+
+
Shares
वार्ता :

‘भारतले बालेन शाहलाई चासोपूर्वक हेरेको छ, नेपाल नीतिमा पुनरावलोकन गर्नुपर्छ’

चीन र नेपालको आर्थिक साझेदारी मात्र भारतको चिन्ताको विषय होइन। विशेषगरी नेपालमा चीनको रणनीतिक उपस्थिति र उसले सञ्चालन गरिरहेका ठूला पूर्वाधार परियोजनाहरू भारतका लागि चासोका विषय बनेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ५ गते १९:४३

५ मंसिर नयाँ दिल्ली (भारत) । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारबाट भारत भ्रमण गर्दैछन् । यो भ्रमणलाई राजनीतिक तथा कूटनीतिक दृष्टिले अर्थपूर्ण अवसरका रूपमा हेरिएको छ। नेपालमा जेनजी आन्दोलनपछि उदाएको शक्तिशाली नेतृत्वलाई भारतले आफ्नै भूमिमा औपचारिक स्वागत गर्दैछ ।

यसै सन्दर्भमा भारतले नेपालको बदलिँदो राजनीतिक परिस्थिति र युवा पुस्ताको आकाङ्क्षालाई बुझेर कसरी आगामी कदम चाल्दैछ ? यसैसन्दर्भमा भारतको नयाँदिल्लीस्थति दक्षिण एशियाली विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध संकायका एशोसिएट डिन सहप्राध्यापक डा.धनञ्जय त्रिपाठीसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी :

नेपालको प्रधानमन्त्रीको भारत भ्रमण आइतबारदेखि सुरु हुँदै छ। नेपाल र भारतबीचको वर्तमान सम्बन्धलाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ?

नेपालका प्रधानमन्त्रीको भारत भ्रमण हुनु निकै सकारात्मक कुरा हो। विशेषगरी नेपालमा सत्ता परिवर्तन, आन्दोलन, नयाँ निर्वाचन र नयाँ सरकार गठन भएपछि भारतमा नेपालको विषयमा धेरै चर्चा भएको थियो। नयाँ सरकार कस्तो हुनेछ भन्ने विषय सबैका लागि चासोको विषय बनेको थियो।

त्यसैले प्रधानमन्त्री बालेन्द्र शाह नयाँ दिल्ली आउनुहुने अपेक्षा गरिएको थियो।

यो भ्रमणका लागि लामो समयदेखि प्रतीक्षा भइरहेको थियो। उहाँको नयाँ दिल्ली आगमनले निश्चित रूपमा सकारात्मक वातावरण सिर्जना गर्नेछ।

नरेन्द्र मोदीको नेतृत्वमा नेपालप्रतिको भारतको नीतिमा अर्थपूर्ण परिवर्तन आएको छ। विभिन्न कारणले भारतले नेपाललाई पहिलेभन्दा बढी महत्त्व र प्राथमिकता दिन थालेको छ। त्यसैले अहिले नेपाल र भारतबीच धेरै क्षेत्रमा सहकार्य भइरहेको छ। मलाई आशा छ, यो भ्रमणबाट धेरै नयाँ विषयहरू अगाडि आउनेछन् र दुई देशबीचको सम्बन्ध अझ राम्रो हुँदै जानेछ।

नरेन्द्र मोदी सत्तामा आएपछि ‘छिमेक पहिलो नीति’ हुनेछ भनेका थिए । उनको छिमेक पहिलो नीति नेपालका लागि कति प्रभावकारी रह्यो ?

