४ मंसिर, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी दीपेश महतले दक्षिण कोरियामा जारी ११औं विश्व पारा तेक्वान्दो च्याम्पियनसिप (जी–१४) मा रजत पदक जितेका छन् ।
दक्षिण कोरियाको मुजुस्थित तेक्वान्दोवनमा बिहीबार भएको प्रतियोगिताको पुरुष ५८ केजीमुनि के–४१ विधामा महतले रजत पदक जितेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए ।
महतले सेमिफाइनलमा टर्कीका कोसे सबितलाई १४–४ ले नकआउट गर्दै फाइनलमा स्थान बनाएका थिए । तर, स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा रुसका रिनात इयाकुपोभसँग पराजित भएपछि उनले रजत पदकमा चित्त बुझाए ।
तीन राउन्डकोप्रतिस्पर्धामा पहिलो राउन्डमा महत २३–२२ ले पराजित भए । दोस्रो राउन्ड २२–२२ को बराबरीमा सकिएको थियो भने तेस्रो राउन्डमा २२–२० ले आफ्नो पक्षमा पार्दै रुसी खेलाडीले स्वर्ण जिते ।
यससँगै नेपालले १२ वर्षपछि विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा पदक जितेको छ । यसअघि सन् २०१४ मा रुसमा भएको पाँचौं संस्करणमा यादव कुँवरले नेपालका लागि रजत पदक जितेका थिए । पाराओलम्पिक पछि विश्व च्याम्पियनसीप ठूलो प्रतियोगिता हो ।
प्रतियोगितामा ६४ देशका २४५ खेलाडीले सहभागिता जनाएका छन् । नेपाली टोलीको व्यवस्थापकमा हेमन्त डाँगी र प्रशिक्षकमा कविराज नेगी लामा छन् ।
यसैगरी, अर्का नेपाली खेलाडी अमिर ब्लोनले नोभेम्बर २१ मा इरानका अलिजादेह अरब ए.सँग प्रतिस्पर्धा गर्ने प्रशिक्षक लामाले जानकारी दिए । प्रतियोगिताको उद्घाटन समारोहमा नेपालको झण्डा अमिर ब्लोनले बोकेका थिए ।
प्रतिक्रिया 4