+
+
Shares

अस्ट्रेलियाको संसद् भवन र सांसदका कार्यालयअगाडि गोबर फालेर प्रदर्शन

प्रदर्शनपछि आन्दोलनकारीहरूले आफूहरूले फैलाएको गोबर हटाएका थिए। राइजिङ टाइडका अनुसार हटाइएको गोबर स्थानीय सामुदायिक तथा सार्वजनिक बगैँचामा प्रयोगका लागि दिइएको थियो।

प्रदीप मजगैयाँ प्रदीप मजगैयाँ
२०८३ मंसिर ५ गते १७:१४

५ मंसिर, क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संघीय संसद् भवनअगाडि गाई तथा घोडाको गोबर फालेर जलवायु परिवर्तनसम्बन्धी सरकारी नीतिको विरोध गरिएको छ।

जलवायु अभियानमा सक्रिय समूह राइजिङ टाइडले गत शुक्रबार ट्रकमा गोबर ल्याएर संसद् भवनको अगाडिको क्षेत्रमा फैलाउँदै विरोध प्रदर्शन गरेको हो। समूहले प्रधानमन्त्री एन्थोनी अल्बानिजी नेतृत्वको लेबर सरकारले अवलम्बन गरेको जलवायु नीतिलाई बकवास भन्दै व्यंग्यात्मक विरोध जनाएको थियो।

राइजिङ टाइडले क्यानबेरास्थित संघीय संसद् भवनका साथै विभिन्न सहरमा रहेका संघीय लेबर पार्टीका सांसदका कार्यालयअगाडि समेत गोबर फालेर प्रदर्शन गरेको थियो।

राइजिङ टाइडका जेम्स स्मिथले अनलाइनखबरसँगको कुराकानीमा सांसद पिटर खलिल, मेडेलिन किङ र रेनी कोफीका कार्यालयअगाडि समेत गोबर फालिएको जानकारी दिए।

समूहका अनुसार मेलबर्नमा सांसद पिटर खलिल, पर्थमा संघीय स्रोतसाधनमन्त्री मेडेलिन किङ र ब्रिस्बेनमा सांसद रेनी कोफीका कार्यालयअगाडि प्रदर्शन गरिएको थियो।

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) टर्कीको अन्ताल्यामा सम्पन्न हुने दिन पारेर प्रदर्शन गरिएको हो। सम्मेलनमा अस्ट्रेलियाले वार्ताको अध्यक्षता गर्ने जिम्मेवारी पाएको थियो।

प्रदर्शनपछि आन्दोलनकारीहरूले आफूहरूले फैलाएको गोबर हटाएका थिए। राइजिङ टाइडका अनुसार हटाइएको गोबर स्थानीय सामुदायिक तथा सार्वजनिक बगैँचामा प्रयोगका लागि दिइएको थियो।

घटनामा हालसम्म कसैलाई पनि पक्राउ नगरिएको जनाइएको छ।

राइजिङ टाइडले अस्ट्रेलिया सरकारले जलवायु परिवर्तन नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने र नयाँ कोइला तथा ग्यास परियोजनालाई स्वीकृति दिन रोक्नुपर्ने माग गर्दै विभिन्न विरोध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

लेखक
प्रदीप मजगैयाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?