+
+
Shares

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणमा

जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न नसकेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते ९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई बिघाभन्दा बढी जग्गा अतिक्रमणमा परेको छ तर समस्या समाधान हुन सकेको छैन।
  • स्थानीय सुकुमवासीहरूले पुनर्वासको व्यवस्था भए मात्र जग्गा खाली गर्ने अडान राखेका छन् ।
  • प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सुकुमवासीको पहिचान गरी समस्या समाधान गरिने बताए।

१५ वैशाख, दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–१४ स्थित उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन ।

जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न नसकेको जनाएको छ ।

अतिक्रमित जग्गा खाली गराउन आवश्यक समन्वय र सहजीकरणका लागि २०८२ चैत १८ गते गृह मन्त्रालयअन्तर्गत आन्तरिक प्रशासन, सहरी तथा सभा–समारोह व्यवस्थापन शाखाले जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचारसमेत गरेको थियो ।

उक्त क्षेत्रमा बसोबास गर्दै आएका सुकुमवासी तथा भूमिहीनहरूले भने पुनर्वासको व्यवस्था भए मात्र जग्गा खाली गर्ने अडान राखेका छन् । घोराही–१४ खोलीगाउँ निवासी भीमा कामीले आफ्नो जग्गा नभएकाले बाध्यतावश खोला किनारमा बस्नुपरेको बताउँदै स्थायी बसोबासको सुनिश्चितता भए अन्यत्र जान तयार रहेको बताइन् ।

स्थानीय मानबहादुर बुढाले पनि २०४० सालदेखि उक्त क्षेत्रमा बस्दै आएको उल्लेख गर्दै अहिले हटाउन खोज्दा कहाँ जाने भन्ने चिन्ता थपिएको बताए ।

स्थानीयवासीहरूको साझा माग भनेको पुन: विस्थापित नहुने गरी स्थायी व्यवस्थापन गरिनु पर्ने रहेको छ । अहिले जस्तो बारम्बार हटाइने अवस्था नहोस् भन्ने उनीहरूको चाहना छ ।

वडा सदस्य तथा ट्राफिकचोक खोलीगाउँ टोल विकास समितिकी अध्यक्ष रचना कुमालका अनुसार उक्त क्षेत्रमा हाल १५९ घरपरिवार बसोबास गर्दै आएका छन् । जसमध्ये पुलचोक खोलीगाउँमा ५४ र ट्राफिकचोक खोलीगाउँ टोलमा १०५ घरपरिवार रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक प्रा.डा. जनार्दन पन्थीका अनुसार सेवा विस्तार र शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक भौतिक संरचना निर्माण गर्नुपर्ने भए पनि बस्तीका कारण समस्या भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रतिष्ठान, स्थानीयवासी र घोराही उपमहानगरपालिकाबीच समन्वय गरी वास्तविक सुकुमवासीको पहिचान गरी समस्या समाधान गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?