शरद पराशर मरहट्टाको कविता सङ्ग्रहको शीर्षक ‘यता कि उता’ आफैँमा एउटा गम्भीर, गहन र बहुआयामिक जीवन-दर्शन हो, जसले आधुनिक मानव चेतना, पहिचानको खोज र दोधारमा रहेको प्रवासी जीवनको यथार्थलाई जीवन्त बिम्बका रूपमा प्रस्तुत गरेको छ।
‘यता’ प्रवास अर्थात् वर्तमान हो भने ‘उता’ आफ्नै जन्मभूमिको स्मृति र अपनत्व हो। यी दुईबीचको दूरीलाई कविले भावनात्मक सम्बन्धको बलियो सेतुले जोड्दै प्रवासी मनको द्विविधालाई प्रस्तुत गरेका छन्। प्राप्ति र त्याग, प्रविधि र परम्परा, भौतिक अवसर र भावनात्मक अपनत्व अनि उज्यालो भविष्यको खोजी र आफ्नो थातथलोप्रतिको अगाध मोहबीच अल्झिएको आधुनिक प्रवासी जीवनको आन्तरिक द्वन्द्व नै यस कविता सङ्ग्रहको मूल स्वर हो।
एउटा स्रष्टाको व्यक्तिगत भोगाइ मात्र नभई लाखौँ प्रवासी नेपालीहरूको साझा नियति, मनस्थिति र पहिचानको सङ्घर्षलाई शब्दमा ढालिएको एउटा मर्मस्पर्शी काव्यिक दस्ताबेज हो- ‘यता कि उता ?’।
संस्कृतमा एउटा भनाइ छ- ‘स्थानभ्रष्टा न शोभन्ते दन्ता केशा नखा नराः।’
आफ्नो मूल स्थानबाट अलग्गिएपछि दाँत, कपाल, नङ वा मानिस कसैको पनि पूर्ववत् शोभा, प्राकृतिक सौन्दर्य वा वास्तविक पहिचान कायम रहँदैन। आफ्नो ठाउँबाट जरा उखालिएका शारीरिक अवयवहरूले आफ्नो गरिमा र औचित्य गुमाएझैँ मान्छेले पनि आफ्नो जन्मभूमि र संस्कृतिबाट टाढिएपछि स्वपहिचानको सङ्कटसँग जुध्न बाध्य हुन्छ।
तर, समय र परिस्थितिको तीव्र परिवर्तनसँगै आजको संसारलाई ‘ग्लोबल भिलेज’ र अमेरिकाजस्ता विविध संस्कृतिले भरिएका देशलाई ‘मेल्टिङ पट’ भन्न थालिएको छ। सिद्धान्ततः ‘मेल्टिङ पट’मा भिन्नभिन्न भूगोल र संस्कृतिका मानिसहरू घोलिएर एउटै साझा पहिचानमा समाहित हुनुपर्ने हो। तर, व्यावहारिक जीवनमा सधैँ त्यस्तो नभएको अवस्था पनि हुन्छ।
बहुसांस्कृतिक ‘मेल्टिङ पट’मा जति नै चलाए, तताए वा मिसाए पनि बेलाबखत पूर्ण रूपमा पग्लिएर विलय हुन नसकेका हामी नेपाली आप्रवासीका तीतामीठा र द्विविधाग्रस्त यथार्थहरू नै यस सङ्ग्रहको मूल आत्माका रूपमा रहेका छन्।
‘यता’ आफ्नो जन्मभूमि, स्मृति र अपनत्वको भूगोल र ‘उता’ कर्मभूमि, भौतिक सुविधा र सम्भावनाको संसारबीचको यो निरन्तरको अस्तित्वगत सङ्घर्षको दोसाँधमा उभिएर आफ्नै अस्तित्व र पहिचानको खोजी गरिरहेका आप्रवासीहरूको संवेदनालाई साहित्यकार शरद पराशर मरहट्टाले अत्यन्तै सूक्ष्म र प्रभावकारी ढङ्गले उजागर गरेका छन्।
जब एउटा सुन्दर घर बनाउने अभिलाषा बोकेर मानिसले आफ्नो घरै बन्धक राख्छ र त्यही घर छोडेर परदेश लाग्छ, तब ऊ भौतिक र मानसिक रूपमा खण्डित हुन पुग्छ। घर छोड्दा झोलामा सीमित सामान लिएर हिँडेको मान्छेले मनभित्र भने असीमित सम्झना, संस्कार, मूल्य र मान्यता बोकेर हिँडेको हुन्छ। ‘यता कि उता’ पुस्तकमा यही मानसिक झोलाभित्रका जीवन्त अनुभूतिहरूलाई सुन्दर ढङ्गले सङ्ग्रहित गरिएको छ।
विदेशमा बस्ने मानिसहरूको आफ्नो देश र माटोप्रतिको अगाध माया यस सङ्ग्रहले छर्लङ्ग पारिदिएको छ। कहिले हवाई त कहिले नर्थ क्यारोलिनाको भूगोलबाट लेखक चुँदी रम्घा सम्झन्छन्। भानुभक्त, लक्ष्मीप्रसाद देवकोटा, बाआमा र बहिनीलाई शब्दमा उतार्छन्।
दशैँ-तिहार मात्र नभई स्वदेशमै बस्नेहरूले समेत झन्डैझन्डै बिर्सिइसकेको ‘लुतो फाल्ने’ जस्ता मौलिक परम्परालाई आफ्ना कवितामा उतार्छन्। त्यस अर्थमा एउटा टीठलाग्दो प्रश्न पनि यहीँबाट जन्मिन्छ- के विदेशमा बस्नेहरू ‘कम नेपाली’ वा ‘अलि फरक नेपाली’ हुन् ?
सङ्ग्रहभित्रका प्रायः सबै रचनाहरूले कुनै न कुनै तवरले पाठकको मनमा गहिरो छाप छाड्छन्।
पृष्ठ ३४ को ‘यता कि उता ?’ कविताबाट उद्धृत गरिएको कविताको बाको प्रश्नले पाठकको मनमस्तिष्कलाई गहिरोसँग हल्लाउँछ र सोच्न बाध्य पार्छ-
सुख नसोधौँ होला,बरु सन्तुष्टि सोध्छु
पसिना नसोधौँ होला,
बरु तृप्ति सोध्छु
आज त ‘आज’ नै भयो
भोलि सोध्छु
तँ कता ?
यता कि उता ?
पृष्ठ ६१ मा सङ्ग्रहित ‘खोइ ! हामी कहाँनेर बहादुर बन्यौँ ?’ कविताले पुर्खाको इतिहासको बलमा वर्तमानको लाचारी लुकाउने प्रवृत्तिमाथि कडा प्रहार गरेको छ। विगतको वीरतामा रमाउने र ‘मेरो बाउले हिङ खाए, मेरो हात सुँघ-सुँघ’ भन्दै आत्मरतिमा भुल्ने नेपाली समाजको यथार्थलाई कविले यी पङ्क्तिहरूमा यसरी उतारेका छन् :
गार्गी र पासाङ ल्हामु त अब इतिहास मात्र भए
विद्वता र पराक्रमलाई नयाँ ढङ्गले परिभाषित गर्ने क्रममा,
हामी यो शताब्दीकै घिनलाग्दो व्यापारमा रमायौँ,
आफ्नै अनुहारमा आफैँले मोसो दलेर पनि
पटकपटक पुरानै उपक्रमलाई दोहोर्याइरह्यौँ।
घरको छानोमा टिन लगाउने बहाना बनाउँदै
छोरालाई विदेश पठाउने परम्परामा गति दियौँ,
छोरीहरूलाई पनि नोटको बिटोमा साटफेर गरेर,
लाहुर पठाएर सीताको माइतीको सगर्व उपहास गर्यौँ।
हजुर !
यहाँले नै भनिदिनुपर्छ
खोइ, हामी कहाँनेर बहादुर बन्यौँ ?
