६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।
उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
विमानस्थलमा उनलाई बिदाइ गर्न ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र सत्तारुढ रास्वपाका सांसद जगदिश खरेल पुगेका थिए ।
प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्यवसायी र पत्रकारसहित ३४ सदस्य छन् ।
निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ ।
प्रधानमन्त्री बालेनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्ने नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीले जानकारी दिए ।
भोलिपल्ट अर्थात् मंसिर ७ गते शाहको उच्चस्तरीय भेटघाटको कार्यक्रम छ । उनले भारतीय समय अनुसार बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् ।
त्यसपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । त्यसक्रममा शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारी समेत छ ।

प्रतिक्रिया 4