यो नीति कति लागु भयो भएन भन्ने र त्यसको निर्णय गर्ने अधिकार नेपाली जनतालाई छ । तर, भारतको पक्षबाट हेर्दा नेपालप्रति भारतमा सधैँ विशेष चासो रहँदै आएको छ।

अहिले नयाँ सरकार गठन हुँदा भारतले नेपाललाई कसरी हेर्नेछ र नयाँ सरकारसँग कसरी सम्बन्ध अघि बढाउनेछ भन्ने विषयमा धेरै आशङ्काहरू थिए।

तर प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरेर बधाई तथा शुभकामना दिनुभएको थियो। यो कुरा उहाँको सामाजिक सञ्जाल एक्समा पनि सार्वजनिक भएको थियो। यसरी उहाँले परम्परागत कूटनीतिक शिष्टाचार पूरा गर्नुभएको छ।

मलाई लाग्छ, नेपाल भारतको राजनीतिक तथा कूटनीतिक दृष्टिकोणबाट मात्र नभई सांस्कृतिक र जनस्तरको सम्बन्धका हिसाबले पनि निकै विशेष स्थानमा रहेको देश हो।

त्यसैले नेपालप्रतिको भारतको नीति र कूटनीतिक दृष्टिकोणलाई यिनै पक्षहरूले सधैँ प्रभावित गर्दै आएका छन्।

भारतलाई सधैँ समान साझेदार र निकट छिमेकीका रूपमा हेर्दै आएको छ। भारतसँग नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक सम्बन्ध पनि छ। भारतले नेपाललाई समान साझेदारभन्दा रणनीतिक तथा सुरक्षा दृष्टिकोणबाट मात्र किन बढी हेर्छ? भारतको नेपालप्रतिको यस्तो दृष्टिकोणको कारण के हो ? भारतको नेपालमा आफ्नै केही स्वार्थ छन् भन्ने आरोप पनि लाग्ने गरेको छ। यस विषयमा तपाईं के भन्नुहुन्छ ?

नेपालप्रतिको भारतको रणनीतिक बुझाइ विगतमा फरक–फरक समयमा फरक रहेको हुन सक्छ।

तर भारतका विश्लेषकहरूको एउटा प्रमुख चिन्ता नेपालमा चीनको बढ्दो उपस्थिति हो। नेपाल भारतको सीमावर्ती देश भएकाले यो विषयलाई भारतले चासोका साथ हेर्ने गरेको छ।

यसअघि नेपालमा पाकिस्तानी गुप्तचर संस्था आईएसआईको गतिविधिलाई लिएर पनि चिन्ता व्यक्त गरिएको थियो। हामीले आईसी–८१४ विमान अपहरणको घटना पनि देखेका छौँ।

उक्त विमान काठमाडौँबाट अपहरण गरी अफगानिस्तान पुर्‍याइएको थियो। कुनै समय यो भारतको प्रमुख सुरक्षा चिन्ताको विषय थियो।तर अहिले मेरो विचारमा भारतको मुख्य चिन्ता नेपालमा चीनको बढ्दो उपस्थिति हो।

नेपाल र भारतबीच निकै निकट सम्बन्ध छ। दुई देशबीच खुला सीमा छ र भारतको विदेश तथा कूटनीतिक नीतिमा नेपालको विशेष स्थान छ।

नेपालले यस्तो कूटनीति अपनाउनुपर्छ, जसले भारत र चीन दुवैका सुरक्षा तथा रणनीतिक संवेदनशीलतालाई सम्बोधन गर्न सकोस्।

चीन र नेपालको आर्थिक साझेदारी मात्र भारतको चिन्ताको विषय होइन। विशेषगरी नेपालमा चीनको रणनीतिक उपस्थिति र उसले सञ्चालन गरिरहेका ठूला पूर्वाधार परियोजनाहरू भारतका लागि चासोका विषय बनेका छन्।

यीमध्ये केही परियोजनाहरू भारतीय सीमाको नजिक छन्। त्यसैले कहिलेकाहीँ यस्ता परियोजनाले भारतमा सुरक्षा र रणनीतिक दृष्टिकोणबाट आशङ्का सिर्जना गर्छन्।

त्यसैले हो, अहिले नेपालसँग सम्बन्धित सुरक्षा विषय पनि भारतको चासोमा रहेको छ।

भारतको चीनसँग आफ्नै सम्बन्ध छ र चीनसँग व्यापारिक तथा आर्थिक सम्बन्ध पनि राम्रो छ। तर नेपालले चीनसँग कुनै सन्धि वा सम्झौता गर्दा भारत किन चिन्तित हुन्छ ? जस्तो केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला नेपाल र चीनबीच व्यापार तथा पारवहनसम्बन्धी सम्झौता भएको थियो। त्यसबेला पनि भारतले चासो र चिन्ता व्यक्त गरेको थियो नि किन ?

भारत र चीनको सम्बन्धलाई हेर्दा यसका दुईवटा पक्ष छन्।पहिलो पक्ष आर्थिक सम्बन्ध हो। भारत र चीनबीच ठूलो व्यापारिक सम्बन्ध छ। आर्थिक दृष्टिकोणबाट दुई देशबीचको सम्बन्धको आकार निकै ठूलो छ।

तर सम्बन्धको दोस्रो पक्ष राजनीतिक तथा सुरक्षा सम्बन्ध हो । भारत र चीनबीचको सीमा विवाद अझै समाधान भएको छैन। हामीले विभिन्न समयमा भारत–चीन सीमामा समस्या उत्पन्न भएको देखेका छौँ।

त्यसैले आर्थिक दृष्टिकोणबाट हेर्दा त्यति ठूलो समस्या देखिँदैन। तर राजनीतिक र सुरक्षा दृष्टिकोणबाट हेर्दा भारतका आफ्नै चिन्ता र चासोहरू छन्।

चीनको पाकिस्तानसँग पनि निकै राम्रो साझेदारी छ। चीन र पाकिस्तानबीचको सम्बन्धलाई विशेष र अत्यन्त निकट मित्रताको सम्बन्धका रूपमा व्याख्या गरिन्छ। भारतको पाकिस्तानसँग आफ्नै समस्या र सुरक्षा चासोहरू छन्।

त्यसैले दक्षिण एसियाली क्षेत्रमा, विशेषगरी भारतीय सीमाको नजिक चीनको उपस्थिति बढ्दा भारतले त्यसलाई चासोका साथ हेर्छ।

चीनले भारतीय सीमाको नजिक ठूला पूर्वाधार परियोजनाहरू निर्माण गरिरहेको छ। भारतमा धेरै मानिसहरूले भारतीय सीमाको नजिक यस्ता ठूला परियोजनाहरूको औचित्यबारे प्रश्न उठाउने गरेका छन्।

भारत र चीनबीच व्यापारिक सम्बन्ध राम्रो भए पनि राजनीतिक सम्बन्ध त्यति राम्रो छैन। त्यसैले चीनले छिमेकी देशहरूमा लगानी गर्दा त्यसको प्रभाव भारतको सुरक्षा र राजनीतिक चिन्तामा पनि पर्न सक्छ।

यसैले भारत र चीनको सम्बन्ध बुझ्दा आर्थिक सम्बन्ध र राजनीतिक सम्बन्ध यी दुई पक्षलाई सधैँ ध्यान दिनुपर्छ ।

नेपाल सार्वभौम मुलुक हो । यसले आफ्नो सार्वभौमिकता कायम राख्दै भारत र चीनसँगको सम्बन्ध कसरी सन्तुलन गर्न सक्छ त ? एक प्राध्यापक र बौद्धिक व्यक्तिका रूपमा तपाईंको विचार के छ ?

मलाई लाग्छ, यो निर्णय गर्ने विषय नेपालकै हो। नेपालले भारत र चीन दुवैसँग निकै राम्रो सम्बन्ध कायम गर्न सक्छ।

तर नेपाल र भारतबीचको सम्बन्धको ऐतिहासिक आधारलाई बुझ्नुपर्छ। यी दुई देशबीचको सम्बन्ध निकै पुरानो, गहिरो र सांस्कृतिक रूपमा जोडिएको छ। जनस्तरको सम्बन्ध पनि अत्यन्त बलियो छ।

