६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धर्म र राजनीतिलाई अलग राखेर हेर्न नहुने बताएका छन् ।
आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाविधेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
‘दलहरूले त विदेशीहरूको चाहना, दबाब, प्रलोभनमा वा आफ्नै कुबुद्धी कुनै कुराको सिकार भएर देशलाई धर्मनिरपेक्ष बनाए होलान्,’ लिङ्देनले भने, ‘उनीहरूले फसे, बैमान भए होलान् । तर जनतालाई त मौका थियो नि ।’
त्यसपछि पटकपटक चुनाव आउँदा पनि जनताले त्यसो नगरेको उनले बताए । संविधान सभाले धर्मनिरपेक्ष नबनाएर अनुमोदन मात्रै गरेको उनले बताए ।
उनले नेपाललाई पुन: सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै धर्म र राजनीतिलाई अलग गरेर हेर्न नहुने धारणा व्यक्त गरे ।
अध्यक्ष लिङ्देनले राजनीतिमा धर्मको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै धर्म र राजनीतिलाई एकअर्काबाट अलग गर्दा राजनीति गलत दिशातर्फ अघि बढ्न सक्ने बताए ।
उनले धर्म र राजनीति एकअर्काका परिपूरक भएको भन्दै दुवै सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपालजस्तो धार्मिक, सांस्कृतिक तथा मौलिक पहिचान बोकेको मुलुकमा सनातन हिन्दुराष्ट्रको महत्व रहेको उल्लेख गर्दै नेपालको परम्परा, संस्कृति र सभ्यताको संरक्षणका लागि पनि हिन्दुराष्ट्र आवश्यक रहेको अध्यक्ष लिङ्देनले बताए ।
प्रतिक्रिया 4