+
एनपीएल २०२६ :

बलिङमा छाएका रिजन

२०८३ मंसिर  ५ गते २३:४२ २०८३ मंसिर ५ गते २३:४२

५ मंसिर, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा फाइनलमा पुग्न नसकेपनि विधागततर्फ चितवन राइनोजका खेलाडीले वर्चश्व कायम गरे ।

चितवनका रिजन ढकालले उत्कृष्ट नेपाली खेलाडी र उत्कृष्ट बलरको अवार्ड हात पार्दा चितवनकै कमिल मिशारा ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ बने ।

च्याम्पियन टोली सूदुरपश्चिम रोयल्सबाट कप्तान दीपेन्द्रसिंह ऐरी ‘प्लेयर अफ द टुर्नामेन्ट’ बन्दा उपविजेता लुम्बिनीले स्पिरिट अफ क्रिकेटको अवार्डमा चित्त बुझायो ।

विराटगर किंग्सका लोकेश बमले उत्कृष्ट ब्याटर र जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले इमर्जिङ प्लेअरको अवार्ड जिते ।

उत्कृष्ट नेपाली खेलाडी र उत्कृष्ट बलरको अवार्ड जितेका रिजनले कार र मोटरसाइकल हात पारे । चितवनलाई दोस्रो क्वालिफायरसम्म पुर्याउन रिजनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

रिजनले ८ खेलबाट १७ विकेट लिँदै यो सिजनमा सर्वाधिक विकेट लिने खेलाडी बने । सूदुरपश्चिमका स्कट कुइगेइन १५ विकेट लिँदै दोस्रो स्थानमा रहे ।

रिजनले पहिलो खेलमै २ विकेट लिँदै राम्रो सुरुआत गरेका थिए । विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दा रिजनले २ विकेट लिए । उनले ३ ओभरमा २५ रन खर्चिए ।

लुम्बिनी लायन्सविरुद्धको खेल वर्षाका कारण रद्द हुँदा सुदूरपश्चिम रोयल्सविरुद्ध रिजनले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । एक ओभरमा एक विकेट लिएपनि १८ रन खर्चिदैँ महँगो सावित भए । उक्त खेलमा चिवतन ५ विकेटले पराजित हुन पुग्यो ।

पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गर्दा रिजन नायक बने । उक्त खेलमा रिजन एक्लैले ४ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भए । उनले ४ ओभरमा २४ रन खर्चिएका थिए । काठमाण्डु गोर्खाजसँग १० रनले पराजित भएपनि रिजनको लय कायम रह्यो । रिजनले ४ ओभर बलिङ गर्दै १४ रन खर्चिएर ३ विकेट हात पारे ।

जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दा पनि रिजनले किफायती बलिङ गरे । उनले ३ ओभरमा १० रन खर्चेर एक विकेट लिए । कर्णाली याक्ससँग २४ रनले पराजित भएको खेलमा रिजनले एक विकेट लिए । उनले ४ ओभरमा ३५ रन खर्चिएर एक विकेट लिएका थिए ।

इलिमिनेटरमा काठमाण्डुविरुद्ध रिजनले शानदार प्रदर्शन गरे । उनले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । उक्त खेलमा काठमाण्डुलाई हराउँदै चितवन क्वालिफायर २ मा प्रवेश गरेको थियो । दोस्रो क्वालिफायरमा आफ्नो टोली पराजित भएपनि रिजनले एक विकेट लिँदै आफ्नो प्रभाव कायम राखे ।

एनपीएलको पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका रिजन दोस्रो सिजन भने चल्न सकेका थिएनन् । उनले पहिलो सिजनमा १३ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको पाँचौं नम्बरमा थिए । दोस्रो सिजनमा रिजनले ५ खेलमा मात्र ३ विकेट लिएका थिए । तिनवटै सिजन रिजनले चितवनबाटै खेलेका छन् ।

यो अवार्डले क्रिकेटमा लाग्न थप मोटिभेट गरेको रिजन बताउँछन् । ‘यसले मेरो आगामी क्रिकेट यात्रालाई सहज बनाएको महसुस गरेको छु । यो प्रतियोगितामा कन्सिटेन्ट प्रदर्शन गरेको छु । यसलाई नै लिएर अगाडि जाऊँ भन्ने सोच छ’ उनले भने ।

घरेलु क्रिकेटमा बागमती प्रदेशबाट खेल्दै आएका तीव्र गतिका बलर रिजनले राम्रो प्रदर्शन गर्दै आइरहेका छन् । गत अप्रिलमा भएको प्रधानमन्त्री कप क्रिकेटमा रिजनले ९ खेलमा १७ विकेट लिएका थिए ।

रिजनले राष्ट्रिय टोलीबाट समेत डेब्यु गरिसकेका छन् । उनले सन् २०२४ को फेब्रुअरीमा क्यानडाविरुद्ध ओडीआई र टी–२०आईमा डेब्यु गरेका थिए ।

सन् २०२५ जुन यता उनी राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएका छैनन् । उनले नेपालका लागि ४ ओडीआईमा ३ र ८ टी–२०आईमा ४ विकेट लिएका छन् ।

अनुभवी बलर सोमपाल कामी र करण केसी हुँदा रिजनले सीमित अवसर मात्र पाउने गरेका छन् ।

एनपीएल २०२६ चितवन राइनाेज रिजन ढकाल
लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय