+
+
Shares

दिल्लीमा अर्थमन्त्रीको कूटनीतिक संवाद तीव्र

अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन नेपाल ‘बिल्ड ब्याक बेटर’ अवधारणा दृढतापूर्वक लागु गरिरहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते २०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन भौतिक, डिजिटल र ऊर्जा सञ्जाल विस्तार अपरिहार्य रहेको बताएका छन्।
  • उनले नेपाल–भारत व्यापार सन्धि समयानुकूल सुधार गरी व्यापार घाटा घटाउन र गैरभन्सार अवरोध हटाउनुपर्ने बताउँदै भारतीय लगानी बढाउन आह्वान गरेका छन्।
  • वाग्लेले नेपालले हालैको प्राकृतिक विपद्पछि भारतको सहायताप्रति आभार व्यक्त गर्दै ‘हाम्रो विकास आकांक्षा नीतिगत स्थायित्व र संस्थागत सुधारमा आधारित छ,’ भनेका छन्।

२ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।

भारतको औपचारिक भ्रमणमा रहेका उनले दुई देशबीचको साझेदारी समयसापेक्ष बनाउन भौतिक, डिजिटल तथा ऊर्जा सञ्जाल विस्तार अपरिहार्य रहेको बताए ।

नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा शुक्रबार आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालले हालै बेहोरेको प्राकृतिक विपद् र त्यसले पुर्‍याएको जनधनको क्षतिबारे चर्चा गर्दै संकटको घडीमा भारत सरकार तथा जनताले देखाएको तदारुकता एवं उल्लेखनीय सहायताप्रति उनले आभार व्यक्त गरे ।

विपद्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन नेपाल ‘बिल्ड ब्याक बेटर’ अवधारणा दृढतापूर्वक लागु गरिरहेको बताए ।

जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि यसको मार हिमाली तथा तटीय पारिस्थितिकीय प्रणालीले अत्यधिक खेप्नुपरेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको मुद्दालाई नेपाल  र भारतले सँगै मिलेर अघि बढाउनुपर्ने बताए ।

साथै, परम्परागत सहायता ढाँचाबाट माथि उठेर विकास वित्तका बदलिँदा आयाम, हरित वित्त र सहुलियतपूर्ण वित्तीय उपकरणहरूको अधिकतम परिचालनमा उनले जोड दिए ।

लगानी तथा सहकार्य

उनले विद्यमान नेपाल–भारत व्यापार सन्धिमा समयानुकूल सुधार गरी व्यापार घाटा न्यूनीकरण र गैरभन्सार अवरोध निराकरण गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपालमा लगानीको वातावरण सुधार गर्न नीतिगत र कानुनी सुधार गरिएकाले ऊर्जा, उत्पादनमूलक उद्योग र प्रविधि क्षेत्रमा भारतबाट प्रत्यक्ष वैदेशिक लगानी बढाउन उनले भारतीय पक्षलाई आह्वान गरे ।

जनादेश, सुशासन र विकास आकांक्षा

अर्थमन्त्री वाग्लेले वर्तमान सरकार नेपाली जनताको भारी जनादेशबाट बनेको स्मरण गराउँदै जनताको तीव्र विकास र आर्थिक रूपान्तरणको चाहना पूरा गर्न सरकार पूर्णरूपमा समर्पित रहेको बताए ।

‘हाम्रो विकास आकांक्षा नीतिगत स्थायित्व र संस्थागत सुधारमा आधारित छ,’ उनले भने, ‘वर्तमान सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासन कायम गर्न दृढ छ, पारदर्शी र जवाफदेही शासन व्यवस्था नै आर्थिक समृद्धिको आधार हो ।’

उच्चस्तरीय सहभागिता र विमर्श

कार्यक्रममा भारतका वरिष्ठ राजनीतिज्ञ, कूटनीतिज्ञ, रणनीतिकार तथा अर्थशास्त्रीहरूको उपस्थिति थियो । कार्यक्रम आयोजना स्थल समेत रहेको आईआईसी अध्यक्ष तथा नेपालका लागि पूर्व भारतीय राजदूत एवं पूर्वविदेश सचिव श्याम शरणले गोलमेच संवादमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

हाल आईआईसीको नेतृत्व सम्हालिरहेका शरणले नेपाल–भारत सम्बन्ध समयसापेक्ष बनाउन नीतिगत तहमा यस्ता गहन र खुला विमर्श फलदायी हुने धारणा राखे ।

कार्यक्रममा अर्थमन्त्री वाग्ले सहित पूर्व भारतीय विदेश सचिव तथा नेपालका लागि पूर्वराजदूत श्याम शरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्यसभा सदस्य जयराम रमेश, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्वविदेश सचिव शिवशंकर मेनन, पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार तथा कूटनीतिज्ञ पंकज शरण, प्रख्यात अर्थशास्त्री तथा जेएनयूका एमेरिटस प्रोफेसर (पूर्व उपकुलपति, दिल्ली विश्वविद्यालय) प्रा. डा. दीपक नायर, इन्डिया ट्रेड प्रमोसन अर्गनाइजेसनका अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित राय, भारतीय जनता पार्टी (भाजपा) विदेश मामिला विभाग प्रमुख डा. विजय चौथाइवाले, दक्षिण एसियाली भूराजनीति तथा कनेक्टिभिटी अध्येता डा. कन्स्ट्यान्टिनो जेभियर, भारतीय विदेश मन्त्रालयका निर्देशक मनुस्मृति, द हिन्दुकी कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदर  र नेपाली प्रतिनिधिमण्डल सहभागी थिए ।

छलफलमा भारतीय पक्षका विज्ञ तथा कूटनीतिज्ञले नेपालको लोकतान्त्रिक स्थायित्व, सुशासनप्रतिको प्रतिबद्धता र आर्थिक एजेन्डाको प्रशंसा गरेका थिए । सहभागीले दुवै देशको साझा समृद्धि सीमापार कनेक्टिभिटी, ऊर्जा साझेदारी र पारस्परिक विश्वासमा निर्भर रहने निष्कर्ष निकाल्दै द्विपक्षीय संयन्त्रलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?