नेपालको भूराजनीतिक र भू–रणनीतिक अवस्था निकै संवेदनशील छ। नेपाल दुई ठूला छिमेकी राष्ट्रहरूको बीचमा अवस्थित छ र दुवै छिमेकीका आफ्नै अन्तर्राष्ट्रिय आकाङ्क्षा तथा रणनीतिक चासोहरू छन्।

त्यसैले नेपालले आफ्नो कूटनीति सञ्चालन गर्दा एउटा पक्षतर्फ मात्र अत्यधिक झुकाव देखिएको जस्तो हुनु हुँदैन। त्यसो गर्दा अर्को छिमेकीको सुरक्षा वा रणनीतिक संवेदनशीलतामा असर पर्न सक्छ।

नेपालले आफ्नो सम्बन्ध कसरी अघि बढाउने भन्ने कुरा नेपालको आफ्नै निर्णय हो।

तर भारतको दृष्टिकोणबाट भन्नुपर्दा, नेपाल र चीनबीच सम्बन्ध हुनु स्वाभाविक हो। दुवै छिमेकी हुन् र उनीहरूबीच आर्थिक तथा अन्य विभिन्न स्वार्थहरू पनि छन्। तर केही परियोजनासँग सम्बन्धित सुरक्षा चासोहरू छन् भने नेपालले तिनलाई उचित ढङ्गले व्यवस्थापन गर्नुपर्छ।

चीनको दृष्टिकोणबाट पनि नेपाल र भारतबीचको रणनीतिक सम्बन्धलाई लिएर केही चासो हुन सक्छ।

त्यसैले नेपालले यस्तो कूटनीति अपनाउनुपर्छ, जसले भारत र चीन दुवैका सुरक्षा तथा रणनीतिक संवेदनशीलतालाई सम्बोधन गर्न सकोस्।

अन्यथा नेपालमा कुनै पनि देशले व्यापार गर्छ वा लगानी गर्छ भने त्यसमा समस्या हुनुपर्ने कारण छैन।

नेपालमा जेनजी आन्दोलनपछि परम्परागत राजनीतिक दलहरू अहिले प्रतिपक्षमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको छ। बालेन्द्र शाह लोकप्रिय नेताका रूपमा स्थापित भएका छन् । युवा पनि छन् । नयाँ राजनीतिक नेतृत्व र बालेन्द्र शाहसँग भारतको सम्बन्ध कस्तो हुन सक्छ?

भारतका लागि पनि यो नयाँ परिस्थिति हो, किनभने उहाँको यसअघि भारतसँग त्यस्तो प्रत्यक्ष राजनीतिक सम्बन्ध थिएन। भारत सधैँ नेपालमा लोकतन्त्रको समर्थक रहँदै आएको छ।

नेपालको इतिहासमा भएका विभिन्न लोकतान्त्रिक आन्दोलनहरूलाई हेर्ने हो भने भारतले तिनलाई समर्थन गरेको देखिन्छ।

त्यसैले बालेन्द्र शाहको उदयलाई सकारात्मक रूपमा लिन सकिन्छ। उहाँले नेपालको नयाँ पुस्ताको प्रतिनिधित्व गर्नुहुन्छ। उहाँमार्फत नेपाली युवापुस्ताका आकाङ्क्षा र चाहनाहरू अभिव्यक्त भइरहेका छन्।

यस्तो अवस्थामा नेपालको युवा पुस्ताको आकाङ्क्षाको प्रतिनिधित्व गर्ने नेतासँग सम्बन्ध स्थापित गर्नु नयाँ दिल्लीका लागि पनि राम्रो अवसर हो।

केही परियोजनाहरू निकै महत्त्वाकाङ्क्षी छन् र तिनले प्रत्यक्ष रूपमा जनतालाई लाभ पुर्‍याउन सक्छन्।

बालेन्द्र शाहमार्फत भारतले भारत नेपालको सच्चा मित्र हो भन्ने नेपालका युवाहरूलाई एउटा महत्त्वपूर्ण सन्देश दिन सक्छ ।