पृष्ठ ८२ को ‘बादलपारिको यार’ शीर्षकको कविताले पाठकको हृदयलाई स्पर्श गर्दै गहिरो संवेदना र भावनात्मक तहमा पुर्याउँछ। कविले यी पङ्क्तिहरूमा आत्मीय साथीलाई बडो कोमलताका साथ श्रद्धाञ्जली अर्पण गरेका छन्।
यो कविता पढिरहँदा मेरो मनमा एउटा प्रश्न उब्जियो- भोलिका दिनमा आफू यो संसारबाट बिदा हुँदा, यसरी सम्झिएर यस्तै हृदयस्पर्शी कविता लेखिदिने शरद पराशर मरहट्टाजस्ता मेरा पनि कुनै आत्मीय साथी होलान् कि नहोलान् ?
बादलपारिको नयाँ ठाउँमा
यता उता हेर्दै
सुस्त सुस्त हिँड्दै
विश्रामस्थल खोज्दै गर, यार
चौतारीहरू भेटिए
बस्ने स्थान रोज्दै गर, यार।
समय जुरेपछि, त्यतै भेटौँला
आउनेहरूसँग सोधखोज गर्दै गर, यार।
पृष्ठ ४६ मा सङ्ग्रहित ‘नाइस टु मिट यु’ रचनाले हरेक प्रवासीले पराई भूमिमा भोग्ने विभेद, पहिचानको खोजीलाई जीवन्त रूपमा उतारेको छ। थम्बपिनले भित्तामा टाँसिएको विश्वमानचित्रमा आलपिनभन्दा सानो देशका बासिन्दा हामी नेपालीले भोगेका असहज परिस्थिति र परदेशीलाई गरिने नापतौललाई कविले यी पङ्क्तिहरूमा यसरी समेटेका छन् :
यस्तैमा,
सधैँझैँ यसपटक पनि
एउटा नयाँ अनुहारले हाम्रो नापतौल गर्यो,
छालाको रङलाई नियाल्यो,
शब्द उच्चारणको तौरतरिकाको लेखाजोखा गर्यो
फिस्स हाँस्यो र आत्मीयता दर्शाउँदै सोध्यो’
आर यु गाइज फ्रम…?’
यस कृतिमा विभिन्न भाव र विषयका कविताहरू भेटिन्छन्। पृष्ठ ५६ मा सङ्ग्रहित ‘एकल आमाको परिवार’ शीर्षकको कविताले एकल आमाको सङ्घर्ष, मातृवात्सल्य र सामाजिक यथार्थको गहिरो संवेदनालाई उजागर गरेको छ।
पुरुष लेखक भएर पनि नारी मनका यस्ता सूक्ष्म, गहन र संवेदनशील पक्षहरूलाई यति जीवन्त रूपमा प्रस्तुत गर्नु कविको उत्कृष्ट संवेदना र लेखन-क्षमताको परिचायक हो।
ऊ सम्भवतः भन्दै थिई
‘नजिकिँदै गरेको प्राणीले
खाना दिएर लोभ्याउन खोज्ला-
नलोभिनु’
‘खेलौना देखाएर आफ्नो बनाउन खोज्ला-
नबन्नु”
सुविधासहितको आश्रय दिएर ‘बाबु’ बन्न खोज्ला-
नपत्याउनु”
तिमीहरूकी आमालाई ‘आफ्नी’ बनाउन खोज्ला- नदिनु।’
पृष्ठ ८८ मा सङ्ग्रहित ‘तल्लो बाटोको यात्रा’ शीर्षकको कविताले वैदेशिक रोजगारीको कहालीलाग्दो यथार्थ, जोखिमपूर्ण यात्रा र परदेसिनेहरूको कारुणिक बाध्यतालाई बडो गहिरो ढङ्गले चित्रण गरेको छ। मृत्युको जोखिम बोकेर अनिश्चित भविष्यतर्फ पाइला बढाउँदाको यो कारुणिक बिदाइलाई कविले पङ्क्तिहरूमा यसरी उतारेका छन् :
अहिले तिमी
पिठ्यूँमा बोकेको झोलालाई
सम्हाल्दै जाऊ,
‘रातो बाकस’ समेत नफर्कने ठाउँको यात्रामा
खुकुरीको धारमा पाइला चाल्दै गरेको सम्झिँदै
