१० भदौ, काठमाडौं । रसुवा बाढीका कारण क्षति भएका संरचनाको पुनर्निर्माण गर्न आवश्यक पर्ने आर्थिक स्रोत परिचालनको समन्वय गर्ने जिम्मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पाएका छन् । आज बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार रसुवा बाढीका कारण क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको तत्काल संचालन तथा पुननिर्माण गर्न आवश्यक पर्ने आर्थिक स्रोत परिचालनको समन्वय गर्ने जिम्मा अर्थमन्त्री वाग्लेलाई दिने निर्णय भएको हो ।
रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पुर्याएको छ ।
बाढी भोटेकोशीमा मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको विवरण आएका छन् ।
यो घटनाबारे संसदलाई जानकारी गराउँदै परराष्ट्रमन्त्री खनालले यस्तो जानकारी दिएका हुन् ।
यस्तै सरकारले रसुवा बाढीका कारण मृत्यु भएका परिवारलाई आर्थिक साहायता दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
‘मृतक परिवारलाई प्रचलित कानुन बमोजिमको आर्थिक साहायता तत्काल उपलब्ध गराउने’ निर्णय भएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए ।
यसका साथै, घर/निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थनमा राखेर खाने र बस्ने व्यवस्था गृह मन्त्रालयले मिलाउने निर्णय भएको छ ।
साथै, खानेपानीको उपलब्धता र विद्युतको उपलब्धता, संचार सम्बन्ध स्थापित गर्ने निर्णय पनि भएको छ ।
प्रतिक्रिया 4