विगतमा नेपाल–भारत सम्बन्धमा केही चिन्ता र असमझदारीहरू थिए। तर अहिले बालेन्द्र शाहको आगमनसँगै नयाँ परिस्थिति सिर्जना भएको छ। भारतले पनि नयाँ राजदूत पठाएको छ र नेपालमा पनि नयाँ राजदूतको व्यवस्था भएको छ।
त्यसैले अहिले नेपाल–भारत सम्बन्धलाई नयाँ ऊर्जा दिने, सम्बन्धलाई पुनः सुदृढ गर्ने र नयाँ विषयहरू समावेश गर्ने उपयुक्त समय हो।

यो नेपाल–भारत सम्बन्धका लागि सकारात्मक कदम हो। भारतले बालेन्द्र शाहमार्फत नेपालको युवा पुस्तासँग सम्बन्ध विस्तार गर्न सक्छ।

के नेपालको युवा पुस्ताको बदलिँदो राजनीतिक आकाङ्क्षाअनुसार भारतले आफ्नो नेपाल नीति परिवर्तन गर्दै छ?

म नीतिनिर्माता होइन त्यसैले यसै भन्न सक्दिन । तर भारत–नेपाल सम्बन्धलाई विश्वास गर्ने र यो सम्बन्ध अझ बलियो भएको देख्न चाहने एक प्राज्ञिक व्यक्तिका रूपमा म के चाहन्छु भने भारतले आफ्नो नेपाल नीतिमा परिवर्तन गर्नुपर्छ।
भारतले आफ्नो नेपाल नीतिलाई पुनरावलोकन गर्नुपर्छ। त्यसैगरी दक्षिण एसियासम्बन्धी नीतिलाई पनि पुनः हेर्नुपर्छ।

नेपाल भारतका लागि रणनीतिक, सुरक्षा, सांस्कृतिकलगायत सबै दृष्टिकोणबाट निकै महत्त्वपूर्ण देश हो।

भारतले शिक्षा, प्रविधि, नवप्रवर्तन र उद्यमशीलतामा निकै जोड दिएको छ । नेपालमा पनि यही क्षेत्रमा काम नभएका कारण जेनजी आन्दोलनबाट विद्रोह भयो । नेपाल र भारतले शिक्षा, प्रविधि, नवप्रवर्तन तथा उद्यमशीलतामार्फत दुई देशका युवापुस्तालाई कसरी जोड्न सक्छन्? प्रधानमन्त्रीको भ्रमणबाट यस क्षेत्रमा कुनै नयाँ नीतिगत पहल हुन सक्छ ?

यो निकै राम्रो प्रश्न हो।भारतले नेपाली विद्यार्थीहरूलाई थप छात्रवृत्ति उपलब्ध गराउनुपर्छ । त्यसैगरी नेपालमा संयुक्त लगानीका परियोजनाहरूको आवश्यकता छ। भारतले नेपालमा आफ्ना केही क्याम्पसहरू पनि स्थापना गर्न सक्छ। यसले नेपाली युवाहरूलाई शिक्षा प्राप्त गर्न सहयोग पुर्‍याउनेछ।

शिक्षा, विशेषगरी गुणस्तरीय र सुलभ शिक्षा, नयाँ सरकारबाट जनताले अपेक्षा गरेका प्रमुख विषयहरूमध्ये एक हो। त्यसैले दुई देशका प्रधानमन्त्रीबीच हुने भेटवार्तामा शिक्षालाई सहकार्यको महत्त्वपूर्ण क्षेत्रका रूपमा प्राथमिकता दिनुपर्छ। भारतले नेपालमा शिक्षा, प्रविधि र सीप विकासमा विशेष ध्यान दिनुपर्छ। भारतसँग यी क्षेत्रमा नेपाललाई सहयोग गर्न सक्ने क्षमता छ।

त्यसैले भारतले नेपाली विद्यार्थीहरूका लागि थप छात्रवृत्ति उपलब्ध गराउनुपर्छ।

नेपाल–भारत सम्बन्ध लामो समयदेखि कायम रहे पनि एउटा पुरानो समस्या सीमा विवाद हो। विशेषगरी लिपुलेक, कालापानी र सुस्तालगायतका क्षेत्रसँग सम्बन्धित सीमा विवाद छन्। सीमा व्यवस्थापन तथा सीमापार सहकार्यलाई प्रभावकारी बनाउन दुवै देशले के गर्नुपर्छ?

