+
+
Shares

१० बालबालिका बन्दै काठमाडौं महानगरका जलवायु सद्भावना दूत

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते ८:१८

७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनमा बालबालिकाको भूमिका बढाउन १० जनालाई ‘जलवायु परिवर्तन सद्भावना दूत’ बनाउने भएको छ ।

महानगरपालिकाले आजदेखि आयोजना गर्न लागेको ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ अन्तर्गत बालबालिकाका लागि भिडियो प्रतियोगिता आयोजना गरी उत्कृष्ट १० जनालाई सद्भावना दूत बनाउने तयारी गरेको हो । प्रतियोगितामा महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन सक्नेछन् ।

प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, सान्त्वना स्थान हासिल गर्ने सात जनालाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ । यसरी छनोट भएका १० जनालाई वर्षभरि नै जलवायु परिवर्तनसम्बन्धी गतिविधिमा बालबालिकाको सिर्जनात्मक भूमिका प्रवर्द्धन गर्न सद्भावना दूतका रूपमा सक्रिय बनाउने महानगरको योजना छ ।

महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि अब छलफलमा मात्र सीमित नभई काममै अघि बढ्नुपर्ने बताइन् । त्यसैका लागि ‘काठमाडौं जलवायु कार्य सप्ताह’ आयोजना गरिएको उनको भनाइ छ ।

‘जलवायु परिवर्तनको प्रभावबारे हामी सबै भुक्तभोगी छौँ । हामीले फेर्ने श्वासदेखि पिउने पानी र बस्ने सहरसम्म जलवायु परिवर्तनबाट प्रभावित छन्,’ डंगोलले भनिन्, ‘यसको नकारात्मक असर सबैको जीवनमा परिरहेको छ । अब गरौँला, हेरौँला भनेर बस्ने समय छैन । हामीले गर्नुपर्ने कामलाई पछाडि धकेल्नु हुँदैन ।’

उनका अनुसार एक सातासम्म सञ्चालन हुने कार्यक्रममा महानगरले जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनसँग सम्बन्धित विभिन्न कामको थालनी गर्नेछ । विभिन्न स्थानीय तहका जनप्रतिनिधि, विज्ञ, अनुसन्धानकर्ता, युवा र समुदायका प्रतिनिधिबीच अनुभव आदानप्रदान तथा छलफलका साथै व्यावहारिक कार्यक्रम सञ्चालन गरिनेछ ।

कार्य सप्ताहको पहिलो दिन आज भोटेकोशी बाढीबाट प्रभावित जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षसँग जलवायु परिवर्तनका असर र त्यसबाट प्रभावित समुदायका विषयमा अनुभव आदानप्रदान गरिनेछ । त्यसै दिन राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौं अभियान’ सुरु गर्ने कार्यक्रम छ ।

महानगरपालिकाले आफ्ना क्षेत्रभित्रका विद्यालयमा वर्षाको पानी जमिनमुनि पुनःभरण गर्न सकिने स्थान पहिचान गर्न अनुसन्धान गरिसकेको डंगोलले जानकारी दिइन् । सोही अध्ययनका आधारमा विद्यालयहरूमा पानी पुनःभरणका कार्यक्रम अघि बढाइनेछ ।

कार्य सप्ताहको दोस्रो दिन जलवायु वित्तका विषयमा विज्ञहरूसँग छलफल हुनेछ । जलवायु अनुकूलन तथा उत्थानशील पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु कोष, हरित नगर ऋणपत्र, सरकारी वित्तीय स्रोत र निजी क्षेत्रको लगानी परिचालनका विषयमा विचार मन्थन गरिने महानगरले जनाएको छ ।

तेस्रो दिन ‘नागरिक विज्ञान तथा सम्पदा र जलवायु परिवर्तनका असर’ विषयमा केन्द्रित कार्यक्रम हुनेछ । परम्परागत हिटी प्रणालीको संरक्षण, ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रा, भूमिगत जल पुनःभरण र पानीको गुणस्तर परीक्षणसम्बन्धी प्रदर्शन गरिनेछ । सम्पदा, जलवायु परिवर्तन र सामुदायिक ज्ञानका विषयमा विज्ञ, अनुसन्धानकर्ता, युवा तथा स्थानीय समुदायबीच छलफल पनि हुनेछ ।

चौथो दिन ऊर्जा प्रणाली र जलवायु परिवर्तनका विषयमा कार्यक्रम सञ्चालन हुनेछ । स्वच्छ ऊर्जा, विद्युतीय सवारी साधनको प्रयोग, ऊर्जा भण्डारण प्रविधि तथा फोहोरमैला व्यवस्थापनका विषयमा समानान्तर सत्र आयोजना गरिनेछ । त्यसै दिन टेकुस्थित बायोग्यास प्लान्टको उद्घाटन गर्ने र सफा टेम्पो तथा विद्युतीय सवारी साधनको प्रयोग प्रवर्द्धन गर्ने कार्यक्रमसमेत रहेको डंगोलले जानकारी दिइन् ।

पाँचौँ दिनलाई ‘बालबालिका तथा युवा जलवायु कार्य दिवस’ का रूपमा मनाइनेछ । त्यस दिन ५० भन्दा बढी विद्यालयमा एकैपटक फोहोर वर्गीकरण, विद्यालयको वातावरणीय अवस्था पहिचान, जलवायुसम्बन्धी खेल, वृक्षरोपण योजना तथा सिर्जनात्मक सचेतना र कार्यमूलक गतिविधि सञ्चालन गरिनेछ ।

विद्यार्थीले प्रवर्द्धन गरेका नवीन प्रविधि, हरित आविष्कार तथा इको क्लबका गतिविधिसमेत प्रदर्शनीमा राखिने महानगरले जनाएको छ । जलवायु परिवर्तनका घटना र भविष्यमा पर्न सक्ने जोखिम सामना गर्न नयाँ पुस्तालाई तयार पार्ने उद्देश्यले ‘जलवायुका लागि बालबालिका’ भिडियो प्रतियोगिता आयोजना गरिएको हो ।

कार्य सप्ताहको छैटौँ दिन खाद्य प्रणाली र जलवायु परिवर्तनका विषयमा छलफल हुनेछ । अन्तिम अर्थात् सातौँ दिन जलवायु परिवर्तनका असर न्यूनीकरणमा नागरिक समाज, गैरसरकारी संस्था तथा अन्तरसरकारी संस्थाको दायित्वबारे कार्यक्रम केन्द्रित हुनेछ ।

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलनका लागि स्थानीय तहले व्यवहारमै देखिने काम गर्नुपर्ने भन्दै महानगरले साताव्यापी कार्यक्रममार्फत नीति, वित्त, पूर्वाधार, ऊर्जा, सम्पदा, खाद्य प्रणाली र बालबालिकाको सहभागितालाई एकै ठाउँमा जोड्न खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?