जोगिँदै जाऊ।
झिसमिसेमै बेँसी झर्ने गरी जाऊ,
चराहरूको चिरबिर सुरु हुनुअगावै
मिरमिरेमै झोलुङ्गे पुल तर्ने गरी जाऊ।
यसरी सङ्ग्रहभित्रका कविताहरूले आप्रवासी जीवनलाई संवेदनशीलताका साथ स्पर्श गरेका छन्। विदेशको व्यस्त जीवन र विशाल सम्भावनाहरूका बीच पनि आफ्नो मौलिक अस्तित्व र जरोप्रतिको यो अगाध मोह नै यस सङ्ग्रहको बलियो पक्ष हो।
‘मूलं हि वृक्षस्य जीवनम्’ अर्थात् रुखको जीवन उसको जरामा अडेको हुन्छ भनेझैँ लेखक शरद पराशर मरहट्टाले आफ्ना हाँगाबिँगा र सपनाहरू विदेशी आकाशमा फैलाइरहँदा पनि आफ्नो नेपाली जरालाई कहिल्यै बिर्सेका छैनन्। लेखकीयमा आत्ममूल्याङ्कन गर्दै उनी लेख्छन्, ‘म आफैँ काव्यरूपी भवसागरको किनारसम्म पनि पुग्न नसकेको अनुभूति गर्दछु।’
स्रष्टाको यो भनाइले संस्कृतको प्रसिद्ध उक्ति ‘विद्या ददाति विनयं, विनयाद् याति पात्रताम्’ लाई पूर्ण रूपमा चरितार्थ गर्छ। लेखकको यही शालीन र विनम्र व्यक्तित्व सिङ्गो कृतिभरि पोखिएको छ। पुस्तकको समर्पण खण्ड पनि उत्तिकै सुन्दर र मार्मिक छ।
‘यता कि उता’ को भाषाशैली अत्यन्तै सरल, सहज र बोधगम्य छ। अङ्ग्रेजीमा भनिन्छ- ‘इजी रिडिङ इज हार्ड राइटिङ’ । कुनै क्लिष्ट वा अप्ठ्यारा शब्दहरूको प्रयोगबिना नै गहिरो साहित्यिक भाव सिर्जना गरिएको यस कृतिमा लेखकको इमानदारी झल्किन्छ। यो कृति मस्तिष्कले होइन, सीधै मनबाट लेखिएको हो भन्ने प्रतीत हुन्छ।
‘यता कि उता’ एउटा साहित्यिक कृति मात्र नभई आमाबुवाको प्रश्न, प्रतीक्षा र हाम्रो पुस्ताले भोगिरहेको पहिचानको द्वन्द्वलाई प्रतिविम्बित गर्ने समाजको जीवन्त ऐना हो। यसले पाठकलाई जबरजस्ती कुनै निर्णय लिन बाध्य पार्दैन, बरु आफ्नै जीवन र धरातलप्रति आत्मसमीक्षा गर्न प्रेरित गर्छ।
आप्रवासी जीवनका साझा भोगाइहरूलाई सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको यो पुस्तक पढ्दै जाँदा म स्वयं पटकपटक भावुक र द्रवीभूत बनेँ।
अन्त्यमा, यस कृतिलाई अझ फराकिलो आयाम दिन एउटा विचार प्रस्तुत गर्न चाहन्छु। ‘यता कि उता’ लाई अङ्ग्रेजीमा अनुवाद गर्न सकिए यसमा व्यक्त भाव र संवेदना नेपाली भाषाको परिधि नाघेर अन्तर्राष्ट्रिय स्तरसम्म पुग्नेछ।
खासगरी, दुई फरक संस्कृति र परिवेशको दोसाँधमा हुर्किरहेका हाम्रा नयाँ पुस्ताका लागि यो कृति एउटा मजबुत पुल बन्न सक्छ। यसले नयाँ पुस्तालाई आफ्ना अभिभावकले भोगेको आप्रवासी जीवनका उतारचढाव, सङ्घर्ष र पहिचानको खोजीलाई नजिकबाट बुझाउने मात्र होइन, उनीहरूलाई आफ्नै माटो र जरासँग जोडिरहन प्रेरित पनि गर्नेछ।
प्रतिक्रिया 4