भारत र नेपालबीचको सीमा समस्या अन्य केही देशसँग भारतको रहेको सीमा समस्याजस्तो जटिल वा गम्भीर छैन । नेपाल र भारतबीच खुला सीमा छ। केही स्थानमा दुई देशबीच असहमति र विवादहरू छन्।

मलाई लाग्छ, भारत र नेपालले परिपक्व कूटनीतिक ढङ्गले एउटा समिति गठन गरेर यी विषयहरू अध्ययन गर्नुपर्छ र समाधान खोज्नुपर्छ।

दुई देशबीच खुला सीमा भएकाले यस्ता विवादहरू आपसी समझदारी र द्विपक्षीय संवादबाट समाधान गर्न सकिन्छ। हामीले युरोपबाट पनि सिक्नुपर्छ। युरोपका विभिन्न देशहरूबीच पनि खुला सीमा व्यवस्था छ। केही विषयमा विवाद भए पनि ती आपसी समझदारीबाट समाधान गर्न सकिन्छ।

सीमा समस्याका कारण राजनीतिक सम्बन्ध जटिल बन्न दिनु हुँदैन। कम्तीमा नेपाल र भारतको सम्बन्धमा सीमा विवादले राजनीतिक सम्बन्धलाई प्रभावित पार्नु हुँदैन।

नेपाल र भारतबीच खुला सीमा छ। दुवै देशका नागरिक सहजै नेपाल भारत जान आउन सक्छन् ।

हामीले यो व्यवस्थालाई कायम राख्नुपर्छ। यही भावना र दृष्टिकोणका आधारमा सीमा समस्यालाई हेर्नुपर्छ र समाधानको प्रयास गर्नुपर्छ।

दुवै मुलुकले विवादका विषयहरू पहिचान र समाधानका सुझावहरू तयार गर्न प्रबुद्ध व्यक्ति समूह बनाएका थिए । उक्त समूहले प्रतिवेदन तयार गरे पनि प्रतिवेदन ग्रहण गरका छैनन् भारतले यो प्रतिवेदन बुझ्न किन चासो देखाएको छैन? यस विषयमा तपाईंको विश्लेषण के छ?

मलाई यसको वास्तविक कारण थाहा छैन। यसमा धेरै विषयहरू हुन सक्छन्।

तर मैले यस विषयमा टिप्पणी गर्न चाहन्नँ, किनभने यसबारे वास्तविक तथ्य के हो भन्ने मलाई जानकारी छैन। मैले अघिल्लो प्रश्नमा पनि भनेँ, दक्षिण एसियामा सीमा समस्यासँग सम्बन्धित धेरै विवादहरू छन्।

तर नेपाल र भारतबीच खुला सीमा नीति छ। कुनै पनि सीमा विवाद समाधान गर्ने आधार यही खुला सीमा व्यवस्था र दुई देशबीचको सम्बन्ध हुनुपर्छ भन्ने मेरो विश्वास छ।

दुई–तीन महिनाअघि भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको थियो। त्यहाँको पुनर्निर्माणका लागि भारतले सहयोग गरेको थियो । अब प्रधानमन्त्रीको भारत भ्रमणबाट नेपालले के ठोस आर्थिक लाभ लिन सक्छ?

