्दा हालसम्म तत्कालीन शाही नेपाली सेनाले निकायबाट उपभोग गरेको माथि उल्लेखित जग्गा शिक्षा मन्त्रालयको नाममा जग्गा हस्तान्तरण भए नभएको प्रष्ट हुन सकेन,’ प्रतिवेदनमा भनिएको छ ।

महेन्द्ररत्न क्याम्पसको स्वामित्व वा भोगाधिकार प्राप्त नभएको अवस्थामा तत्काल क्याम्पसको शैक्षिक र प्राज्ञिक कार्य सुचारु गरी प्रभावकारी रूपमा क्याम्पस सञ्चालन गर्न पुराना भवन मर्मत-सुधार गर्नसमेत कठिन भएको पाइएको छ । महेन्द्ररत्न क्याम्पसको जग्गाहरू यकिन गर्नुपर्ने, श्रेष्ता अद्यावधिक गर्नुपर्ने र क्याम्पसको मागअनुसार स्वामित्व हस्तान्तरण गर्ने वा भोगाधिकार दिनुपर्ने समितिको सुझाव छ ।

रात्नराज्य क्याम्पस परिसरमा रहेको १८ वटा सटर भाडामा लगाइएको छ । तर कहिलेदेखि को–कोसँग के कति रकममा भाडामा लगाएको भन्ने प्रष्ट छैन । ‘कानुनबमोजिम भए/नभएको केन्द्रीय निकायबाट अनुगमन र आवश्यकताअनुरूप छानबिन हुनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

त्यसैगरी सरस्वती क्याम्पसले पनि १० वटा सटर भाडामा लगाएको छ । कानुनबमोजिम भाडामा दिइएको छ/छैन अनुसन्धान गर्न समितिले सिफारिस गरेको छ ।

शंकरदेव क्याम्पसले पनि १४ वटा सटर र एउटा क्यान्टिन चलाउन भाडामा दिएको छ ।

सानोठिमी क्याम्पसको पनि जग्गा के-कति हो यकिन गर्नुपर्ने देखिएको छ । ‘शिक्षा विभाग/मन्त्रालयको स्वामित्वमा रहेको जग्गाको अतिक्रमण भए/नभएको सम्बन्धमा अनुगमन गरी क्षेत्रफल र भोगाधिकारमा प्राप्त गर्ने निकायले तोकिएको उद्देश्यबमोजिम उपयोग गरे/नगरेको सम्बन्धमा मन्त्रालयले अनुगमन गर्ने र त्यसको अभिलेख अद्यावधिक गर्नुपर्ने,’ प्रतिवेदनमा भनिएको छ ।

क्याम्पसले भोगचलन गरेको कूल क्षेत्रफलमध्ये लगभग ३० रोपनी जग्गामा वर्षौंदेखि बालीनाली, तरकारी खेती लगाउन भाडामा लगाएको पाइएको छ । त्रिचन्द्र बहुमुखी क्याम्पसको जग्गा मिचिएको आशंका समितिको छ । कति मिचिएको हो सोको अनुसन्धान हुनुपर्ने भनिएको छ ।

प्रतिवेदनअनुसार त्रिविको उपत्यकामा रहेका सबै क्याम्पसहरूको स्वामित्व, भोगाधिकार भोगचलनमा १२५३–१३–२–१ क्षेत्रफल जग्गा-जमिन र भवन रहेको छ । उपत्यका बाहिर सञ्चालनमा रहेका ४० क्याम्पसमध्ये २६ वटा क्याम्पसको जग्गा-जमिन तथा भवनहरूको विवरण समितिमा प्राप्त भएको उल्लेख गरिएको छ ।

उपत्यका बाहिरका क्याम्पसहरूबाट समितिलाई प्राप्त भएको विवरणअनुसार क्याम्पसहरूको स्वामित्वमा १०३३२ रोपनी १५ आना १ पैसा १.८९ दाम क्षेत्रफल जग्गा-जमिन र भवनहरू रहेको छ ।

क्याम्पसहरूको स्वामित्वमा रहेका सबै आंगिक क्याम्पसको जग्गा-जमिनको विवरण प्राप्त हुन नसकेको कारण जग्गाको क्षेत्रफल यकिन गर्न नसकिएको समितिले उल्लेख गरेको छ । त्रिविको हाल ६२ क्याम्पसहरू (उपत्यकामा २२ र उपत्यका बाहिर ४० समेत) छन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?