यो विषयमा मलाई निकै आशा छ। अहिले अयोध्यादेखि जनकपुरसम्म रेलमार्ग निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको छ। यो धार्मिक तथा तीर्थयात्रासँग सम्बन्धित परियोजना हो। यसले धेरै मानिसहरूलाई आकर्षित गर्न सक्छ।नेपाल र भारतबीच यस्तो प्रकारको सम्पर्क सञ्जालको आवश्यकता छ।

त्यसैगरी विद्युत् व्यापारले पनि नेपाल र भारतबीच नयाँ चरणमा प्रवेश गर्नेछ भन्ने हाम्रो विश्वास छ। पछिल्ला दुई वर्षमा यस क्षेत्रमा धेरै सकारात्मक कामहरू भएका छन्।

मलाई लाग्छ, आगामी दिनमा विद्युत् व्यापार अझ बढ्नेछ। तेस्रो महत्त्वपूर्ण विषय नेपाल, भारत र बंगलादेशबीचको विद्युत् व्यापार हो।

यी तीन देशबीचको विद्युत् व्यापारले भविष्यमा नेपाललाई सहयोग पुर्‍याउन सक्छ। यसले भारतलाई पनि फाइदा पुर्‍याउनेछ र समग्र दक्षिण एसियाली क्षेत्रलाई समेत लाभ हुनेछ। त्यसैले हामी निकै आशावादी छौँ।

यीमध्ये केही परियोजनाहरू निकै महत्त्वाकाङ्क्षी छन् र तिनले प्रत्यक्ष रूपमा जनतालाई लाभ पुर्‍याउन सक्छन्। प्रधानमन्त्रीको यस भ्रमणका क्रममा यस्ता परियोजनाहरूले औपचारिक समर्थन र स्वीकृति प्राप्त गर्नेछन् ।

नेपालका प्रधानमन्त्री युवा हुनुहुन्छ र उहाँले नयाँ राजनीतिक शक्तिको प्रतिनिधित्व गर्नुहुन्छ। त्यसैले यो भ्रमणबाट केही सम्झौताहरू पनि हुने अपेक्षा गरिएको छ। तर प्रधानमन्त्रीको यस भ्रमणको महत्त्व राजनीतिक, आर्थिक वा कूटनीतिकमध्ये कुन पक्षमा बढी छ?

मलाई लाग्छ, यसको सबैभन्दा महत्त्वपूर्ण पक्ष राजनीतिक हो। बालेन्द्र शाह नयाँ पुस्ताका नेता हुनुहुन्छ। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा हुनुहुन्छ। तर हामीलाई थाहा छ, उहाँ कुनै समय स्वतन्त्र उम्मेदवारका रूपमा राजनीतिमा हुनुहुन्थ्यो।

उहाँ काठमाडौँ महानगरपालिकाको मेयर हुनुहुन्थ्यो र स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन लड्नुभएको थियो। उहाँ निर्वाचनमा विजयी भएपछि भारतमा पनि उहाँको व्यक्तित्व र राजनीतिक भूमिकाबारे धेरै चर्चा भएको थियो। त्यसैले उहाँ भारत आउनु र भारतीय प्रधानमन्त्रीसँग भेट गर्नु आफैँमा निकै महत्त्वपूर्ण राजनीतिक सन्देश हो। त्यसैले यस भ्रमणको राजनीतिक महत्त्व निकै बलियो छ।

आर्थिक पक्ष पनि महत्त्वपूर्ण छ। विभिन्न परियोजनाहरूबारे छलफल भइरहेको छ। विशेषगरी पछिल्लो दुई वर्षदेखि विद्युत् व्यापारका विषयमा छलफल भइरहेको छ र यस क्षेत्रमा धेरै सकारात्मक प्रगति पनि भएको छ। विकाससम्बन्धी सहकार्यका विषयहरू पनि छन्।

त्यसैगरी चीनसँग सम्बन्धित चासो तथा अन्य विभिन्न विषयहरू पनि छन्। तर मेरो विचारमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको भारतले नेपालका नयाँ राजनीतिक नेतृत्वसँग पुनः सम्बन्ध स्थापित गर्न चाहनु हो। भारत नेपालका नयाँ राजनीतिक नेतासँग राजनीतिक संवाद र सहकार्यलाई पुनः सुरु गर्न चाहन्छ।

त्यसैले यस भ्रमणको सबैभन्दा ठूलो महत्त्व राजनीतिक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?